लघुबित्तलाई लगाइएको १५ प्रतिशतको लाभांश बाँड्न पाउने व्यवस्थालाई पुनराबलोकन गर्ने नीतिमा उल्लेख थियो भने पूँजी कोष दबाबमा रहेका बैंक वित्तीय संस्थालाई केन्द्रीय बैंकको स्वीकृतिमा पूँजी बृद्धि गर्न दिने समेत नीतिले बोल्यो। जुन शेयर बजारको लागि प्रत्यक्ष सहयोग पुर्याउने व्यवस्था थिए। त्यसका अतिरिक्त नीतिगत दर,व्याजदर करिडोरलगायतका विषयले पनि अप्रत्यक्ष रुपमा शेयर बजारलाई नै सघाउने अपेक्षा लगानीकर्ताले गरेका थिए।
नीति सार्वजनिक भए लगत्तै लगानीकर्ताहरुले शेयर बजार मैत्री मौद्रिक नीति भनेर प्रतिक्रिया दिन भ्याए। मौद्रिक नीति पछि खुल्ने दोस्रो बजार पहिलो दिन नै हल्ट हुनेसम्मको अनुमान लगानीकर्ताबाट आयो।
नभन्दै मौद्रिक नीति पछि पहिलोपल्ट आइतबार खुलेको शेयर बजार साच्चै हल्ट नै होला जस्तो गरि उफ्रियो। नियमित कारोबार अघिको प्रि ओपन सेसनमा शेयर बजार मापक सूचक ३५.७२ अंक बढेर २७६७.५३ अंकमा उक्लियो। गत बिहीबार २५.८९ अंक बढेर २७३१.८० विन्दुमा बन्द भएको थियो। तर जसरी प्रि ओपन सेसनमा सूचक उफ्रियो त्यसरी नियमित कारोबारमा भने निरन्तर हुन सकेन। आइतबार सूचक प्रि ओपनमा बढेको भन्दा थोरै घटेर नै बन्द भयो। आइतबार सम्रग्र कारोबार मापक सूचक २९ अंक बढेर २७६०.८० विन्दुमा बन्द भयो।
आइतबार १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढ्यो भने ५ उपसमूहको परिसूचक घट्यो। लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशत बढेको थियो। बैंकिङ्ग उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको थियो भने विकास बैंक, वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका थिए। आइतबार जलविद्युत, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेका थिए।
आइतबार शेयर बजार बढ्दै गर्दा लगानीकर्ताले मौद्रिक नीतिको प्रभावमा शेयर बजार बढेको बिश्लेषण गर्न भ्याए। अझै सोमबार पनि बढ्दो क्रमले नै निरन्तरता पाउने अनुमान लगानीकर्ताको थियो। तर आइतबार बढेको खुसी सोमबार खुलेको शेयर बजारले निरास पार्यो। किनकी सोमबार कारोबार सुरु भएदेखि नै घटेको सूचक अन्तिमसम्म नै निरन्तर घट्दो क्रममा नै देखियो। आइतबार जति अंकले शेयर बजार बढेको थियो त्यो भन्दा बढी अंक घटेर सोमबार शेयर बजार बन्द भयो। सोमबार सूचक ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा खुम्चिएर बन्द भयो।
आइतबार जति बैंकिङ समूहमा बृद्धि देखिएको थियो सोही हाराहारीमा सोमबार संकुचन आयो। सोमबार बैंकिङ समूह २.४६ प्रतिशतले घट्यो। लघुबित्त पनि आइतबार बढेकाेमा सोमबार संकुचन नै देखियो। जसले गर्दा मौद्रिक नीति लगानीकर्ताको लागि ‘माछा माछा भ्यागुतो‘ नै हुन पुग्यो।
तर केही लगानीकर्ता भने अझै पनि आशाबादी नै देखिन्छन्। सोमबारको गिरावटलाई उनीहरुले करेक्सन भनेर चित्त बुझाएका छन्। तर शेयर बजारमा सोमबार जसरी सेलिङ प्रेसर देखियो त्यसलाई करेक्सन मान्ने या नमान्ने लगानीकर्ताले नै निर्णय गर्नुपर्ने हुन्छ। घट्दो मूल्यमा नै जसरी लगानीकर्ताले शेयर सप्लाई दिए उनीहरुको लागि भने मौद्रिक नीति खासै उपलब्धिपूर्ण रहेन। तर जसले सोमबार शेयर किने उनीहरुले भने अझै पनि मौद्रिक नीतिले शेयर बजारलाई राम्रै गर्ने बिश्लेषण गर्दै शेयर खरिद गरे। ब्राेकरहरूकाे र म्युचुअल फण्डहरूकाे हिसाब मिलान गर्न सेयर बिक्री गर्नै पर्ने भएका कारण साेमबारकाे बजारमा बिक्री दबाब आएकाे पनि देखिएकाे छ ।
सोमबार शेयर बिक्री गर्ने र किन्ने बीच कसको बिश्लेषण सहि हुने भन्ने निर्णय भने आउने कारोबार दिनले गर्ने नै छ। तर सोमबारको कारोबारले भने तत्कालको लागि लगानीकर्तालाई ‘माछा माछा भ्यागुतो' नै बनाइदियो।