त्यही क्रममा गृह सचिवस्तरीय दुई दिने बैठक बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा रहेको नेपाली वार्ता टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक एक जना एआईजी, परराष्ट्रट मन्त्रालय, कानून मन्त्रालयका सहसचिव, नापी विभागका महानिर्देशक सहभागि थिए ।
क्रस बोर्डर क्राइम, सीमा सुरक्षा, सूचना संयन्त्र तथा इन्टेलिजेन्स, लागुऔषध नियन्त्रण र चोरी तस्करी पारस्परिक कानुनी सहायता (एमएलए) को विषयमा पनि छलफल भएको बताइएको छ । बैठकलाई प्रधानमन्त्री ओलीको भ्रमणको तयारीकै रुपमा लिइएको गृहमन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
भ्रमणको तयारीकै क्रममा साउन १२ देखि १४ गतेसम्म दुई देशको सीमा संयन्त्र (बाउन्ड्री वर्किङ ग्रुप) को बैठक आयोजना गरिएको छ ।
स्मरणीय के छ भने नयाँ संविधान जारी भएपछि नेपाल र भारतको सम्वन्ध चिसिएको थियो । त्यसयता खास प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीत्व कालमा दुई देशको सम्वन्ध सुमधुर हुन सकेको छैन । ओलीको अघिल्लो कार्यकालमा आफ्नो भूभाग भएको दाबी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नेपालले आफ्नो नक्सामा समावेस गरेपछि दुई देशको सम्वन्ध थप विग्रिएको थियो ।
त्यही क्रममा गृह सचिवस्तरीय बैठक नौ वर्षयता र सीमा संयन्त्रको बैठक छ वर्षयता हुन सकेको थिएन ।
भारतले ओली चीनतर्फ ढल्किएको आरोप लगाउँदै पछिल्लो पटक प्रधानमन्त्री भएको १ वर्षसम्म पनि भ्रमणको निम्तो दिएको थिएन ।
तर, अहिले एकाएक भारत नेपालप्रति लचिलो हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक भ्रमण गराउन आतुर देखिनु, यस अघि वर्षाैंसम्म नभएका दुई देशका गृह सचिवस्तरीय संयन्त्रको बैठक सुरु हुनु र सीमा संयन्त्र बैठक समेत तय हुनुलाई कूटनीतिक तथा सीमा मामिलाका जानकारहरूले अर्थपूर्ण र रहस्यपूर्ण मानेका छन् । ‘या त ओलीसँग निहुँ खोजेर सकिंदो रहनेछ भन्ने महसुस गरेको हुनु पर्यो, या त कुटनीतिक रुपमा केही छलकपट गर्न सकिन्छ भन्ने ठानेको हुनुपर्यो ।
भारतले अहिले त्यसै ओलीलाई आफ्नो देशमा स्वागत गर्न खोजेको होला भनेर विश्वास मान्न सकिदैन, वास्तविकता भ्रमणपछि नै थाहा होला’ नेपाल भारतसम्वन्धि जानकार एक कुटनीतिज्ञले मेरो लगानीसँग भने ।
प्रधानमन्त्री ओलीको भ्रमणमा के के एजेण्डा राख्ने भन्ने बारेमा अहिले नै टुंगो भइनसकेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार भारतले पनि ओलीको भ्रमण गर्दैछ भने नेपालबाट पनि एजेण्डा तयार गरिदैँछ । नयाँ विषय भन्दा पनि अपराध नियन्त्रण, सीमा स्तम्भहरूको मर्मत सम्भार तथा सीमासम्बन्धी सुरक्षा व्यवस्थापन लगायतका विषयहरू सहयोग आदान प्रदान लगायतका पुरानै विषयहरुलाई प्रभावकारी ढंगले कसरी उठाउने भन्ने बारेमा सम्वन्धित अधिकारीहरुबीच छलफल भइरहेको छ ।