लघुवित्तको नाफा ७३.१७ प्रतिशतले बढ्यो, कुन लघुवित्तको कति नाफा बढ्यो ?

Feb 14, 2026 06:36 PM MeroLagani



लघुवित्त वित्तीय संस्थाहरुको खुद नाफा ७३.१७ प्रतिशतले बढ्न पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश लघुवित्तको खुद मुनाफामा वृद्धि देखिँदा सो वृद्धि दर हासिल भएको हो ।

गत आवको पुस मसान्तसम्म समग्रमा लघुवित्त संस्थाहरुले २ अर्ब ७६ करोड ६२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवको पुस मसान्तसम्म आइपुग्दा खुद मुनाफामा ७३.१७ प्रतिशतले वृद्धि भएर ४ खर्ब ७९ करोड २ लाख ८७ हजार रुपैयाँ पुगेको हो ।

लघुवित्त संस्थाहरुको खराब कर्जा अनुपातमा सुधार देखिएसँगै संस्थाहरुले ब्याज आम्दानी सुधार गरी नाफा बढाएका हुन् । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई लिएको कसिलो नीति खुकुलो गरेसँगै नाफामा वृद्धि देखिएको हो । लघुवित्तकर्मीहरुका अनुसार एउटै ग्राहकले दुई वटा लघुवित्तबाट ऋण लिन पाउने भएपछि ऋण मागमा केही वृद्धि देखिएको हो । त्यसैगरी वाणिज्य बैंकको घट्दो ब्याज दरले गर्दा लघुवित्तले सस्तोमा ऋण पाउने थाले । गत वर्षसम्म लघुवित्त कम्पनीको जतिसुकै बेस रेट भए पनि १५ प्रतिशतभन्दा बढी ब्याज दरमा कर्जा दिन पाउँदैन थिए तर अहिले बैंकहरुको बेस रेटसँग सामान्यजस्य गरेर ऋणको ब्याज दर घटबढ गर्न सकिने सुविधा दिएपछि लघुवित्तको नाफामा वृद्धि देखिन थालेको हो । 

गत आवको दोस्रो त्रैमाससम्म ८ वटा संस्था घाटामा रहेकोमा चालु आवमा भने घाटामा रहेको लघुवित्त वित्तीय संस्थाको संख्या घटेर ४ वटामा सीमित हुन पुगेको छ । चालु आवको पुस मसान्तसम्म विजय, गणपति, विन नेपाल र सिर्जनशील लघुवित्तबाहेक सबै लघुवित्त नाफामा देखिए । गत वर्षको पुससम्ममा नेष्डो समृद्धि, नेरुडे मिर्मिरे, इन्फिनिटी, समता घरेलु, मातृभुमी, सामुदायिक र वीन नेपाल लघुवित्त घाटामा रहेको विवरण सार्वजनिक गरेका थिए ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म सर्वाधिक नाफा कमाउने संस्थामा छिमेक लघुवित्त रहेको छ । संस्थाले ६ महिनामा ५७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १२.५५ प्रतिशतले बढी हो । गत आवको ६ महिनामा संस्थाले ५१ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, दोस्रो बढी नाफा कमाउने संस्थामा डिप्रोक्स लघुवित्त रहेको छ । संस्थाले पुस मसान्तसम्म ४४ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ८०.३० प्रतिशतले बढी हो ।

यता जीवन विकास लघुवित्तले पनि ३८ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरी तेस्रो धेरै नाफा कमाउने संस्था बन्न सफल भएको छ । संस्थाको यो नाफा ८९.३७ प्रतिशतले बढी हो ।

त्यस्तै, साना किसानले ३८ करोढ ९ लाख, नेसनल माइक्रोफाइनान्स लघुवित्तले ३६ करोड ६६ लाख, ग्रामीण विकास लघुवित्तले २१ करोड ६४ लाख, नेरुडेले ४४ करोड ७० लाख, नेशनल माइक्रोफाइनान्सले ३४ करोड ९ लाख, ग्रामीण विकासले २१ करोड ९९ लाख, फर्वार्ड माइक्रोफाइनान्सले १९ करोड १२ लाख, स्वावलम्बनले १७ करोड २६ लाख र आशा लघुवित्तले १२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका छन्।

निर्धन उत्थान, सुर्योदय वोमी, ग्लोबल लघुवित्तले १० करोड भन्दा माथि नाफा कमाउँदा मेरो, नेष्डो समृद्धि, अभियान, आरएसडीसी, फस्ट माइक्रो, महुली, इन्फिनिटी, आरम्भ चौतारी, कालिका, समता घरेलु र मिथिला लघुवित्तको नाफाको ५ देखि १० करोडको बीचमा रहेको छ । युनिक नेपाल, हिमालयन, नाडेप, सीवाईसी नेपाल, महिला, मातृभुमी, एनएमबी, लक्ष्मी, सामुदायिक, सपोर्ट, आत्मनिर्भर स्वभिमान, गुराँस, उन्नति सहकार्य, एनआईसी एसिया, उपकार, धौलागिरी जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १ देखि ५ करोडको बीचमा छ । मानुषी र स्वष्तिक लघुवित्तको नाफा भने १ करोड भन्दा तल छ ।

कुनको नाफा कति बढ्यो ?

गत आवको पहिलो ६ महिनाको तुलनामा चालु आवको पहिलो ६ महिनामा सर्वाधिक नाफा बढाउनेमा फर्वार्ड माइक्रोफाइनान्स रहेको छ । संस्थाले गत आव भन्दा २०६०.२४ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो आवमा जम्मा ८८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको फर्वार्डले चालु आवको पहिलो ६ महिनामा १९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै, अभियान लघुवित्तले पनि गत वर्षको पहिलो ६ महिनामा ३७ लाख ८६ हजार रुपैयाँ कमाएकोमा त्यसमा १९४२.८२ प्रतिशतले वृद्धि गरी ७ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा पुर्याएको छ । मानुषी लघुवित्तको नाफा ७९८.५९ प्रतिशतले बढेर ८८ लाख ६८ हजार रुपैयाँ, महुली लघुवित्तको ६८१.५० प्रतिशत बढेर ७ करोड रुपैयाँ र धौलागिरी लघुवित्तको ४८७.७४ प्रतिशतले बढेर १ करोड २२ लाख रुपैयाँ खुद मुनाफा पुगेको छ।

गत वर्ष नोक्सानीमा रहेका समता घरेलु, सामुदायिक, जनउत्थान साम्दायिक, नेरुडे मिर्मिरे, नेष्डो समृद्धि, इन्फिनिटि, मातृभूमि र नाडेप लघुवित्तले शत प्रतिशत भन्दा बढीले नाफा बढाएका छन् । कुल ५० वटा लघुवित्तमा ४० वटा लघुवित्तको नाफा गत वर्षको पहिलो ६ महिनाको तुलनामा १२.५५ प्रतिशतदेखि २०६०.२४ प्रतिशतसम्म नाफा बढेको छ भने १० वटा लघुवित्त कम्पनीको नाफा भने गत वर्षको नाफाका तुलनामा घटेको छ । तथ्यांक अनुसार ग्लोबल आईएमई, निर्धन उत्पान, सीवाईसी नेपाल, उपकार, मेरो, साना किसान विकास, महिला, विजय गणपति र सिर्जनशील लघुवित्तको नाफा गत वर्षको पहिलो ६ महिनाको तुलनामा घटेको छ ।

त्यस्तै, अभियान लघुवित्तले १७५५ प्रतिशत, गुराँस लुघवित्तले १४४९ प्रतिशत, सम्पदा लघुवित्तले ७३५ प्रतिशत, नेरुडे लघुवित्तले ६७२ प्रतिशत, इन्फिनिटी लघुवित्तले ६०१ प्रतिशत, महिला लघुवित्तले ५३१ प्रतिशत, मेरो माइक्रोले ३६२ प्रतिशत र डिप्रोक्स लघुवित्तले ३३१ प्रतिशतले नाफा बढाएका छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा १० वटा संस्थाको नाफा घटेको छ । सर्वाधिक बिजय लघुवित्तको नाफा ७८.५६ प्रतिशतले घटेको छ ।