अशिष्ट भाषाशैलीसहित मन्त्रालयलाई लेखिएको पत्र राई आफैले सामाजिक संजालमा सार्वजनिक गरेका हुन् ।
पत्रमा धरान उपमहानगर पालिकाको जग्गा बिपी अस्पतालले लगेकोले उक्त जग्गा फिर्ता गराइँ पाऊ भन्ने अनुरोध छ । पत्रमा भनिएको छ ‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन, यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज, फिर्ता गरिदिनु होला । धन्यवाद ।’
जतिसुकै ठूलो विवाद भए पनि औपचारिकरुपमा पत्राचार गर्दा शिष्ट भाषा प्रयोग गर्नु संसार भरिकै प्रचलन हो । तर, त्यो प्रचलनलाई तोड्दै मेयर राईले कुलङ्घारले दलालीमा भुलेर भन्ने शब्द प्रयोग गरेका कारण त्यो पत्र भाइरल भएको हो । साम्पाङका विरोधीले मात्रै होइन, उनलाई समर्थन गर्दै आएका धेरै जनाले भाषा शैली सुधार गर्न उनलाई अनुरोध गरेका छन् । उता, स्वास्थ्य मन्त्रालयले पनि अशिष्ट शैलीमा लेखिएको पत्रको कुनै जवाफ नदिने जानकारी दिएको छ ।
‘अहिलेसम्म पत्र प्राप्त भएको छैन । तर, पत्र लेख्ने एउटा तरिका हुन्छ, शैली हुन्छ । मनपरी रुपमा लेखिएका पत्रको जवाफ दिएर त्यस्ता अशिष्ट भाषालाई मान्यता दिने काम मन्त्रालयले गर्दैन,’ मन्त्रालयका एक अधिकारीले भने ।
