सधै आक्रामक रहने रवि लामिछानेको रहस्यमय मौनता: बालेनको छाँयाको असर कि सहकारी प्रकरणको तनाव ?

Feb 03, 2026 11:17 AM mero lagani



करिब तीन वर्ष अगाडि भएको प्रतिनिधि सभाको निर्वाचनमा बैकल्पिक राजनीतिको नारा दिँदै उदाएका रवि लामिछाने अहिले तुलनात्मक रुपमा निकै शान्त छन् ।

तीन वर्ष नपुग्दै उनको ‘चुनावी राप ताप’ निकै सेलाउँदै गएको छ । बोली निकै ‘मसिनो’ हुँदै गएको छ र आक्रमकता कमजोर हुँदै गएको छ ।

त्यहीकारण पुराना भनिएका कांग्रेस—एमाले—माओवादीलाई हराएर आफै सरकार बनाउने दावी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उम्मेदवारी दिएको चितवनको क्षेत्र नं २ मा उक्त पार्टीले राम्रोसँग प्रचार प्रसार पनि शुरु गरेको छैन । लामिछाने अहिलेसम्म एक पटक पनि त्यहाँ चुनावी कार्यक्रमहरु गरेका छैनन् । बरु चितवनकै अरु क्षेत्रमा रास्वपाले आक्रामक प्रचार प्रसार गरिरहेको छ । खासगरी नेकपाबाट चुनाव लडेकी प्रचण्ड पुत्री तथा भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेणु दाहाल र यस अघि काठमाडाैं क्षेत्र नं २ बाट जितेकी रास्वपा केन्द्रिय सदस्य सविता गाैतमको भीडन्तको कारण चितवन क्षेत्र नं ३ यति बेला ‘हट स्पट’ बनेको छ । तर, रवि लामिछानेको क्षेत्र भने तुलनात्मकरुपमा शान्त छ ।

४ मंसिर २०७९ को प्रतिनिधि सभा निर्वाचनमा चितवन–२ बाट चुनावी मैदानमा होमिएका लामिछानले ४९ हजार २६१ मत प्राप्त गरे। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका थिए।

उनको नागरिकताको विषयमा विवाद उत्पन्न भएपछि सर्वाेच्च अदालतले त्यो निर्वाचन परिणामलाई खारेज गर्यो । त्यसपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा लामिछानेले सोही क्षेत्रबाट २०७९ को भन्दा ५ हजार बढी मत बढाए। उपनिर्वाचनमा उनले ५४ हजार १७५ मत प्राप्त गरेर विजयी भए ।

पहिलो निर्वाचनमा उनले ४९ हजार २६१ मत ल्याउँदा नेपाली कांग्रेसका श्रेष्ठले ११ हजार ११४ मत ल्याएका थिए। लामिछाने र श्रेष्ठबीचको मतान्तर नै ४३ हजार ६१ थियो। तेस्रो स्थानमा समेटिएका नेकपा एमालेका उम्मेदवार न्यौपानेले १० हजार ९३४ मत प्राप्त गरेका थिए।

चुनाव जितेर दुई पटक उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने यो बीचमा सहकारी ठगी प्रकरणमा जेल नै परे । अहिले पनि रुपन्देही, कास्की, सर्लाही, काठमाडाैं लगायतका जिल्लामा उनी विरुद्ध मुद्दा चलिरहेको छ । त्यहीकारण उनी अहिले पुरै रक्षात्मक बनेका छन् । फलस्वरुप उनले प्रधानमन्त्रीको रुपमा काठमाडाैं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र साहलाई अगाडि सार्न वाध्य भए । त्यसपछिको अवस्था यस्तो बनेको छ कि मानौं रास्वपा भनेकै बालेन र बालेन भनेकै रास्वपा हुन् । बालेनको छायाँमा रवि पुरै हराइरहेका छन् ।

बालेन झापा, इलामदेखि अछामसम्म चुनावी कार्यक्रममा दौंडदा रवि भने एक पटक मात्र संयुक्त सभामा सहभागि भए । मधेश प्रदेशमा भएको उक्त सभापछि रवि पूर्णरुपमा ‘भूमिगत जस्तै’ छन् । उक्त सभामा खुट्टामा ढुंगा लागेर समस्या भएपछि दुई दिन अस्पतालमा बसेका लामिछानेले त्यसयता पनि आफू निकट केही नेताहरु बाहेकअरुलाई भेटेका छैनन् । सधै आक्रामक देखिने लामिछानेलाई यस्तो शान्त देखेर उनी निकटकै नेता कार्यकर्ताहरु पनि आश्चर्यमा परेका छन् ।

‘उहाँमा पहिले जस्तो जोश देखिदैन’ उनलाई भेटेका रास्वपाका एक नेता भन्छन् । उनकाअनुसार जसरी पनि प्रधानमन्त्री बन्ने महत्वकांक्षामा सहकारी प्रकरणले अवरोध सृजना गरेपछि उनी बालेनसँग सहकार्य गर्न वाध्य भए । जुन दिनदेखि बालेनसँग सहकार्य भयो, रवि पुरै ओझेलमा परे । जनकपुरकै सभामा बालेनको क्रेजको अगाडि आफू ओझेलमा परेको महसुस गरेका उनी आफूले दुख गरेर जन्माएको पार्टी नै ‘हाईज्याक’ हुने हो कि भन्ने आंशकामा रहेको उनी निकट नेताहरु बताउँछन् । ‘आफू विरुद्धका मुद्दा कायम रहेसम्म पार्टीले जिते पनि प्रधानमन्त्री हुन नपाउने र सहमति अनुसार बालेन नै प्रधानमन्त्री हुने भएपछि उहाँमा एक प्रकारको लघुताभास पनि देखिएको हो कि जस्तो लाग्छ, तर हामीसँग भेट्दा उहाँले सोझै त्यसो भन्नु हुन्न । विरामी भएकोले आराम गरेको र आन्तरिकरुपमा चुनावको तयारी गरिरहेको बताउनुहुन्छ । तर हामीले जसरी हेर्दा पनि पहिलेको जस्तो रवि लामिछाने उहाँ हुनुहुन्न,’ रवि निकट रास्वपाका एक नेताले मेरो लगानीसँग भने ।

चितवन २ का उम्मेदवार को कस्ता ?

चितवन क्षेत्र नं २ मा यसपटक २३ जना उम्मेदवार चुनावी मैदानमा छन्। लामिछानेले तेस्रोपटक उम्मेदवारी दिँदै गर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीले नयाँ उम्मेदवारलाई मौका दिएका छन् ।

कांग्रेसले महिला अधिकारकर्मी तथा बालबालिकाको क्षेत्रमा ३५ वर्षदेखि काम गर्दै आएकी मिना खरेललाई उम्मेदवार बनाएको छ । भरतपुर महानगरपालिका वडा नं ४ घर भएकी खरेल क्षेत्र नं ४ मा मात्र नभएर जिल्लाभर लोकप्रिय छन् । सामाजिक व्यक्तित्वको कारण उनलाई लामिछानेलाई ‘काउण्टर’ दिन सक्ने बलियो उम्मेदवारकाे रुपमा लिइएको छ ।

त्यस्तै नेकपा एमालेबाट युवा नेता अस्मिन घिमिरे उम्मेवार बनेका छन् । एमाले बागमती प्रदेश कमिटीका सदस्य रहेका घिमिरे जनवादी गायक हुन् । अनेरास्ववियूको राजनीति गरेका घिमिरे आफ्नो क्षेत्रका युवाहरूमाझ निकै लोकप्रिय रहेका छन् । त्यसैले विगतका दुई निर्वाचनमा रवितर्फ लागेका कतिपय युवाहरु अहिले घिमिरेतर्फ आकर्षित रहेको देखिएको छ, जस्ले गर्दा लामिछानेलाई थप दबाब हुनसक्ने देखिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले प्रताप गुरूङलाई उम्मेदबार बनाएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सुवास महतो, नेमकिपाका शोभा बासुकला, नेपाल रिपब्लिक पार्टीका शक्ति राज गुरुङ, श्रम संस्कृति पार्टीका मिलन थापा मगर, प्रलोपाका प्रकाश बहादुर पाण्डे उम्मेदवार रहेका छन् ।

त्यस्तै जनमत पार्टीबाट निर्मला कुमारी ठाकुर, उज्यालो नेपाल पार्टीका निरकुमार पाख्रिन, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, आम जनता पार्टीबाट देवी कुमारी मगर, मंगोल नेशनल अर्गनाइजेसनबाट ऋषा गोले, जसपाबाट कमना सिंह चौधरी, राप्रपाबाट जगदीश्वर अधिकारी, नेकपा माओवादीबाट दर्शना कुमारी शाही उम्मेदवार रहेका छन् ।

स्वतन्त्रबाट सो क्षेत्रमा इन्द्रबहादुर स्याङतान, कृष्णप्रसाद चापागाईँ, प्रतापसिंह तामाङ, प्रविन सापकोटा, रवि कुमाल, शम्भुप्रसाद जैसी उम्मेदवार रहेका छन् ।

चितवन क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरूष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रोलिङ्गी रहेका छन् । यहाँ ४८ वटा मतदानस्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्नेछन् ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।