बाढीले रोकेको अटोमोबाइल बजारलाई मौद्रिक नीतिले दिएन साथ,नाडा र नाइमाका ‘अटो मेला’लाई धक्का !

Jul 13, 2025 03:09 PM merolagani



हरिप्रसाद शर्मा
अघिल्लो साता चीनको तीब्ब हुँदै हिमताल फुटेर आएको बाढीले रसुवाखोला र त्रिशुली नदीका तटीय क्षेत्रमा ठूलो क्षति पुर्यायो ।

१११ मेगावाटको रसुवागढी हाइड्रोपावरको बाँधस्थल नै बाढीले बगाइदियो । र, अन्य केही आयोजनामा पनि बाढीले उत्तिकै क्षति पुर्याउँदा २४० मेगावाट बिजुली राष्ट्रिय प्रणालीभन्दा बाहिर छ । त्रिशुली जलविद्युत् आयोजना र त्यसको सवस्टेशनमा समेत क्षति हुँदा उक्त बिजुली राष्ट्रिय प्रणालीमा आउन सकेन् ।

त्यसले राज्यलाई अर्बौको नोक्सानी गरिरहेको छ । अर्कोतर्फ परियोजनामा खटिएका कामदार, कर्मचार र शुरक्षाकर्मीहरु समेत बाढीको चपेटमा परे । बाढीले नेपाल चीन सीमा नाका जोड्ने मितेरी पुल बगाउँदा दुई देशको व्यापार ठप्प जस्तै बनेको छ । रसुवा नाका हुँदै भित्रिएर अस्थायी बन्दरगाहको र्याडमा पार्किङ गरि राखिएका ६५ वटा इभी गाडी हराएका छन् ।

अन्य केही ठूला र मालबाहक गाडीहरुलाई समेत बाढीले बगाउँदा अर्बौंको क्षति भएको निजीक्षेत्रको प्रारम्भिक अनुमान छ । उक्त बाढीले सबैभन्दा बढी प्रभाव पार्ने मध्येको एक क्षेत्र हो, अटोमोबाइल । हालैको बाढीका कारण सीमा व्यापार पूर्ण रुपमा ठप्प हुन पुगेको छ ।

रसुवागढी नाकामा इभी आयात प्रक्रियामा थप समस्या उत्पन्न भएको विज्ञहरुको भनाइ छ । पछिल्ला दिनमा इभी गाडीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपनि हालसालैको बाढीका कारण आउँदो दिनमा इभीको व्यापार र राजश्व असुलीमा समेत समस्या आउन सक्ने नेपाल इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक तथा यातायात विज्ञ आशिष गजुरेलले बताए ।

उनका अनुसार, अटो व्यवसायीका मागअनुसार मौद्रिक नीति आउन नसकेको र हालैको बाढीका कारण आउँदा दिनमा इभीको बढ्दो कारोबार ‘ब्रेक’ लाग्ने सम्भावना पनि देखिन्छ । मौद्रिक नीतिले अटो व्यवासायीका मूलभूत मागहरु सम्बोधन गर्न नसकेको उनको भनाइ छ ।

‘अटो व्यवसायीले खासगरी चीनबाट इभी आयात गर्दा प्रतितपत्रप(एलसी) खोल्दा चिनिँया मुद्रा(युनान) मा खोल्नुपर्ने र इभी आयातमा बैंक लोन ७५ प्रतिशत गर्नुपर्ने मुख्य माग राखेका थिए । ती दुवै मागहरु मौद्रिक नीतिले सम्बोधन गर्न सकेन्,’ उनले भने, ‘यसले आगामी दिनमा बढिरहेको इभीप्रतिको आकर्षण, कारोबार र व्यापारमा कतै ब्रेक लाग्ने सम्भावना देखिन्छ ।‘

विगतका वर्षमा पनि इभी गाडी धेरै बिक्री हुने गरेको बताउँदै उनले भने, ‘विगतमा गाडी धेरै बिक्री हुन्थे । इभी गाडीमा आकर्षण पनि राम्रै छ । तर, ६० प्रतिशत बैंक लोनका कारण अटो व्यवसायीले ४० प्रतिशत डाउनपेमेन्ट भुक्तानी गर्न सक्ने अवस्था छैन् । त्यसकारण इभीमा बैंक लोन ७५ प्रतिशत गरिनु पथ्र्यो । त्यो गरिएन् ।’

नेपालमा पछिल्ला वर्षहरुमा इभी गाडीप्रति आम ग्राहकको आकर्षण बढ्दो छ । जसका कारण इभीको बढ्दो आयातकै कारण राज्यले अर्बौं रुपैयाँ राजश्व उठाउन पाएको छ । तर, राज्यका लागि अर्बौं रुपैयाँ राजश्व उठाउने अस्त्र बनेको अटोमोबाइल क्षेत्रलाई सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिले भने उकास्न नसकेको अटो व्यवसायी नै दाबी गर्छन् ।

रसुवा बाढीले भित्रिइसकेका विद्युत्तीय सवारीका कारण अर्बौं क्षति ब्यहोरिरहेको अटोक्षेत्रका लागि मौद्रिक नीति मल्हम बन्न सक्थ्यो । तर, गभर्नर विश्व पौडेलले अटोक्षेत्रलाई चलाउनै चाहेनन् । जसका कारण इभीमा बैंक लोन ६० प्रतिशतमै खुम्चिन पुगेको छ । ४० प्रतिशत रकम डाउनपेमेन्ट गरेर इभी गाडी खरिद गर्न सक्ने सामथ्र्य अटो व्यवसायीमा छैन।

अटोमोबाइल क्षेत्रको प्रवद्र्धनका लागि मौद्रिक नीतिले कुनै उत्साह नभरेको नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालका अध्यक्ष करण चौधरीको भनाइ छ । ‘मौद्रिक नीति त आयो, अटोमोबाइल क्षेत्रका लागि कुनै पनि ठाउँमा खुसी र उत्साहित हुने ठाउँ नै छैन्,’ उनले बताए । सबैभन्दा बढी इभी आयात हुने चिनिँया नाकासँगको सम्वन्ध विच्छेदले आउँदा दिनमा कारोबारमा समेत असर पर्ने उनको भनाइ छ ।

चिनियाँ नाकाबाट ५ वर्षमा कति इभी भित्रिए, कति उठ्यो राजश्व ?

पछिल्लो पाँच वर्षमा चिनियाँ नाका हुँदै इभी आयात ३५ गुणाले वृद्धि भएको छ । सन् २०१९/०२० मा २३६ वटा इभी आयात भएकोमा २०२२/२३ सम्म आइपुग्दा ३ हजार ८४०, २०२३/०२४ सम्ममा ११ हजार ७०१ र २०२४/०२५ को ९ महिनाको अवधिमा ७ हजार ९६७ वटा इभी आयात भएका हुन् ।

त्यस्तै, चिनियाँ नाकाहुँदै इभी आयात हुँदा सरकारको राजश्व वर्षेनी बढिरहेको थियो । सन् २०१९/०२० मा २३६ वटा इभी आयातबाट ३० करोड राजश्व संकलन भएको थियो । त्यसको पाँच वर्षपछि इभी आयातबाट राज्यले अर्बौ रुपैयाँ राजश्व संकलन गर्दै आएको छ ।

वर्षेनी चीनबाट हजारौं इभी गाडी आयात हुने नाका बाढीले यतिबेला क्षतिविक्षत गरेको छ । यसले आगामी दिनमा इभी आयात र त्यसको कारोबार समेत संकुचन आउने प्रवल सम्भावना छ । 

कार्यालयका अनुसार, २०८२ बैशाख महिनामा मात्र करिब ६०५ वटा इभी गाडी आयात भएका थिए जसमा ५०० कार तथा भ्यान र १९० ट्रक तथा मालबाहक साधन इभी आयात भएका थिए । जसबाट भन्सार कार्यालयले १ अर्ब ४९ करोड रुपैयाँ राजश्व बैशाख महिनामा मात्र संकलन गरेको थियो ।

बाढी आउनु पूर्व पनि रसुवा भन्सार नाका हुँदै भित्रिएका २ हजार वटा इभी गाडी अस्थायी र्याडमा थिए । भन्सारको विभिन्न प्रक्रिया मिलाएर अटो व्यवसायीले भित्र्याउने तरखर गर्दा गर्दै ६५ वटा इभी गाडीसहित अन्य मालबाहक गाडीहरु समेत बाढीले बगायो ।

आगामी दुई ‘अटो शो’लाई धक्का !

बाढीका कारण अर्बौ क्षति ब्यहोरेको अटोमोबाइल क्षेत्रलाई मौद्रिक नीतिले पनि खासै सम्बोधन गर्न नसकेको अटो व्यवसायीको गुनासो छ । बाढी र मौद्रिक नीतिको प्रत्यक्ष असर नजिकिँदै गरेको दुइवटा अटो शोहरुमा पर्ने देखिन्छ ।

किनकी, अटोमोबाइल क्षेत्रका दुई संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन(नाइमा) नेपालले छुट्टाछुट्टै मितिमा अटो शो गर्ने भनेर घोषणा गरिसकेका छन् । जसअनुसार, नाइमाले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को आयोजना गर्ने घोषणा गरिसकेको छ भने नाडाले २०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमै ‘नाडा अटो शो २०२५’ को आयोजना गर्ने भनेर घोषणा गरिसकेको अवस्था छ ।

एक त बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउँदा दुई देशीय व्यापारमा प्रत्यक्ष असर गरिरहेको छ । सर्वाधिक विद्युत्तीय गाडी आयात हुने उक्त नाका अवरुद्ध हुँदा नयाँ इभी आयात प्रक्रियामा बाधा पुगेको छ । गाडी आयात प्रभावित हुँदा पूर्वघोषित दुईवटा अटो शोको व्यापारमा समेत नराम्रोसँग असर गर्ने देखिन्छ । यो समाचार तयार पार्दासम्म नाडा र नाइमाले यसअघि घोषणा गरेको ‘अटो शो’को मिति परिवर्तन गर्ने वा अटो शो गर्ने वा नगर्ने भन्ने ठूलो दुविधामा अटो व्यवसायी छन् ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।