यी हुन् गत वर्ष नेप्से ३ हजार पुगेकाे बेलाभन्दा अहिले ३ हजार पुग्दै गर्दा उच्च मूल्यमा कारोबार भइरहेका कम्पनी

Jul 24, 2025 06:24 AM Merolagani



मौद्रिक नीति आउन एक दिन अगाडिबाट बढ्न थालेको बजार अहिले झन्डै ३ हजारको हाराहारीमा छ । असार २६ गते २६८० को हाराहारीमा रहेको बजार अहिले साउन ६ गतेसम्म पुग्दा २९७८.८८ विन्दुमा पुगेको छ । गत वर्ष साउनको अन्तिम दिन पनि नेप्से परिसूचक ३ हजारको विन्दुमा अडिएको थियो त्यसपछि भने नेप्सेले ओरालो गति समातेको थियो ।

यस वर्ष राष्ट्र बैंकले असार २७ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीति लगत्तै शेयर बजार उचालिएर अहिलेको विन्दुमा पुगेको हो । गत वर्ष भने मौद्रिक नीति सार्वजनिक नहुँदै विष्णु पौडेल अर्थमन्त्री बन्ने सुनिश्चित भएदेखि नै बजार उचालिएको थियो र भदौ लागेसँगै शेयर बजारमा गिरावट शुरु भएको थियो। गत वर्षसँगै तुलना गर्दा समय भन्दा अगाडि नै नेप्से परिसूचक ३ हजारको विन्दु नजिक पुगे पनि कारोबार रकम भने अझै कम नै आइरहेको छ । गत वर्ष साउनको अन्तिम दिन अर्थात ३१ गते ३ हजारको विन्दु छोएको थियो भने यस वर्ष साउनको दोस्रो सातामा चलिरहँदा नेप्से परिसूचक ३ हजार छुने दिशातिर अगाडि बढेको छ ।

गत वर्षको ३ हजारमा २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो भने वाणिज्य बैकको मात्रै झन्डै १७ प्रतिशत कारोबार भएको थियो । सबैभन्दा बढी कारोबार भने एक वर्ष अगाडि पनि हाइड्रोपावरकै झन्डै ३५ प्रतिशत कारोबार भएको थियो । त्यसैगरी फाइनान्स समूह १० प्रतिशत, विकास बैंक समूह पौन ६ प्रतिशत, लगानी समूह ६ प्रतिशत, जीवन बीमा समूह साढे ५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह र लघुवित्त समूहमा ४ प्रतिशतभन्दा बढी रकमको कारोबार भएको देखिएको छ ।

यस वर्ष पनि हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण त्यतिकै देखिएको छ । कुल कारोबार रकममा झन्डै साढे ३७ प्रतिशत हाइड्रोपावरको कारोबार हुँदा दोस्रो स्थानमा भने वाणिज्य बैंक समूह परेको छ । अहिले वाणिज्य बैंक समूहको कारोबार कुल कारोबार ९ प्रतिशतभन्दा बढी छ । नेप्से गत वर्ष ३ हजार विन्दुमा पुग्दा वाणिज्य बैंकको कारोबार झन्डै १७ प्रतिशत थियो । विकास बैंक समूहको कारोबार गत वर्ष भन्दा बढेको छ भने माइक्रोफाइनान्समा अझै गत वर्ष जस्तै कारोबार बढ्न सकेको छैन भने अन्य समूहमा भने कारोबार बढिरहेको छ ।

नेप्से झन्डै ३ हजारको विन्दुमा पुग्दा कतिपय कम्पनीको शेयर मूल्य भने ३ हजार विन्दु पुग्दाको मूल्यभन्दा माथि पुगिसकेको छ । वाणिज्य बैंक समूहमा सूचीकृत १९ कम्पनीमध्ये ३ कम्पनीको शेयर मूल्य गत वर्ष नेप्से ३ हजार पुग्दाको मूल्य भन्दा माथि पुगिसकेको छ । सिद्धार्थ, एभरेष्ट र सानिमा बैंकको शेयर मूल्य गत वर्षको ३ हजार नेप्से पुग्दाको मूल्य भन्दा माथि पुगिसकेको छ । सिद्धार्थ बैंक गत वर्ष नेप्से ३ हजार पुग्दा ३ सय ६२ रुपैयाँ २० पैसा रहेकोमा बुधबार बजार बन्द हुँदा नै ३ सय ९३ रुपैयाँ ३२ पैसा पुग्यो । त्यस्तै एभरेष्ट बैंक गत वर्ष ७१३.६० रहेकोमा अहिले ७ सय ६४ रुपैयाँ ८४ पैसामा कारोबार भइरहेको छ भने सानिमा बैंक गत वर्ष ३ सय ६७ रुपैयाँ रहेकोमा अहिले ३ सय ७६ रुपैयाँ ४ पैसामा कारोबार भइरहेको छ। अघिल्लो वर्ष नेप्से ३ हजार पुग्दाको मूल्य भन्दा करिब २५ प्रतिशत सस्तोमा अहिले एनआईसी एसियाको शेयर मूल्य कारोबार भइरहेको छ।

विकास बैंक समूहमा कर्पोरेट डेभलपमेन्ट बैंक, नारायण डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंकको शेयर मूल्य गत वर्षको ३ हजारको नेप्से पुग्दा भन्दा बढी छ। विकास बैंकमध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र साग्रिनला डेभलपमेन्ट बैंकको शेयर मूल्य चाँहि गत वर्षको ३ हजार विन्दु भन्दा तल्लो विन्दु्मै कारोबार भइरहेको छ ।

यत फाइनान्स समूहका सबै कम्पनी नेप्से परिसूचक गत वर्ष ३ हजारको विन्दु छुँदाको मूल्य भन्दा तल्लो मूल्यमै कारोबार भइरहेको छ । सबैभन्दा सस्तो मूल्यमा अहिले नेपाल फाइनान्सको शेयर कारोबार भइरहेको छ । गत वर्ष नेप्से ३ हजार छुँदा नेपाल फाइनान्स २ हजार ७० रुपैयाँमा कारोबार भइरहेकोमा अहिले घटेर ७ सय ५४ रुपैयाँ ८४ पैसामा कारोबार भइरहेको छ ।

होटल तथा पर्यटन समूहका सबै कम्पनीहरु पनि गत वर्ष ३ हजार नेप्से पुग्दा भन्दा न्यून मूल्यमै कारोबार भइरहेका छन् । सबैभन्दा सस्तो मूल्यमा तारागाउँ रिजेन्स होटलको शेयर कारोबार भइरहेको छ । गत वर्ष १३ सय रुपैयाँमा कारोबार भएको कम्पनी अहिले १ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यता हाइड्रोपावर समूहमा भने ३६ वटा कम्पनी गत वर्ष ३ हजार नेप्से पुग्दाको मूल्य पुगेको भन्दा माथिल्लो मूल्यमा कारोबार भइरहेको छ । गत वर्ष बुटवल पावर ४ सय ८६ रुपैयाँमा कारोबार भएकोमा अहिले १ हजारभन्दा माथि कराोबार भइरहेको छ । त्यस्तै राधी विद्युत, रिभर फल्स, सुपर मादी हाइड्रोपावरको शेयर मूल्य गत वर्षको ३ हजारको विन्दुको भन्दा ५० प्रतिशत माथि छ । युनाइटेड मोदी, भुगोल इनर्जीको शेयर मूल्य गत वर्षको उच्च मूल्य भन्दा ४० प्रतिशत बढी छ। बलेफी, दोर्दी खोला, मन्दाकिनी, पिपल्स पावर, हिमालयन हाइड्रोपावरलगायतको शेयर मूल्य भने गत वर्षको उच्च मूल्य भन्दा धेरै तल रहेको छ ।

यता लगानी समूहका कम्पनीमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर र सीइडीबी होल्डिङस्को शेयर मूल्य गत वर्ष भन्दा उच्च मूल्यले बढेको पाइएको छ ।

यता जीवन बीमा र निर्जीवन बीमातर्फ कुनै पनि कम्पनीले गत वर्षको उच्च मूल्य भेट्टाउन सकेको छैन भने उत्पादन तथा प्रशोधन समूहतर्फ नेपाल ल्युब आयलको शेयर गत वर्षको उच्च मूल्य भन्दा माथि कारोबार भएको छ ।

माइक्रोफाइनान्स समूहमा विन नेपाल, सर्पोट माइक्रोफाइनानस, गुराँस लघुवित्त, साामुदायिक लघुवित्त लगायतका कम्पनीको शेयर मूल्य गत वर्षको उच्च मूल्य भन्दा माथिल्लो मूल्यमा कारोबार भइरहेको छ।

अन्य समूहमा दुई वटै रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य गत वर्षको उच्च मूल्य भन्दा माथिल्लो विन्दुमा कारोबार भइरहेको छ ।

नोट : तलको सूचीमा गत वर्षको कम्पनीहरूको मूल्यमा हकप्रद र बोनस शेयर वितरणपछिको मूल्य समायोजन गरिएको छैन। 





दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।