नेपाललगायत विश्वका अधिकांश अविकसित र अल्पविकसित देशहरुको लागि ‘स्विटजरल्याण्ड जस्तै देश बनाउने’ चुनावी एजेण्डा नै हुने गर्छ । विश्व राजनीतिमा स्विटजरल्याण्ड विकासको सबैभन्दा सुन्दर मानक नै मानिन्छ ।
अबको चार महिनापछि त्यहाँ एउटा त्यस्तो चुनाव हुँदैछ, जस्ले स्विटजरल्याण्डको विकास प्रकृया र दृष्टिकोणलाई पुष्टि गर्छ । हो, आगामी जुन १४ मा स्विटजरल्याण्डमा सन् २०५० मा देशको जनसंख्या कतिमा सिमित गर्ने भन्ने बारेमा एउटा चुनाव हुँदैछ । सन् २०२५ को अन्त्यमा स्विटरजरल्याण्डको जनसंख्या ९० लाख ७ हजार ७९८ पुगेको छ । सन् २०२५ मा त्यहाँको जनसंख्या वृद्धिदर ०.४५ प्रतिशत कायम भएको छ ।

संसदमा सबैभन्दा बढी सिट ओगटेको कट्टर अनुदारवादी मानिने स्विस पिपुल्स पार्टी (एसभीपी)को नेतृत्वमा रहेको सरकारले जुन १४ मा सन् २०५० मा स्विटजरल्याण्डको जनसंख्या १ करोड पुर्याउने तर त्यहाँभन्दा धेरै बढ्न नदिने योजनालाई जनताबाट अनुमोदन गराउनको लागि निर्वाचन गराउने घोषणा गरेको छ ।
यो प्रस्तावले स्विट्जरल्यान्डको स्थायी बासिन्दा जनसंख्या, जसमा स्विस नागरिक र आवासीय अनुमति भएका विदेशीहरू दुवै समावेश छन्, २०५० सम्ममा १ करोड भन्दा बढी हुनु हुँदैन भन्ने नियमलाई कानूनमा स्थापित गर्नेछ।
जनमत संग्रहले सन् २०५० भन्दा पहिले नै जनसंख्या ९५ लाखभन्दा धेरै कदम पुग्नासाथ नियन्त्रणको लागि कठोर कदम चाल्न सरकारलाई अनुमति प्रदान गर्नेछ । ९५ लाखको सिमा ननाघ्दासम्म भने सरकार नरमरुपमा प्रस्तुत हुनेछ ।
अहिले हुन लागेको चुनावबाट वातावरण, प्राकृतिक स्रोत, पूर्वाधार र सामाजिक सुरक्षा जाललाई जनसंख्या वृद्धिको कारण हुने तनावबाट जोगाउन मद्दत गर्नु रहेको सरकारले दावी गरेको छ । साथै देशको समग्र अर्थतन्त्र व्यवस्थापनमा पनि सहयोग पुग्ने दावी सरकारले गरेको छ । तर बाँकी राजनीतिक आलोचकहरू भने जनसंख्या सम्वन्धी कठोर नीतिले देशको आर्थिक सन्तुलनको अवस्था खल्बलिने दावी गरिरहेका छन् । उनीहरूकाअनुसार स्विट्जरल्याण्ड प्रायः अस्पताल, होटल, निर्माण स्थल र विश्वविद्यालयहरूमा विदेशी कामदारहरूमा निर्भर हुन्छ र जनसंख्यालाई १ करोडमा सिमित गर्ने नीतिले आप्रवासनको समस्या बल्झिनेछ, देशमा कामदारहरुको अभाव हुनेछ । त्यसबाट अर्थतन्त्रका धेरै क्षेत्रमा गम्भिर नकारात्मक असर पार्नेछ ।