२३ अर्बको बिमा दाबीमा ६ अर्ब भुक्तानी: ७५ प्रतिशत रकम अझै प्रक्रियामै

Feb 02, 2026 01:45 PM merolagani



गत भदौ २३ को आन्दोलन र २४ को प्रदर्शनका क्रममा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी बापत माघ पहिलो सातासम्म ५ अर्ब ९८ करोड २ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ। यो रकम कुल परेको दाबीको करिब २५.१५ प्रतिशत मात्र हो। 

बिमा प्राधिकरणको तथ्याङ्क अनुसार माघ ५ गतेसम्म बिमा कम्पनीहरूमा कुल २३ अर्ब ७७ करोड २८ लाख रुपैयाँ बराबरको ३ हजार ३ सय ३४ वटा दाबी परेका थिए। प्रदर्शनका क्रममा भएको भौतिक क्षतिमा परेको यो दाबी रकम नेपालको बिमा इतिहासमै हालसम्मकै सबैभन्दा धेरै हो। यसअघि २०७२ सालको महाभूकम्पमा १७ अर्ब र अघिल्लो वर्षको असोजमा आएको बाढीमा करिब १३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको थियो।

भुक्तानी भएको कुल रकममध्ये सबैभन्दा बढी ४ अर्ब ८ करोड ९३ लाख रुपैयाँ सम्पत्ति बिमा (घर तथा स्थिर संरचना) अन्तर्गतको रहेको छ। सम्पत्ति बिमामा १८ अर्ब ९५ लाख रुपैयाँ बराबरको ७ सय १६ वटा माग दाबी परेको थियो। सम्पत्ति बिमा पछि धेरै भुक्तानी भएको क्षेत्र मोटर बिमा हो। जसमा १ अर्ब ७० करोड २४ लाख रुपैयाँ भुक्तानी भएको छ। सङ्ख्यात्मक हिसाबले हेर्दा भने कुल दाबीमध्ये ७०.५४ प्रतिशत हिस्सा सवारीसाधन (मोटर) बिमाकै रहेको छ। २ हजार ३ सय ३० वटा सवारीसाधनको ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म आधाभन्दा बढी रकम भुक्तानी भइसकेको देखिन्छ। यस बाहेक ठेकेदार तथा इन्जिनियरिङ बिमामा ९ करोड ४७ लाख, पारवहन बिमामा १ करोड ५९ लाख र अन्य बिमा शीर्षकमा ७ करोड ७७ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ।

यस बिचमा हार्दिक आइभिएफ र लक्ष्मी सनराइज बैंक जस्ता ठुला व्यावसायिक प्रतिष्ठानका भौतिक संरचनामा पनि ठुलो क्षति पुगेको थियो। यस्ता ठुला क्षतिहरूमा विस्तृत मूल्याङ्कन र प्रक्रियागत कामहरू बाँकी रहेकाले कुल दाबीको तुलनामा भुक्तानी भएको रकम केही कम देखिएको बिमा कम्पनीहरूको भनाइ छ। हालसम्म भएको भुक्तानीमा कतिपय कम्पनीहरूले दिएको पेस्की रकम समेत समावेश गरिएको छ। विशेषगरी पूर्ण क्षति भएका सवारीसाधनको भुक्तानीमा समस्या नभए तापनि ठुला भौतिक संरचनाको हकमा सर्भेयर (मूल्याङ्कनकर्ता) को अन्तिम प्रतिवेदन आउन समय लाग्ने भएकाले पूर्ण भुक्तानीमा केही ढिलाइ भएको हो।

C7#

बिमा भुक्तानीको यो अवस्थालाई नियामक निकाय बिमा प्राधिकरणले भने सन्तोषजनक नै रहेको धारणा राखेको छ। नेपाल जस्तो सामाजिक र आर्थिक अवस्था भएका अन्य देशमा पनि यही गतिमा बिमा भुक्तानी हुने गरेको प्राधिकरणको दाबी छ। 

प्रादेशिक तथ्याङ्क अनुसार प्रदर्शनको सबैभन्दा बढी असर बागमती प्रदेशमा देखिएको छ। कुल दाबीमध्ये ५४ प्रतिशत अर्थात् १ हजार ८ सय २८ वटा दाबी बागमती प्रदेशमा मात्र परेका छन्। त्यसै गरी दोस्रोमा कोसी प्रदेशमा ४ सय ७ वटा र तेस्रोमा मधेस प्रदेशमा ३ सय ७८ वटा दाबी परेका छन्। लुम्बिनीमा २ सय ५७, गण्डकीमा २ सय २२, सुदूरपश्चिममा २ सय १२ र कर्णाली प्रदेशमा ३० वटा बिमा दाबी परेको बिमा प्राधिकरणले जनाएको छ। मूल्याङ्कन प्रक्रिया पूरा भएकाहरूको हकमा भुक्तानी भइसकेको र बाँकी रहेका दाबीहरूको हकमा पनि विवरण प्राप्त हुने बित्तिकै भुक्तानी प्रक्रिया अघि बढाइने कम्पनीहरूले प्रस्ट पारेका छन्।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।