'लो–प्राइस' स्टकको र्‍यालीमा कुन कुन कम्पनीले लिड गरिरहेका छन् ?

Feb 10, 2026 06:17 AM merolagani



सुवास निरौला 
 
नेपालको पूँजी बजारमा पछिल्लो एक महिना (२०२६ जनवरी)लागे देखि एउटा अनौठो दृश्य देखिएको छ। 

एकातिर समग्र बजार मापक सूचक (नेप्से इन्डेक्स) सुस्त गतिमा र दबाबमा देखिन्छ भने अर्कोतिर दोस्रो बजारमा सूचीकृत सस्ता जलविद्युत कम्पनीहरूको शेयर मूल्यमा भने  उछाल आएको छ। 

विशेष गरी २०० रुपैयाँभन्दा कम मूल्य भएका र ३०० रुपैयाँको मनोवैज्ञानिक सीमाभित्र रहेका जलविद्युत कम्पनीहरूमा लगानीकर्ताको आकर्षण यसरी बढेको छ कि,धेरैजसो कम्पनीको मूल्यले ऐतिहासिक वृद्धि हासिल गरेका छन्। 

मेरो लगानीले पछिल्लो समयको तथ्याङ्क केलाउँदा, जनवरी १ देखि फेब्रुअरी ९ सम्मको बजारमा मूल्य वृद्धिको अग्र पङ्क्तिमा रहेका सबै कम्पनीहरू 'सस्ता' कम्पनीहरू नै छन्।  यो वृद्धिले बजारमा एउटा बलियो मनोवैज्ञानिक प्रभाव पारिदियो "सस्तो शेयरमा लगानी गर्दा प्रतिफल बढी पाइन्छ" । यही मनोविज्ञानका कारण लगानीकर्ताहरू लाभांश दिने क्षमता भएका महँगा कम्पनी छाडेर सस्ता कम्पनीतिर झुम्मिएका छन्।

आँखुखोलाको मूल्य ८९.०२ प्रतिशत बढेर ३६४.८० पुगेको छ। त्रिशूली जलविद्युतको मूल्य  ५७.९८ प्रतिशत बढेर ६१८.५० मा उक्लिएको छ। रिडी पावर  ४२.५४ प्रतिशत बढेर ३१६.३० पुगेको छ। त्यसैगरि खानी खोला ४२.१८ प्रतिशतले बढेर  ३०४.४० मा उक्लिएको छ। यता शिव श्री हाइड्रो २९.६७ प्रतिशत बढेर १९८ रुपैयाँमा उक्लिएको छ।  यी कम्पनीहरूको मूल्य विश्लेषण गर्दा देखिन्छ कि, जो कम्पनीहरू जनवरीको सुरुमा १५० देखि २५० को बिचमा थिए, उनीहरूले नै अहिले सर्वाधिक कमाइ गरेका छन्।

यसको ठिक विपरीत, जो कम्पनीको मूल्य पहिले नै ४००–५०० भन्दा माथि थियो। उनीहरूमा भने लगानीकर्ताको रुचि शून्य जस्तै देखिएको छ। जस्तै सुपर मादीको मूल्य १२.५४ प्रतिशतले घटेको छ। नेपाल हाइड्रो डेभलपर्स  ११.१९ प्रतिशतले मूल्य घट्यो। अप्पर स्याङ्गे १०.३८ र कुथली बुखारी जस्तो उच्च प्रिमियमको शेयर पनि २.३६ प्रतिशतले ओरालो लाग्यो।  यसले के देखाउछ भने अहिले कम्पनी जस्तो सुकै होस बढ्ने शेयर भनेको कम मूल्यका नै हुन्। अनि अर्को कुरा, खेलाडीको नियन्त्रणमा रहेका केही विकास बैंक र वित्त कम्पनीको मात्रै मूल्य बढ्छ। किनकि जनवरी यता मूल्य बढ्ने कम्पनीको सूचीमा तिनै कम्पनी मात्रै छन्। 

पहिले नै चार सय रुपैयाँ भन्दा माथि मूल्य भएका कम्पनीको पनि अहिले काम छैन। चाहे ति फण्डामेन्टल्ली जति सुकै राम्रा कम्पनी किन नहुन्। लगानीकर्ता यसरी एकोहोरिएका छन्। दैनिक २०औँ लाख कित्ता शेयर आरामले कारोबार भइरहेका छन्। सोमबार मात्रै शेयर कारोबार मापन गर्ने नेप्से सूचक २६.०५ अंकले घटेर २६७२.३९ अंकमा ओर्लिएको छ। तर सोमबार नै सर्वाधिक धेरै मूल्य बढ्ने १० कम्पनीको सूचीमा पाँच कम्पनी  तीन सय मुनिका छन्। सोमबार सर्वाधिक भोल्युम आउने १० कम्पनीको सूचीमा सबै कम्पनी तीन सय मूनिकै छन्।   

ठुला लगानीकर्ताले कम पूँजी भएका र सस्तो मूल्य भएका शेयरहरू लिन थालेका छन्। थोरै रकमले धेरै कित्ता शेयर आउने भएकाले पनि उनीहरू अहिले यतातिर लागेको अनुमान गर्न सकिन्छ। उनीहरूलाई नै नयाँ लगानीकर्ताहरू पनि पछ्याउन थालेपछि अहिले दैनिक २० लाख कित्ता भन्दा बढीको कारोबार हुन थालेको छ। जसले गर्दा  ४०० भन्दा माथि मूल्य भएका हाइड्रोहरूमा १० प्रतिशतको वृद्धि पाउन गाह्रो भइरहेको बेला २०० मुनिका शेयरहरू भने दोब्बर हुन लागेका छन्।

लगानीकर्ता किन सस्ता शेयर तिरै लागे ? यसका पछाडि मुख्य विभिन्न  कारणहरू देखिन्छन्। सबैभन्दा पहिले मनोवैज्ञानिक सुरक्षा। लगानीकर्तालाई लाग्छ कि २०० रुपैयाँमा किनेको शेयर धेरै घटे पनि कति नै घट्ला र ? तर ८०० मा किनेको शेयर घटेमा ठुलो नोक्सानी हुने भन्दै डराइरहेका छन्। दोस्रोमा हकप्रदको लोभ। धेरैजसो सस्ता जलविद्युत कम्पनीहरूले ऋण तिर्न वा नयाँ आयोजनाका लागि हकप्रद शेयर जारी गर्ने हल्ला बजारमा छ। जसले गर्दा सस्तो मूल्यमा शेयर थप्ने होड चलिरहेको छ। पछिल्लो त्रैमास ब्याजदर सस्तो भएको कारण धेरै जसो जलविद्युत कम्पनीको नाफा बढेको छ। व्याज खर्च घटेको छ। नाफा बढेको छ। लामो समय मूल्य स्थिर रहेका कम्पनीमा एकाएक तरलता र खेलाडीको चलखेल बढेको छ। कहिल्यै मूल्य नबढ्ने, वर्ष दिन यता मूल्य स्थिर झैँ रहेका कम्पनीको शेयरलाई खेलाडीले खाइदिएका छन्। लामो समय होल्ड गरेका लगानीकर्ताले मूल्य आयो भन्दै शेयर बेच्दै गर्दा खेलाडीहरूले भने सबै शेयर उनीहरूबाट खोसेका छन्। 

 जनवरीदेखिको यो प्रवृत्तिले एउटा कुरा स्पष्ट पारेको छ। नेपाली शेयर बजार अहिले दीर्घकालीन लगानीभन्दा पनि छोटो समयको ट्रेडिङमा केन्द्रित भएको छ। २०० मुनिका शेयर ३०० कटाउने र ३०० का शेयर ५०० पुर्‍याउने यो होडले बजारलाई केही समय चलायमान बनाएको छ। तर आधारभूत बल विनाको यो वृद्धि टिकाउ भने नहुन सक्छ। 

 

 जनवरी लागे यता कुन कम्पनीको मूल्य कति बढ्यो कति घट्यो हेर्न यहाँ क्लिक गर्नुहोस्।