खतिवडा जस्तै नेपालमा थुप्रै शेयर कारोबारी छन्। जसले ७२ घण्टे कारोबार गर्छन्। त्यसमा पनि ब्रोकर कम्पनीको उधारोमा खेल्नेहरूले ७२ घण्टे कारोबार गर्ने गर्छन्। तर अहिले आएर ७२ घण्टे कारोबारी ४८ घण्टेमा परिणत हुन थालेका छन्। तर सबै ४८ घण्टे कारोबारी भने हुन पाएका छैनन्। जुन ब्रोकरले आफ्ना ग्राहकलाई “ए ट्रेड” टिएमएस सुविधा दिएका छन्। तिनै ब्रोकरका ग्राहक मात्रै ४८ घण्टे कारोबारीमा परिणत हुन सक्छन्। “ए ट्रेड” बाहेकको टिएमएस चलाउनेहरू भने चाहेर पनि ४८ घण्टे कारोबारी हुन सक्दैनन्।
सामान्यतया आइतबार किनेको शेयर बुधवार मात्रै बिक्री गर्न मिल्छ। किनकि नेपालमा T+2 सेटलमेन्टको व्यवस्था छ। त्यस अनुसार आइतबार किनेको दिनलाई T+0 भनिन्छ भने सोमबार T+1 हुन्छ भने मंगलबार मात्रै T+2 हुन्छ। T+2 मा नै आइतबार किन्ने र बेच्नेको शेयर सेटलमेन्ट हुन्छ। जुन मंगलबार हुन्छ। मंगलबार बेलुकी खातामा शेयर आउने भएकोले बुधवार शेयर बिक्री गर्न मिल्छ। यो भनेको सामान्य अवस्था हो।
तर “ए ट्रेड” टिएमएसको सुविधा दिएका ब्रोकर कम्पनीले भने मंगलबार नै शेयर बिक्री गर्न मिल्ने गरी सुविधा दिन थालेको बताइएको छ। मंगलबार नै कसरी शेयर बिक्री गर्न सम्भव भयो भन्ने प्रश्नमा स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष सन्तोष मैनाली भन्छन् “ आइतबार किनेको शेयर मंगलबार नै बिक्री गर्न मिल्ने भएको भन्दा धेरैले सेटलमेन्ट साइकल नै घटेर T+1 मा झरेको भनेर बुझ्नु भएको हुन सक्छ। सेटलमेन्ट साइकल छोट्टिएको छैन। अहिले पनि सेटलमेन्ट साइकल T+2 नै छ। सिडिएससीले आइतबार किन/बेच भएको शेयरको सेटलमेन्ट मंगलबार गर्छ। उसले मंगलबार मध्यान्ह १२ बजे देखि सुरु गरेर ढिलोमा एक बजेसम्म सेटलमेन्ट गरिसक्छ। सेटलमेन्टको लागि हामीले सिडिएससिसँग एपिआइ लिएका छौ। जुन एपिआइ मार्फत रियल टाइममा काम गर्न सकिन्छ। सिडिएससीले सेटलमेन्ट गर्ने बित्तिकै एपिआइ मार्फत रियल टाइममा शेयर हाम्रो पुल खातामा तान्न सकिन्छ। हाम्रो खातामा शेयर आउने बित्तिकै हामी तुरुन्तै ग्राहकको खातामा शेयर पठाइदिन्छौ। सोही कारण हाम्रो ग्राहकले आइतबार किनेको शेयर मंगलबार एक बजेपछि बेच्न सक्ने अवस्था हुन्छ। तर हाम्रो नभएर अर्कै टिएमएस चलाउनेहरूको खातामा भने कारोबार समय पश्चात् मात्रै शेयर पठाइदिने गरिन्छ। त्यसकारण बेच्न मिल्दैन। यदि हामीले जस्तै गरी तुरुन्तै शेयर पठाइदिने व्यवस्था गर्ने हो भने अरू टिएमएसमा पनि मिल्छ। यो नयाँ टिएमसकोको सुविधा पनि हो। यसैगरी समय अनुसारको परिवर्तन र चुस्त काम गर्ने शैली भनेर पनि भन्न सकिन्छ ।”
तर यो नियम विपरीत भएन र भन्ने प्रश्नको जवाफ दिँदै मैनाली थप्छन् “ नियमअनुसार ग्राहकको खातामा वा भनौँ स्वामित्वमा भएको शेयर बिक्री गर्न पाइने व्यवस्था छ। हामीले छिटो काम गरिदिएको कारण ग्राहकको खातामा शेयर चाँडै गएको हो। र ग्राहकको स्वामित्वमा शेयर पुग्न सकेको हो। ग्राहकको खाता र स्वामित्वमा भएको शेयर ग्राहकले बिक्री गर्नु कसरी गैह्र कानुनी हुन्छ। बरु हामीले जस्तै गरी छिटो सुविधा उपलब्ध गराउन अरूलाई पनि प्रेरित गर्नुपर्छ।”
किनेको तेस्रो दिनमा नै शेयर बिक्री गर्न पाउँदा लगानीकर्ता निक्कै हर्षित छन्। आइतबार किनेको शेयर सबैले मंगलबार नै बिक्री गर्छन् भन्ने पनि हुँदैन। तर बिक्री गर्न चाहनेको लागि भने यो नयाँ सुविधा उपलब्ध गराइएको छ। उक्त सुविधा ठिक वा बेठिकको निर्णय भने लगानीकर्ता र नियामकले आउने दिनमा गर्ने नै छन्। तर त्यति बेलासम्म भने उक्त सेवा प्रयोग गर्न पाएकोमा भने लगानीकर्ता दङ्ग छन्।
नयाँ टिएमएसको सुविधा नासा सेक्युरुटीजले पनि उपलब्ध गराएको छ। तर उसले भने उक्त सुविधा आफ्नोमा नभएको जनाएको छ। बजारको अवस्थालाई हेरेर आउने दिनमा निर्णय हुने बताएको छ।
अहिले भने ६ ब्रोकर कम्पनी सेक्योर्ड,प्रज्ञान,कालिका, एनआईएमबी स्टक मार्केट,नेपाल स्टक हाउस र डायनामिक मनी म्यानेजर्सले “ए ट्रेड” टिएमएस सेवा दिँदै आएका छन्।