मेनोपोजको विश्व बजार भन्नाले महिनाबारी रोकिएपछि त्यससँग सम्वन्धित स्वास्थ्य सुरक्षाको लागि महिलाहरुले गर्ने खर्च हो । यो विषय अहिलेसम्म चिकित्सा विज्ञानको विषय जस्तो लागे पनि विश्वभरका अर्थशास्त्री र नीति निर्माताहरूले यसलाई अहिले एउटा ठूलो आर्थिक मुद्दाका रूपमा हेर्न थालेका छन् ।

महिलाहरू सामान्यतया ४५ देखि ५५ वर्षको उमेरमा मेनोपोजको प्रक्रियाबाट गुज्रिन्छन्। यो उमेर भनेको कुनै पनि व्यक्तिको करियरको सबैभन्दा परिपक्व, अनुभवी र नेतृत्वदायी तहमा पुग्ने समय हो। मेनोपोजका समयमा महिलाहरूले ‘हट फ्ल्यासेज’ (अचानक अत्यधिक गर्मी महसुस हुने),अनिन्द्रा, तनाव, एकाग्रताको कमी र थकाइ जस्ता लक्षणहरू भोग्नुपर्छ।
विभिन्न विश्वव्यापी प्रतिवेदनहरूकाअनुसार तीव्र लक्षणका कारण काम गरिरहेका महिलाहरूले आफ्नो कुल उत्पादक समयको औसतमा १२ प्रतिशत सम्म गुमाउने गर्छन् ।
मायो क्लिनिक र डेलोइट जस्ता संस्थाहरूको आर्थिक विश्लेषणअनुसार मेनोपोजका लक्षणहरू व्यवस्थापन हुन नसक्दा अमेरिकामा मात्रै वार्षिक १.८ अर्ब डलर र क्यानडामा करिब ३.५ अर्ब डलर बराबरको उत्पादकत्व नोक्सान हुने गरेको छ।
श्रम बजारबाट बहिर्गमन
असह्य शारीरिक र मानसिक कष्टका कारण धेरै महिलाहरूले आफ्नो करियरको उचाइमा पुगेका बेला जागिर छोड्न वा समय अगावै अवकाश लिन बाध्य हुन्छन्।
अमेरिकामा मात्रै वार्षिक करिब ६ लाख महिलाहरूले मेनोपोजका कारण श्रम बजार छोड्ने गरेको तथ्याङ्क छ। यसले गर्दा कम्पनीहरूले आफ्ना सबैभन्दा अनुभवी, दक्ष र वरिष्ठ नेतृत्व गुमाउँछन्, जसलाई प्रतिस्थापन गर्न र नयाँ कर्मचारी भर्ना गर्न कम्पनीहरूको खर्च अझ बढ्छ।
स्वास्थ्य सेवामा बढ्दो खर्च
मेनोपोजका कारण महिलाहरूको स्वास्थ्य परीक्षण, डाक्टरको भिजिट र औषधिको खर्च ह्वात्तै बढ्छ । यो सम्बन्धको एउटा सकारात्मक वा व्यावसायिक पाटो पनि छ। विश्वभर ४५ वर्षमाथिका महिलाहरूको क्रयशक्ति बलियो हुँदै गएको छ।
यसै कारण मेनोपोज मार्केट तीव्र गतिमा फस्टाउँदैछ । मेनोपोज इकाेनाेमिक इप्याक्ट स्टडीका अनुसार सन् २०२४ मा १७.६ अर्ब डलर बराबर रहेको यो विश्वव्यापी बजार सन् २०३० सम्ममा २७.६ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ ।
बजारमा मोनोपोज फ्रेन्डली कपडाहरू (कुलिङ फेब्रिक), छालाको हेरचाह गर्ने उत्पादनहरू, वेलनेस एपहरू र सप्लिमेन्टहरूको व्यापार ठूलो आर्थिक उद्योगका रूपमा उदाउँदैछ ।
प्रि मेनोपोजल (महिनावारी रोकिनु अघिका) महिलाहरूको तुलनामा मोनोपोजमा रहेका महिलाहरूको स्वास्थ्य खर्च १५ देखि २२ प्रतिशतसम्म बढी हुने गर्छ।
विश्वभर हर्मोन रिप्लेसमेन्ट थेरापी (HRT), विभिन्न सप्लिमेन्ट र काउन्सिलिङमा महिलाहरूले वार्षिक अर्बौँ डलर खर्च गर्छन्, जसले परिवार र राज्यको स्वास्थ्य प्रणालीमा आर्थिक भार थप्छ।
नेपाल जस्ता विकासोन्मुख देशहरूमा मेनोपोजलाई अझै पनि लुकाउनुपर्ने वा केवल उमेर ढल्केको सामान्य प्रक्रियाका रूपमा मात्र हेरिन्छ। कार्यस्थलमा यसबारे कुनै छलफल वा सहयोग हुँदैन।
नेपालमा बैंकिङ, शिक्षा, स्वास्थ्य, सहकारी र सरकारी सेवाको माथिल्लो तहमा महिलाहरूको उपस्थिति बढ्दै गएको बेला मोनोपोजका कारण उनीहरूको कार्यक्षमतामा आउने ह्रासले नेपाली अर्थतन्त्रलाई पनि अप्रत्यक्ष रूपमा ठूलो असर गरिरहेको छ।
कृषि क्षेत्रमा आबद्ध ग्रामीण महिलाहरूले उचित परामर्श र उपचार नपाउँदा उनीहरूको श्रम क्षमता घट्न गई कृषि उत्पादनमा समेत यसको असर देखिन्छ।
अर्थशास्त्रीहरूका अनुसार कार्यस्थलमा महिलाहरूका लागि लचिलो कार्यसमय दिने र स्वास्थ्य बीमामा मेनोपोजको उपचार समेट्ने हो भने महिलाहरूलाई श्रम बजारमा टिकाई राख्न सकिन्छ। मेनोपोजलाई सम्बोधन गर्नु केवल महिला स्वास्थ्यको कुरा मात्र होइन, यो देशको कुल गार्हस्थ्य उत्पादन (GDP) र आर्थिक वृद्धि कायम राख्ने एउटा महत्वपूर्ण आर्थिक रणनीति हो।