राजनीतिकरुपमा चलखेल गर्नु त परैको कुरा उनी आफू निकटका व्यक्तिहरुसंग पनि खुलेर बोलिरहेका छैनन् । ‘कांग्रेसलाई जिताउन लाग्नुस् भन्नु भयो, त्यसबाहेक अरु केही भन्नु भएन । उहाँ पुरै देखिनु भयो ।’ केही दिन अघि देउवासंग भेटेका सुदूर पश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भनेका थिए ।
हुन पनि सम्भवतः यस्तो मौनता यस अघि उनले कहिल्यै देखाएका थिएनन् । आफूलाई भेट्न जाने अति सिमित नेता कार्यकर्ताहरुसंग ‘कांग्रेसलाई जिताउन लाग्नुस्’ भन्ने गरे पनि देउवा आफै चुनाव प्रचारमा मात्रै भोट हाल्न समेत जाने सम्भावना नरहेको बताइन्छ । यस्ले पनि उनी अहिले कुन हदसम्म मौन छन् भन्ने स्पष्ट हुन्छ ।
तत्कालिन माहामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माको आव्हानमा भएको दोश्रो विशेष महाधिवेशनलाई आफूमाथि कू भएको भन्दै विश्लेषण गरिरहेका देउवाले त्यसकै प्रतिकारस्वरुप अहिले ‘मौन विद्रोह’ गरिरहेको र त्यसको असर आम चुनाव र बैशाखमा हुने भनिएको नियमित माहाधिवेशनमा देखिने उनी निकट एक नेता बताउंछन् । उनकाअनुसार देउवा नबोलेरै काम गर्ने मान्छे हुन् र त्यो शैलीको उत्कर्ष आउन बाँकी नै छ । ‘महाधिवेशनको लागि शक्ति संचय गर्ने र यही चुनावमा अहिलेको नेतृत्वलाई त्यसको महसुस गराउने सोंचमा देउवा हुनुहुन्छ भन्ने उहाँको हाउभाउले देखाउंछ । यद्धपी उहाँले खुलेर निकै कम मान्छेसंग मात्र बोलिरहनु भएको छ’ उनले मेरो लगानीसंग भने ।
सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरु यतिबेला पार्टीले बहुमत ल्याउने छाँट देखिएको भन्दै कार्यकर्ता र समर्थकमा उत्साह भरिरहेको बेला देउवा र उनी निकटका कैयौं नेताहरु भने पूर्णरुपमा मौन छन् । देउवा निकट थुप्रै नेताहरुलाई टिकट दिए पनि देउवासहितका वरिष्ठ नेताहरु मौन बस्दा अन्य नेता, कार्यकर्ता र समर्थकहरु भने यतिबेला अन्तरघातको डरले पिरोलिइरहेका छन् । कतै देउवा पक्षले छानी छानी आफू विरोधि उम्मेद्वारहरुमाथि अन्तरघात गर्ने त होइन भन्ने आशंकामा उनीहरु रहेका छन् । त्यसो भएमा परिणाममा कस्तो असर पर्ला ? र, को को नेताहरु अन्तरघातको शिकार होलान् ? कतिपय नेता कार्यकर्ताहरु त्यसको आंकलन गर्न थालेका छन् । खासगरि देउवाको व्यक्तिगत प्रभाव रहेको सुदूर पश्चिम प्रदेश, तत्कालिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको व्यक्तिगत प्रभाव रहेको कर्णाली प्रदेश र प्रभावशाली नेता बालकृष्ण खाँणको व्यक्तिगत प्रभाव रहेको लुम्बिनी प्रदेश र पूर्व उपसभापति प्रकाशमान सिंहको व्यक्तिगत प्रभाव रहेको काठमाण्डौ उपत्यकासहितका कतिपय क्षेत्रहरुमा अन्तरघात हुने सम्भावना रहेको कार्यकर्ताहरु बताउंछन् । ‘मतदान नै गरे पनि अर्काे पार्टीका उम्मेद्वारलाई भोट हाल्ने एउटा सम्भावना छ भने अर्काेतर्फ मतदान गर्न नै नजाने अर्काे सम्भावना पनि रहेको देखिएको छ । हेरौं के हुन्छ ?’ खाण निकट रहेका रुपन्देहीको एक नेताले मेरो लगानीसंग भने ।
अहिले पार्टीमा गुटबन्दी नदेखिए पनि केही प्रभावशाली कार्यकर्ता र नेता सक्रिय नहुँदा घाटा व्यहोर्नुपर्न सक्ने सम्भावनालाई विचार गरेर नै सभापति थापालगायतका नेताहरु निकै संयमितरुपमा प्रस्तुत भैरहेका छन् । र, उनीहरु देउवालगायतका उनी पक्षिय नेताहरुमाथि कुनै पनि प्रकारको आरोप प्रत्यारोप गरिरहेका छैनन् । बरु, उनीहरुलाई रिझाउने प्रयास गरिरहेका छन् । तर, पनि विशेष महाधिवेशनबाट नेतृत्वबाट हटाइएका अधिकाँश नेताहरु र उनीहरुका समर्थकहरु खुलेर चुनाव प्रचारमा लागेको अवस्था छैन । उनीहरु पनि देउवा, खड्का जस्तै मौन छन् ।
देउवानिकट एक नेताले दिएको जानकारीअनुसार देउवा महाराजगञ्जस्थित निवासमा थापा आएर निर्वाचनमा सहयोग मागुन् भन्ने पक्षमा छन् । तर, सभापति थापाले मात्र होइन, उपसभापति शर्मालगायतका नेताहरुले पनि देउवालाई भेटेर सहयोगको लागि अनुरोध गरेका छैनन्, केवल सार्वजनिक मन्चहरुबाट मात्र त्यस्तो अनुरोध गरेका छन् । नेताहरुमा रहेको इगो र विवाद समाधानका लागि सार्वजनिकरुपमा गरिने आग्रहको कुनै अर्थ नहुने देउवा पक्षिय नेता कार्यकर्ताहरुको बुझाई छ ।
स्मरणीय के छ भने देउवा पक्षका थुप्रै नेता कार्यकर्ताहरुलाई टिकट दिइए पनि हेभिवेट भनिएका थुपै नेतासँगै कांग्रेसका चर्चित अनुहारलाई समेत टिकट दिइएन । यसपालि टिकट नपाउनेमा शेरबहादुर देउवाकी श्रीमती एवम् पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा, नेताहरू प्रकाशमान सिंह, रमेश लेखक, पूर्वउपसभापति धनराज गुरुङ, नेता शशांक कोइराला लगायतको शीर्ष नेतृत्व चुनावी मैदानमा छैन । यसमध्ये केही नेताले त आफूलाई टिकट नपाउने बुझेपछि स्वेच्छिक रुपमा निर्वाचन नउठ्ने घोषणा गरेका थिए ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधर रहेका अहिलेका उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि उम्मेदवार छैनन् । उनीहरुलाई देखाएर चुनाव नलडेर पनि राजनीति गर्न सकिन्छ, टिकट पाउनु र चुनाव लड्नु मात्रै ठूलो कुरा होइन भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । तर, त्यो कति प्रभावकारी हुन्छ भन्ने कुरा चुनावि परिणामले बल्ल देखाउनेछ ।
यद्धपी वर्षौंदेखि निर्वाचन लड्दै आएका यी नेताहरूले टिकट नपाउँदा आमजनता र मतदाता निराश छैनन् । तर नेताहरूको मौनताले कांग्रेसलाई बहुमतसहितको सफलता हासिल गर्न चुनौती देखिएको छ ।