हिमालय उर्जाको विद्युत बिक्री आम्दानी सामान्य बढ्यो, नाफा कति?

Feb 10, 2026 02:20 PM Merolagani



हिमालय उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा विद्युत बिक्री मार्फत २७ करोड ७३ हजार रुपैयाँ आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २९ करोड ३९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८.८४ प्रतिशत बढेको हो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६ करोड ८० लाख रुपैयाँबाट बढेर १० करोड ४५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको खुद नाफा समीक्षा अवधिमा ५३.७४ प्रतिशत बढेको हो। विद्युत बिक्री आम्दानी सामान्य बढेपनि वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा वृद्धिदर बढी भएको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६.०४ छ भने सञ्चालन मुनाफा ५.७० प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ४९.१० प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ८ करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ६९ पैसा बढेर १० रुपैयाँ ५६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.०२ गुणा रहेको छ।