६ महिनामा थपियो १२६ मेगावाट बिजुली, राष्ट्रिय प्रणालीमा ४०८६ मेगावाट

Feb 16, 2026 03:22 PM merolagani



चालू आर्थिक वर्ष २०८२।०८३ को ६ महिनामा १२६ मेगावाट बिजुली थपिएको छ । सरकारी र निजिक्षेत्रले साउनदेखि पुस मसान्तसम्म उक्त बिजुली उत्पादन भइ राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

पुस मसान्तसम्म उक्त परिमाणको बिजुली जोडिएसँगै हालसम्म राष्ट्रिय प्रणालीमा ४ हजार ८७ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, चालू आवमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, मध्यावधिसम्म १२६ मेगावाट मात्रै बिजुली थपिएको हो । लक्ष्यको तुलनामा विद्युत् उत्पादन निकै कम भएको देखिन्छ ।

हुन त प्राधिकरणले गत आवमा पनि १०५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकोमा ५८० मेगावाट मात्र विद्युत् उत्पादन भएको थियो । हरेक वर्ष प्राधिकरणले कम्तीमा एक हजार मेगावाटको विद्युत् उत्पादनको लक्ष्य लिने गरे पनि लक्ष्यअनुसार भने विद्युत् उत्पादन हुन सकेको छैन् ।

त्यस्तै, चालू आवको पुस मसान्तसम्म ६६ केभीभन्दा बढीका सबै गरी कुल ७ हजार २८४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । हालसम्म ९७ प्रतिशत घरघुरीमा राष्ट्रिय प्रणालीमार्फत विद्युत् सेवाको पहँुच पुगेको छ । प्राधिकरणका अनुसार, हाल ४ हजारमेगावाट भन्दा बढीका जलविद्युत् आयोजनाहरु अहिले पनि निर्माणकै चरणमा छन् ।