पछिल्लाे समय यो क्षेत्रमा सबैभन्दा धेरै प्रभावकारी रुपमा Gen Z पुस्ता (सामान्यतया सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका) को सहभागिता र प्रवृत्ति निकै चाखलाग्दो छ । यो पुस्ता प्रविधिमैत्री, सूचनामा सहज पहुँच राख्ने र आर्थिक रूपमा आत्मनिर्भर बन्न चाहने विशेषताहरूले गर्दा शेयर बजारमा आकर्षित भइरहेको छ।
नेपालको शेयर बजारमा जेन जेड पुस्ताको लगानीको बारेमा अध्ययन भएको छैन । तर, जानकारहरु करिब ४६ लाख डिम्याट खातामध्ये करिब १०–१५% Gen Z खाताधारी अर्थात् लगभग ६–७ लाख Gen Z लगानीकर्ता हुन सक्ने अनुमान गर्छन् ।

विश्वव्यापी रुपमा यो पुस्ताका ७७ प्रतिशत युवाहरु शेयर बजारप्रति कुनै न कुनै रुपमा आकर्षित रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । हरेक दिन नयाँ कुरा सिक्ने, विश्लेषण गर्ने प्रवृत्तिका कारण जेन जेड पुस्ताले विश्वकै शेयर बजारलाई दिनहुँ अर्कै उचाईमा पुर्याइरहेको छ । ‘खतरा मोल्न सक्ने’ क्षमताका कारण कतिपय अवस्थामा उच्च जोखिम भएका शेयरहरूमा पनि लगानी गर्न यो पुस्ता हिचकिचाउँदैन । यसले छिटो नाफा दिन सक्ने सम्भावना भए पनि ठूलो घाटा बेहोर्ने जोखिम पनि बढाउँछ ।
जेन जेड यस्तो पुस्ता हो, जुन पुस्ताका मानिसहरु छिटो धनी बन्ने सपना देख्छन् र त्यसको लागि जोखिम मोल्न तयार हुन्छन् । उनीहरू प्रारम्भिक उमेरमै (विश्वविद्यालय–युवा अवस्थामै) लगानी गर्न सुरु गर्छन्, डिजिटल उपकरण र सामाजिक मिडियाबाट सिक्छन् र पोर्टफोलियो व्यवस्थापन कला सिक्छन्, सिकिरहेका छन् । त्यसको लागि उनीहरुसँग प्रविधि छ, जुन पुरानो पुस्तासँग छैन । जेन जेड पुस्ताले स्मार्टफोन र इन्टरनेटको व्यापक प्रयोग गर्छ। उनीहरूका लागि अनलाइन प्लेटफर्महरू र सामाजिक सञ्जाल मार्फत शेयर बजार सम्बन्धी जानकारी प्राप्त गर्न र कारोबार गर्न सजिलो भएको छ । फेसबुक ग्रुप, टिकटक भिडियो र युट्युब च्यानलहरूमा कुन शेयर किन्ने ? जस्ता छलफलहरू सक्रिय हुन्छन् । यसले यो पुस्तालाई लगानीको लागि निकै सहज भएको छ, जुन सहजता पुरानो पुस्तालाई थिएन ।
तर, यो पुस्तामा कतिपय अवस्थामा फ्लक बिहेभियर अर्थात हल्लाको पछिलाग्ने प्रवृत्ति पनि देखिने गरेको छ, जहाँ एक जनाले नाफा कमाएको देख्दा अरू पनि त्यही शेयरमा लगानी गर्न आकर्षित हुन्छन् ।
शेयर बजारमा Gen Z पुस्ताको आकर्षण बढ्नुको कारण मुख्य पाँच कारण रहेको विश्लेषकहरुको ठहर छ । ती हुन्ः
पूँजी अनुसारको लगानी
कतिपय उद्यम व्यवसाय शुरु गर्न निश्चित रकम लगानी गर्नैपर्छ । उत्पादनदेखि बजारीकरणसम्मका हरेक चरणका तौरतरिका मिहिनरुपमा बुझ्नु पर्छ । तर, शेयर बजार यस्तो क्षेत्र हो, जहाँ यति नै लगानी गर्नुपर्छ भन्ने छैन । विद्यार्थी, नयाँ जागिरे वा स्वरोजगारमा रहेका युवाहरूले आफूसँग भएको सानो पूँजीबाट पनि शेयर बजारमा प्रवेश गर्न सक्छन् । त्यसैले यो उनीहरुको लागि आकर्षणको क्षेत्र बनेको छ ।
आर्थिक स्वतन्त्रता र आम्दानीको स्रोत
Gen Z पुस्ता आत्मनिर्भर बन्न र आर्थिक रूपमा स्वतन्त्र हुन चाहन्छ। शेयर बजारलाई उनीहरूले आफ्नो आम्दानीको स्रोत बढाउने र भविष्यको लागि बचत गर्ने माध्यमको रूपमा देखेका छन्, जुन सही पनि हो। छोटो समयमा आम्दानीका स्रोत फेला पार्नको लागि शेयर बजार एउटा भरपर्दाे विकल्प हो ।
सजिलो पहुँच
अनलाइन माध्यमले शेयर बजारमा प्रवेशलाई सहज बनाएको छ।
सूचनाको उपलब्धता
इन्टरनेटमा शेयर बजार सम्बन्धी जानकारी र विश्लेषण सजिलै पाउन सकिन्छ।
सामाजिक प्रभाव
साथीभाइ र सामाजिक सञ्जालमा देखिएको शेयर बजारको ग्ल्यामरले पनि उनीहरूलाई आकर्षित गरेको छ।