दाबी भुक्तानी बढेपछि शिखर इन्स्योरेन्स नोक्सानीमा

Feb 12, 2026 09:35 AM Merolagani



शिखर इन्स्योरेन्स लिमिटेड (SICL) ले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा इन्स्योरेन्सले नोक्सानी व्यहोरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्स २५ करोड ७३ लाख रुपैयाँ नाफामा थियो।

जेनजी आन्दोलनमा भएको क्षतिका कारण दाबी भुक्तानी बढेकोले इन्स्योरेन्सले नोक्सानी व्यहोर्नु परेको वित्तीय विवरणमा उल्लेख गरेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क २२.४१ प्रतिशत बढेको छ भने कुल आम्दानी ५.७१ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १२२.५६ प्रतिशत र कुल खर्च ६२.१५ प्रतिशत बढेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ६४ पैसा रहेको छ।

२ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ, महाविपत्ती कोषमा १६ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १६ करोड ११ लाख रुपैयाँ र अन्य इक्विटीमा ५८ करोड ३ लाख रुपैयाँ रहेको छ।