‘जिग्रीहरु’को भिडन्तले नेपाली राजनीतिमा मच्चाएको हलचलः देशको राजनीति अब कता जाला ?

Jul 24, 2025 05:51 PM mero lagani



‘हे भगवान मलाई मित्रहरुबाट बचाउ, शत्रुसँग लड्न आफै सक्छु’ दार्शनिक भोल्तेयरको यो भनाई अहिले नेपाली राजनीतिमा ठ्वाक्कै मेल खान पुगेको छ । 

नेपाली राजनीतिको शक्तिमा रहेका पात्रहरु अहिले आफ्नैहरुसँग यति भयभित देखिएका छन् कि त्यसबाट उनीहरुको ‘सातो’ नै गएको देखिएको छ । कुनै बेलाका ‘जिग्रीहरु’ अहिले शत्रु मात्रै बनेका छैनन्, एक अर्काको छायाँ देख्दा पनि तर्सिने अवस्थामा पुगेका छन् । पार्टीहरु विभाजनको खतरामा पुगेका छन् ।

यसबाट राजनीति मात्र नभएर देशको समग्र अवस्थामै गम्भिर असर पार्ने निश्चित छ । तर, त्यो असरको परिणाम के होला ? अहिले नै यकिन रुपमा भन्न सकिने अवस्था छैन ।

यहाँ कुनै बेला निकै घनिष्ट सम्वन्ध अर्थात् ‘जिग्री दोस्ती’ भएका केही प्रमुख पात्रहरुको बारेमा चर्चा गरिएको छ । 

विद्या भण्डारी र केपी ओलीः अपेक्षित सम्वन्ध, अनपेक्षित शत्रुता

पछिल्लो समय सबैभन्दा बढी चर्चामा रहेको सम्वन्ध प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीको हो । एमाले केन्द्रिय कमिटीले भण्डारीको सदस्यता नविकरण ‘पेण्डिङ’मा राख्ने, पार्टी राजनीति गर्न नदिने निर्णय गर्नु अगाडिसम्म उनीहरुबीचको सम्वन्धमा दरार आउला भनेर सम्भवतः कसैले पनि कल्पना गरेको थिएन । तर, अहिले उनीहरु बीचको सम्वन्ध यसरी चिसिएको छ कि दुवै एक अर्कालाई सिध्याउने दाउमा छन् ।

जानकारहरुका अनुसार भण्डारी र ओलीबीचको सम्वन्ध २०४७ तिरबाट शुरु भएको थियो । जतिबेला भण्डारीका पति मदन भण्डारी पार्टी महासचिव र ओली केन्द्रिय कमिटी सदस्य तथा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ)को अध्यक्ष थिए । मदन भण्डारीको रहस्यमय निधनपछि उनीहरुबीचको सम्वन्ध झन घनिष्ट भयो, अवसर आएको बेला एकले अर्काेलाई साथ दिए । विद्याले ओलीलाई पार्टी भित्रका हरेक विवाद र बहसहरुमा आँखा चिम्लेर साथ दिइन, त्यसको फलस्वरुप ओलीले पनि उनलाई साथ दिंदै अन्तिममा दुई पटकसम्म राष्ट्रपति नै बनाए । राष्ट्रपति हुँदा पनि भण्डारीले ओलीका हरेक जायज—नजायज कदमहरुमा साथ दिइन ।

तर, जब राष्ट्रपतिबाट हटिन र एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरिन्, तब ओलीले आफूलाई कहिल्यै नभएको खतरा महसुस गरे । त्यसपछि अहिले के भइरहेको छ ? त्यो सबै छर्लङग छ । र, अब के होला ? त्यो केवल अनुमानको विषय हो । तर, के भन्न सकिन्छ भने कुनै बेला नेपाली राजनीतिका सबैभन्दा घनिष्ट भनिएका ओली र भण्डारीबीचको सम्वन्धमा ‘चामत्कार’ भएन भने दुवै एक अर्काका सबैभन्दा ठूला दुस्मन बन्नेछन्, एक अर्कालाई सिध्याउनका लागि सम्भव भएसम्मका सबै हरकदहरु अपनाउने छन् । 

माधव नेपाल र रामकुमारी झाँक्री बीचको ‘दोस्ती’ अर्थात हात समात्नेबाट सिनो फाल्नेसम्मको सम्वन्ध 

करिब ५ वर्ष अगाडि नेकपा एमाले विभाजनका दुई निर्णायक पात्र थिए, माधव नेपाल र रामकुमारी झाँक्री । पार्टी विभाजन गर्न अन्तिम समयमा नेपालले आनाकानी गर्लान कि भनेर झाँक्रीले हात समातेर निर्वाचन आयोगमा लिएर गएको दृश्य त्यतिबेला निकै भाइरल बनेको थियो । पार्टी विभाजन पछि बनेको नेकपा एकिकृत समाजवादीमा सचिव भएकी झाँक्री अध्यक्ष नेपालको ‘कोर टीम’को सबैभन्दा प्रमुख हर्ताकर्ता थिइन । झाँक्रीसंग सल्लाह नलिई नेपालले कुनै निर्णय गर्दैनथे । त्यही प्रभावका कारण उनी केही महिना मन्त्री पनि भइन ।

तर, गत आम निर्वाचनमा पार्टीको लज्जाजनक पराजयलगायतका कारणहरुको समीक्षा गर्नेक्रममा झाँक्रीले नेपालको कार्यशैलीमाथि प्रश्न उठाउन थालिन् । त्यसपछि उनीहरुको सम्वन्ध विग्रिदैं गयो । गत वर्ष भएको पार्टी महाधिवेशनमा त अध्यक्ष नेपाल लगायतका कतिपय नेताहरुको चर्काे गुटवन्दीकै कारण आफूले उपाध्यक्षमा हारेको आरोप झाँक्रीले लगाउँदै आएकी छन् ।

केही समय पहिले पतन्जली जग्गा प्रकरणमा नेपाल विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि झाँक्री कुनै पनि हालतमा उनले नेतृत्व छोड्नु पर्ने र पार्टी पुनर्गठन गरिनु पर्ने आवाज उठाउँदै आएकी छन् ।

त्यसैक्रममा उनले रुपन्देहीको मणिग्राममा कार्यकर्तालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘मरेको सिनो काँधमा बोकेर पार्टी पार नलाग्ने’ अभिव्यक्ति दिएपछि उनीहरुको सम्वन्ध चरम शत्रुतामा बदलिएको छ । दुवै एक अर्काेलाई तह लगाएर छोड्ने प्रण गरेको देखिन्छ । त्यसक्रममा पार्टीले सोधेको स्पष्टिकरणको जवाफ नदिई झाँक्रीले केन्द्रिय कमिटीमा बोल्न पाउनु पर्ने र त्यहीँ आफ्नोतर्फबाट सबै कुरा राख्ने बताउँदै आएकी छन् ।

स्थिति हेर्दा लाग्छ—दुवैबीच मिलनको कुनै सम्भावना छैन । त्यसो भए उनीहरुबीचको विवादको अन्तिम पटाक्षेप कसरी होला ? सम्भवतः झाँक्रीलाई पार्टीबाट निस्कासन गरिनेछ वा उनले पार्टी छोड्ने छन् । त्यसपछि उनीहरु बीचको आरोप प्रत्यारोपले थप उग्ररुप लिनेछ । 

प्रचण्ड र जनार्दन शर्माः मिलेर विपक्षीको सम्हार, नमिल्दा तँ तँ म म

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रचण्डसँग पहिलो पटक ०४२ सालमा भेट भएयता पार्टी अध्यक्ष प्रचण्डका त्यस्ता ‘हनुमान’ मानिन्थे, जसले प्रचण्डको आड भरोसामा पार्टी भित्र प्रचण्डको आलोचकहरुमाथि निर्मम दमन गर्न मुख्य भूमिका खेल्थे । द्धन्द कालमा डा.बाबुराम भट्टराईदेखि रामबहादुर थापा बादलमाथि कारवाही हुँदा होस् कि द्धन्दकाल पछि मोहन वैद्य र विप्लवहरुले पार्टी छोड्नु पर्ने अवस्था सृजना गर्दा होस्, शर्माले प्रचण्डलाई अनावश्यक दवाव दिएको माओवादी नेताहरु बताउँछन् । आफ्ना आलोचकहरुलाई दमन गर्न साथ दिँदाको परिणाम प्रचण्डले उनलाई पटक पटक मन्त्री बनाए ।

तर, केही समययता उनीहरु दुवै जनाको सम्वन्ध निकै चिसिएको छ । शर्माले पटक पटक प्रचण्डलाई नेतृत्व छोड्न दवाव दिँदै आएका छन् भने प्रचण्डले त उनलाई पार्टी छोडेर जान पनि सार्वजनिक रुपमै चेतावनी दिँदै आएका छन् । पछिल्लो पटक २ दिन अघि पुष्पलाल जयन्ती मनाउन आयोजित समारोहमा शर्माले ‘मन मोहन अधिकारीबाहेक सबै कम्युनिष्ट प्रधानमन्त्रीहरु भ्रष्टाचारमा डुबे’ भन्ने भाषण गरेपछि अहिले उनी प्रचण्ड निकट माओवादी नेता कार्यकर्ताहरुको आक्रोशको तारो बनेका छन् ।

लाग्छ उनीहरुबीचको चार दशक पुरानो ‘दोस्ती’ अब फेरि जोडिने नसकिने गरि टुटेको छ । र, आरोप प्रत्यारोपहरु हेर्दा लाग्छ—उनीहरु एक अर्कालाई मौका पाउँदासाथ उठ्नै नसक्ने गरि ढाल्नको लागि उपयुक्त मौकाको पर्खाइमा छन् ।

रवि लामिछाने र मुकुल ढकाल, रहस्यमय सम्वन्ध, रहस्यमय शत्रुता

राष्ट्रिय स्वतन्त्र पार्टी गठनका दुई निर्णायक पात्रहरु हुन् सभापति रवि लामिछाने र तत्कालिन महामन्त्री डा.मुकुल ढकाल । पार्टी गठन गर्दा मात्र होइन, गत आम निर्वाचनमा उम्मेदवार छनौट गर्दासमेत उनीहरुले पार्टी केन्द्रिय समितिलाई समेत बेवास्ता गर्दै आफैले निर्णय गरेका थिए । तर, जब लामिछाने सरकारमा गए, सहकारी ठगी आदी विभिन्न कुरा उठ्न थाले तब ढकालले प्रश्न उठाउन थाले, त्यसपछि उनीहरुको सम्वन्ध चिसिन थाल्यो । फलस्वप ढकाल पार्टीबाटै निकालिए ।
अहिले लामिछानेका सबैभन्दा ठूलो दुस्मन नै ढकाल बनेका छन् ।

रास्वपा नेताहरु ढकाल र लामिछानेको सम्वन्ध र दुस्मनी दुबै रहस्यमय रहेको दावी गर्छन् । उनीहरुका अनुसार हिजो पार्टीमा रहँदासम्म लामिछाने र ढकालले ‘अध्याँरो कोठा’मा बसेर निर्णय गर्दथे, पार्टीमा छलफल हुनै नदिई निर्णय सुनाउँथे । त्यसमाथि प्रश्न उठ्नेहरुलाई पार्टीबाटै निकाल्ने धम्की दिन्थे । त्यस्तो रहस्यमय सम्वन्ध त्यसरी नै टुट्यो । 

राजेन्द्र लिङ्देन र धवल शमशेरबीचको त्यो सम्वन्ध र यो लडाई

केही दिन अघि महामन्त्री धवल शमशेर राणाले गत महाधिवेशनमा अध्यक्ष बन्न ‘राजेन्द्र लिङ्देनलाई सघाएर आफूले ठूलो भूल गरेको महसुस अहिले गरिरहेको’ बताए ।

उता अध्यक्ष लिङ्देनले भने पार्टीमा आन्तरिक विवाद जारी रहँदा अनुशासन विपरीतका गतिविधि स्वीकार्य नहुने भन्दै नेतृत्व मन नपरे महाधिवेशनसम्म पर्खन पर्दैन, अहिले नै ‘बाटो तताए हुन्छ’ भन्दै चेतावनी दिए ।

अध्यक्ष लिङ्देनले पार्टीका कतिपय वरिष्ठ नेतालाई जिम्मेवारीबाट पदमुक्त गरेपछि पार्टी विवाद निर्वाचन आयोगसम्म पुगेको छ ।

अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजक रहेका नवराज सुवेदीलाई हटाएर उनको ठाउँमा रोशन कार्कीलाइ नियुक्ति दिएपछि सुवेदी पक्ष निर्वाचन आयोग पुगेको छ ।

त्यसबाहेक उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट र सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट पनि लिङ्देनले हालै पदमुक्त गरेका थिए । त्यसको केही समय अगाडि महामन्त्री राणालाई सङ्गठन विभाग प्रमुखबाट हटाएका थिए ।

यी घटनाहरुबाट आक्रोसित राणाले अब मिल्न सकिने ठाउँ सकिएको भन्दै अघिल्लो महाधिवेशनमा लिङ्देनलाई अघि सारेर मैले ठूलो भुल गरेको भन्दै पश्चाताप गरेका छन् ।

राणाले भनेझैं महाधिवेशनको समयमा मात्र होइन, केही वर्ष पहिलेदेखि नै उनीहरु दुई बीचको सम्वन्ध निकै घनिष्ट थियो ।

लिङ्देन अध्यक्ष नहुँदा मात्र होइन, अध्यक्ष भएको केही महिनासम्म उनीहरुले आफूलाई एक अर्काको परिपूरक मान्थे । पूर्व राजा ज्ञानेन्द्र शाहले पनि उनीहरुलाई मिलेरै अगाडि बढ्न सुझाव दिएका थिए । तर, प्रचण्ड नेतृत्वको सरकारमा लिङ्देन उपप्रधानमन्त्री भएपछि शुरु भएको विवाद बढेर अहिले एक अर्कालाई सिध्याउने तहमा पुगेका छन् ।

 




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।