पुँजी बजारले दीर्घकालीन प्रकृतिको वित्तीय मध्यस्थताको काम गर्दछ जसले गर्दा अर्थतन्त्रमा लगानी प्रवर्द्धन भई पुँजी निर्माणमा सहयोग पुग्दछ । पुँजी निर्माणको माध्यमबाट नै आर्थिक वृद्धि बढ्ने हुन्छ । पुँजी बजारको विकासले वित्तीय मध्यस्थताको लागि बैंकिङ क्षेत्रको विकल्प प्रस्तुत गर्दछ भने लगानीकर्ताहरूको लागि वैकल्पिक वित्तीय उपकरणहरू उपलब्ध गराउँदछ । जोखिमको विविधीकरण गर्दै पुँजी परिचालन गर्न सकिने सशक्त माध्यमको रुपमा पुँजी बजार रहेको हुन्छ। विगतमा घरजग्गा मानिसहरूको प्रमुख सम्पत्तिको रुपमा थियो भने अब सेयर, डिबेन्चर जस्ता वित्तीय उपकरणहरू पनि मुख्य सम्पत्तिको रुपमा फस्टाउँदै छन् ।
२. नेपालको पुँजी बजारको विकास
युरोपमा सन् १६०२ मा नै पुँजी बजारको रुपमा स्टक क मार्केट सुरु भएको थियो । नेपालमा भने सन् १९९० को दशकमा पुँजी बजारको रुपमा सेयर बजार सञ्चालनमा आयो । तर पनि पछिल्लो समय नेपालमा पनि पुँजी बजार बढ्दो क्रममा रहेको छ । यस प्रति जनचासो र सहभागिता पनि बढी रहेको छ । २०५१ सालतिर भर्खर मात्र पुँजी बजारको रुपमा सेयर बजारको पहिलो वर्ष थियो । त्यसबेला ६६ वटा कम्पनीहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत थिए । करिब रु.१४ अर्बको बजार पुँजीकरण रहेको थियो, जुन कुल गार्हस्थ्य उत्पादनको ७ प्रतिशत जति मात्र रहेको थियो । त्यतिखेर नेप्से सूचकाङ्क २२६ रहेको थियो । त्यसपछि नेपालको सेयर बजारले तीन दशक भन्दा बढी यात्रा तय गरेको छ यस क्रममा थुप्रै उतारचढाव पार गरेको छ । २०८२ चैतमा आईपुग्दा नेपालको सेयर बजारमा सूचीकृत कम्पनीको संख्या करिब साढे चार गुणाले बढेर २९४ वटा पुगेको छ । बजार पुँजीकरण ३४५ गुणा बढेर रु. ४८ खर्ब ## अर्ब पुगेको छ जुन कुल गार्हस्थ्य उत्पादनको ७३ प्रतिशत पुगेको छ । यसरी पुँजी बजारको प्रमुख अङ्गको रुपमा रहेको सेयर बजार उल्लेखनीय रुपमा बढेको छ ।
शुरुवाती चरणमा बैंक तथा वित्तीय संस्थाहरूको बाहुल्यता रहेको सेयर बजारमा हाल विविधता बढ्दै गएको छ । २०८२ चैतमा सूचीकृत कम्पनीहरूमध्ये ४५ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरू छन् भने जलविद्युत कम्पनीहरूको संख्या तीव्र दरमा बढेर ३५ प्रतिशत (१०३) पुगेको छ । सेयर बजारको विकासले जलविद्युतमा लगानी गर्नको लागि पुँजी परिचालन सहज भएको छ । यसले गर्दा जलविद्युत उत्पादन बढेर नेपालले जलविद्युत निर्यात गर्न सुरु गरेको छ । पछिल्लो समय उत्पादनमूलक उद्योगहरू र होटलहरू पनि सेयर बजारमा सूचीकृत भई पुँजी परिचालन गर्न थालेका छन् ।
सेयर बजारका दुई वटा बजारहरू हुन्छन्: प्राथमिक र दोस्रो बजार । शुरु निष्काशन गरेर लगानीको लागि पुँजी परिचालन गर्ने काम प्राथमिक बजारमा हुन्छ । प्राथमिक बजारमा निष्काशित सेयरहरूलाई तरल बनाउने काम दोस्रो बजारमा हुन्छ । दीर्घकालीन प्रकृतिको वित्तीय उपकरण भए पनि कम्पनीको सेयरहरू दोस्रो बजारमा बिक्री गर्न सहजै सकिने हुनाले सेयर बजारको प्राथमिक निष्काशनमा आकर्षण बढेको छ । त्यस्तै, दोस्रो बजारमा कम्पनीहरूको मूल्यमा आउने उतारचढावबाट फाइदा लिन सकिने हुँदा दोस्रो बजारमा पनि उल्लेख्य संख्यामा लगानी कर्ताहरू संलग्न रहेका हुन्छन् । पुँजीबजारमा कारोबार गर्ने गरी धितोपत्र व्यवसायी, म्युचुअल फण्ड र अन्य पुँजी बजार सेवा दिने संस्थाहरू सञ्चालन आई रोजगारी समेत प्रदान गरेका छन् ।
३. पुँजी बजारका कमी कमजोरीहरू
तीन दशक भन्दा बढी समयमा पुँजी बजारले केही विकास गरे पनि थुप्रै कमीकमजोरीहरू रहेका छन् जसको सुधार गर्नु पर्ने खाँचो छ । यस सम्बन्धमा उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ ले औल्याएका पुँजी बजारका कमजोरीहरू देहाय अनुसार रहेका छन्, जुन अझै पनि सान्दर्भिक छन् ।
पुँजी बजारमा धेरै जसो सेयर जारी हुने गरेको छ भने ऋणपत्र(बण्ड) कमै जारी हुने गरेको छ । बैंक तथा वित्तीय संस्था बाहेक अन्य सूचीकृत कम्पनीले ऋणपत्र जारी गरेको पाइदैन । पुँजी बजारमा ऋणपत्र जारी गरेर पनि स्थिर ब्याजदरमा लामो अवधिको पुँजी परिचालन गर्न सकिने भए पनि नेपालमा ऋणपत्र बजार खासै विकास भएको छैन । तरल र सुरक्षित ठानिने सरकारी ऋणपत्रको समेत खरिद बिक्री दोस्रो बजारमा हुन सकेको छैन । तसर्थ नेपालको पुँजी बजारको पूर्ण विकास हुन बाँकी छ ।
वास्तविक क्षेत्रका कम्पनीहरूलाई पुँजी बजारमा प्रवेश गराउने प्रयास विवादित भइरहेका छन् । अहिलेसम्म सीमित संख्यामा मात्र वास्तविक क्षेत्रका कम्पनीहरू स्टक एक्सचेन्जमा सूचीकृत छन् । सञ्चालनमा रहेका उत्पादनमूलक कम्पनीलाई पुँजी बजारमा प्रवेश गराउने उद्देश्यले सुरु गरिएको प्रिमियम र बुक बिल्डिङको माध्यमबाट सेयर निष्काशन गर्न सकिने व्यवस्थाको शुरुवात गरिए पनि यो प्रक्रिया विवादमा पर्ने गरेको छ । केही टाठाबाठाले पुँजी बजारको माध्यमबाट सेयर बजार प्रति उत्सुक लगानीकर्ताको लगानीबाट फाइदा उठाउन सक्ने जोखिम बढेर गएको छ ।
पुँजी बजार पुँजी परिचालन गर्ने सशक्त माध्यम भए पनि नेपालमा थप विकास हुन बाँकी रहेको छ । पुँजीबजारमा उत्पन्न हुने जोखिम व्यवस्थापन करना चाहिने डेरिभेटिभ बजारको शुरुवात हुन सकेको छैन। वस्तु विनिमय बजार पनि शुरु हुन सकेको छैन । यस बाहेक पनि नेपालको पुँजी बजारका थप केही कमीकमजोरीहरू देहाय बमोजिम रहेका छन् ।
विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न अनुमति छैन । केवल नेपाली नागरिकहरू र सीमित मात्रामा गैर आवासीय नेपालीहरू (NRNs) ले मात्र सेयर बजारमा लगानी र व्यापार गर्न अनुमति छ ।
नेपाल धितोपत्र बोर्ड र नेप्से दुवैमा अर्थ मन्त्रालयको बढी हस्तक्षेप हुने गर्दछ । नियामकको रुपमा रहेको धितोपत्र बोर्ड र बजार संचालन गर्ने नेपाल स्टक एक्सचेन्ज व्यावसायिक र स्वतन्त्र छैनन् । यसले गर्दा निर्णयानुसार आवश्यक निर्णय र क्षमता विकास गर्न सकिरहेका छैनन् ।
विविधीकरणको अभावका कारण लगानीकर्ताहरूसँग पुँजी बजारमा लगानी गर्ने धेरै कम विकल्पहरू छन् । नेपाल स्टक एक्सचेन्जमा प्रविधि, उत्पादन र सेवा क्षेत्रका कम्पनीहरूको कम उपस्थिति रहेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी एउटै दिशामा परिवर्तन हुने प्रवृत्ति रहेको छ । यसले गर्दा लगानीको जोखिम विविधीकरण गर्न सहज छैन ।
कम चुक्ता पुँजी भएका स्टकहरू प्रयोग गरेर मूल्यमा उतार चढाव ल्याउने प्रवृत्ति रहेको छ यसले सर्वसाधारण लगानीकर्ता फस्ने जोखिम उच्च रहेको छ । भित्री (Insider) र चक्रीय (Circular) कारोबारले गर्दा केही सीमित व्यक्तिहरूले मात्र दोस्रो बजारबाट फाइदा लिन सक्ने अवस्था रहेको छ ।
धेरै लगानीकर्ताहरूमा कम्पनीको वित्तीय जानकारीको मूल्याङ्कन गर्न आवश्यक पर्ने वित्तीय साक्षरता र विश्लेषणात्मक सीपहरूको अभाव हुन्छ । जसले गर्दा लहरमा लगानी गर्दा घाटामा जाने अवस्था हुन्छ ।
नेपालमा धितोपत्र दलाल व्यवसायीहरू मुख्य गरेर खरिद र बिक्री अर्डरहरू कार्यान्वयन गर्न मात्र सीमित छन्। अन्य देशमा ब्रोकरहरूले पोर्टफोलियो व्यवस्थापन, वित्तीय सल्लाहकार, आईपीओहरूका लागि बुक बिल्डिङ, र रजिस्टार र स्थानान्तरण लगायतका समेत प्रदान गर्छन, जुन नेपालमा अझै हुन बाँकी छ ।
४. पुँजी बजार सुधारका कार्यदिशा
सशक्त पुँजी परिचालन र बचत कर्ताहरूको लगानीको वैकल्पिक माध्यम बनाउन पुँजी बजारमा थप सुधार गर्नु जरुरी छ । यस सम्बन्धमा उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ ले औल्याएका पुँजी बजार सुधारका उपायहरू देहाय अनुसार रहेका छन्, जुन अझै सान्दर्भिक रहेका छन् ।
-
सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्था शुरु गर्नु पर्ने ।
-
दोस्रो बजारमा गैर आवासीय नेपालीलाई कारोबार गर्न अनुमति दिने। यसको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ दफा ९ र १० परिमार्जन गरी गैर आवासीय नेपालीको हकमा पुँजी लगानी कोष खडा नगरिकन व्यक्तिगत रुपमा नै गैर आवासीय नेपाली नागरिकता परिचय पत्रको आधारमा कारोबार गर्न दिने व्यवस्था गर्ने । लगानीकर्ताले दोस्रो बजारमा सेयर खरिद गर्न भित्र्याएको रकमको एक वर्षमा दोस्रो पटक पचास प्रतिशतसम्म रकममात्र फिर्ता लैजान सक्ने व्यवस्था गर्ने ।
-
धितोपत्र ऐन, २०६३ मा संशोधन गरी धितोपत्र बोर्डको संरचना परिवर्तन गर्नु पर्ने । नेपाल चार्टर एकाउन्टेन्ट्स संस्था, नेपाल उद्योग वाणिज्य संघ र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको प्रतिनिधित्व हटाउनु पर्ने । हाल एक जना मात्र विज्ञ राख्ने व्यवस्था रहेकोमा दुई जना राख्ने व्यवस्था गर्ने ।
-
धितोपत्र कारोबारको लागि धितोपत्र व्यवसायी मार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था गर्ने ।
-
पुँजी बजारको विस्तारसँगै नियमन र सुपरीवेक्षणलाई प्रभावकारी बनाउन धितोपत्र बोर्डमा पर्याप्त जनशक्तिको व्यवस्था सहित कार्यक्षमता अभिवृद्धिको लागि स्वायत्तता प्रदान गर्ने ।
-
जलविद्युत कम्पनीले उत्पादन शुरु गरे पछिमात्र प्राथमिक निष्काशन गर्न पाउने व्यवस्था गर्ने ।
-
सरकारी वित्तमा चाप परेको स्थिति र पुँजी बजार प्रति बढ्दो जनचासोसँगै इच्छुक लगानीकर्ताहरू रहेको सन्दर्भमा सरकारी संस्थानहरूलाई पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गरी निजी क्षेत्रलाई सेयर बिक्री गर्नु पर्ने । सरकारी संस्थानमा सरकारले ऋण लगानी गर्नुको सट्टा ऋणपत्र जारी गरेर लगानीको लागि वित्तीय साधन परिचालन गर्न लगाउनु पर्ने ।
-
ठूलोस्तरको सेयर कारोबारमा लाग्ने कारोबार शुल्क कम गर्ने ।
-
नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी यसको पुँजी वृद्धि गर्नुका साथै निजी क्षेत्रलाई सेयरमा सहभागिता गराउनु पर्दछ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको klg पुनर्संरचना गरी नेपाल स्टक एक्सचेन्जका अतिरिक्त अन्य संस्थालाई पनि सेयरमा सहभागिता गराई पर्याप्त दक्ष जनशक्ति सहित धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने व्यवस्था गर्ने ।
-
वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याउने । यसको लागि पब्लिक वेयरहाउस सम्बन्धी ऐन जारी गर्ने ।
-
निजी क्षेत्रका उत्पादनमूलक कम्पनीलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न सहज बनाउन सेयर तथा बण्ड जारी गर्दा लाग्ने लागत घटाउनु पर्ने र प्रक्रिया सरलीकृत गर्नु पर्ने ।
-
प्रिमियम र बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्काशनको लागि पारदर्शी विधि बनाउने र यस सम्बन्धमा जनचेतना बढाउनु पर्ने ।
यस बाहेक पनि पुँजी बजारको सुधारको लागि गर्नु पर्ने थप कामहरू देहाय अनुसार रहेका छन् ।
-
धितोपत्र बोर्डको नियामक स्वतन्त्रतालाई सुदृढ पार्ने ।
-
सेयर विश्लेषकहरूको लागि अनिवार्य इजाजतपत्र र स्पष्ट योग्यता मापदण्डहरू लागू गर्नुपर्ने ।
-
सबै तहमा वित्तीय साक्षरता प्रवर्द्धन गर्नुपर्ने ।
-
इक्विटी क्राउडफन्डिङ र डेरिभेटिभ बजारहरू जस्ता नयाँ पुँजी बजारका उपकरणहरूको सुरुवात गर्नु पर्ने ।
५. निष्कर्ष
नेपालमा धिमा गतिमा भए पनि पुँजी बजारको विकास भइरहेको छ । सर्वसाधारण लगानीकर्ताको आकर्षण बढेको छ । तर सो अनुरुप वास्तविक क्षेत्रका कम्पनीहरू सेयर बजार कम प्रवेश गरेका छन् । यसले गर्दा नेपालको सेयर बजारले अर्थतन्त्रको वास्तविक क्षेत्रलाई प्रतिबिम्बित गर्न सकेको छैन । सेयर बजारमा आवश्यक नयाँ उपकरणहरू उपलब्ध हुन सकेको छैन । आधारभूत उपकरणको रुपमा रहेको सरकारी ऋणपत्रको समेत दोस्रो बजार कारोबार हुन सकेको छैन भने धेरै कम्पनीहरूले ऋणपत्र मार्फत पुँजी परिचालन गरेका छैनन् । पुँजी बजारमा भएका कमी कमजोरीहरूलाई पहिचान गरी यस बजारको सुधारको लागि नियामकको रुपमा धितोपत्र बोर्ड र बजार प्रदान गरिरहेको नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना, क्षमता विकास र स्वायत्तता दिइनु पर्दछ । पुँजी बजारको समग्र विकासको लागि पुँजी बजार सम्बन्धी दरिलो संस्थागत व्यवस्था र उपकरणहरूको निष्काशन गर्दै जानु पर्ने हुन्छ । यस सन्दर्भमा माथि उल्लेख गरिएका सुधारका उपायहरू अवलम्बन गरिएमा पुँजी बजारको स्तरमा सुधार र आकारमा विस्तार हुने थियो । साथै, यसले नेपालको आर्थिक वृद्धिदर बढाउनमा सहयोग पुर्याउने थियो ।
लेखक राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्
नेपाल धितोपत्र बोर्डको ३४औँ वार्षिकोत्सव लेख विशेषाङ्क, २०८३ बाट साभार