यो योजना प्रारम्भमा १.२० अर्बको कोष आकारबाट सुरु गरिने यो योजना यदि माग उच्च भएमा २५% ले वृद्धि गर्दै अधिकतम रू. १.५० अर्बसम्म विस्तार गर्न सकिनेछ । यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ ।
योजना पूर्ण रूपमा म्युचुअल फण्ड नियमावली २०६७ अनुसार संचालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।
मुख्य विशेषताहरू
- योजनाको प्रकारः बन्दमुखी योजना
- फण्डको नामः ग्लोबल आइएमई म्युचुअल फन्ड
- योजनाको नामः ग्लोबल आइएमई समुन्नत योजना –२
- कोषको आकारः प्रारम्भिक रू. १.२० अर्ब (अत्याधिक माग भएमा रू. १.५० अर्बसम्म)
- प्रति इकाई मूल्यः रू. १०
- सर्वसाधारणमा निष्काशन गरिने इकाईहरूः १२ करोड
- न्यूनतम लगानीः १०० इकाई
- अधिकतम लगानीः योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाई
- योजना अवधिः इकाई बाँडफाँट मिति देखि १० वर्ष
- लाभांश नीतिः प्राप्त मुनाफाबाट वितरण बाँकी रकम पुनः लगानी
- सूचीकरणः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध
- प्रारम्भिक लगानीः १५ प्रतिशत –फण्ड प्रायोजक र व्यवस्थापक)
- व्यवस्थापन शुल्कः नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
- डिपोजिटरी शुल्कः नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत

लगानी गर्नुपर्ने कारणहरू
- व्यवसायिक व्यवस्थापन
- विविधीकरण
- सहजता र पहुँच
- सस्तो लगानी
- पारदर्शिता
- कर छुट
- लगानीकर्ता संरक्षण
लगानी प्रतिफल
क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फण्ड पुर्नखरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स् फण्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।
यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।
यस योजनाको इकाईमा लगानी गर्नको लागि, लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।