नियम उल्लङ्घन गर्ने तीन ठुला बैंकमाथि राष्ट्र बैंकको कारवाही

Feb 16, 2026 01:46 PM merolagani



नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा नियम उल्लङ्घन गर्ने तीन ठुला वाणिज्य बैंकहरूलाई कारबाही गरेको  छ। एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक  र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो। 

एनआईसी एसिया बैंक लिमिटेडले राष्ट्र बैंकबाट जारी गरिएका निर्देशनहरू पटक–पटक उल्लङ्घन गरेको, नियम विपरीत वित्तीय विवरण प्रकाशन गरेको र केन्द्रीय बैंकले दिएको लिखित आदेशको समेत पालना नगरेको पाइएकाले कडा कारबाही गरिएको छ। सो बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (ग) बमोजिम जनही २ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

त्यस्तै, ग्लोबल आईएमई बैंक लिमिटेडको २०८२ को स्थलगत निरीक्षणका क्रममा फेला परेका विभिन्न कैफियतहरूका सम्बन्धमा सो बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐनको दफा १०० बमोजिम सचेत गराइएको छ। बैंकले एकीकृत निर्देशनअनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था (Provisioning) कायम नगरेको, कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको र बैंकको कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै 'भ्यालु डेट' राखी पुनः सिर्जना गर्न सकिने गम्भीर प्राविधिक त्रुटि भेटिएकाले यो कारबाही गरिएको प्रतिवेदनमा उल्लेख छ।

यसै गरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत दुवैलाई राष्ट्र बैंकले सचेत गराएको छ। सो बैंकले कर्जासँग सम्बन्धित कागजातहरूमा ग्राहकको अनिवार्य सहीछाप नगराई र धितोको सुरक्षणले खामेभन्दा बढी कर्जा प्रवाह गरेको पाइएको छ। साथै, बैंकले एउटै प्रकृतिका कर्जाहरूमा ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी कायम गरेको, चालु पुँजी कर्जा मार्गदर्शनको पूर्ण पालना नगरेको र त्रैमासको अन्तिम महिनाहरूमा नयाँ अल्पकालीन कर्जाहरू प्रवाह गरी सोही रकम पुरानो ऋण असुलीमा प्रयोग (Evergreening) गरेको भेटिएकाले बैंकको सञ्चालक समिति र सीईओलाई सचेत गराइएको हो।