कुमारी बैंकले प्राप्त गर्‍यो सूचना सुरक्षा व्यवस्थापनका लागि ISO/IEC 27001:2022 प्रमाणपत्र

Feb 16, 2026 04:53 PM Merolagani



कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO/IEC 27001:2022 सूचना सुरक्षा व्यवस्थापन प्रणाली (Information Security Management System – ISMS) प्रमाणपत्र प्राप्त गरेको छ। 

यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको पुष्टि गर्दछ।

ISO/IEC 27001:2022 मापदण्ड अन्तर्गत विभिन्न सुरक्षा नियन्त्रणहरू समावेश गरिएका हुन्छन्, जसलाई Organizational, People, Physical र Technological गरी विभाजन गरिएको छ। यी सम्पूर्ण नियन्त्रणहरूको कार्यान्वयन स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरेपछि मात्र प्रमाणपत्र प्रदान गरिन्छ।

उक्त प्रमाणपत्रले बैंकमा सूचना सुरक्षा जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्ने सुदृढ क्षमता रहेको र प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन भइरहेको सुनिश्चित गर्दछ। साथै, यसले ग्राहकहरूको तथ्यांक सुरक्षित र गोप्य रूपमा राखिएको, आवश्यक पर्दा उपलब्ध गराउने व्यवस्था गरिएको तथा अनधिकृत पहुँचबाट जोगाउन प्रभावकारी सुरक्षा प्रणाली कार्यान्वयन गरिएको प्रमाणित गर्दछ।

डिजिटल बैंकिङ सेवाहरूको तीव्र विस्तारसँगै साइबर सुरक्षा र डाटा गोपनीयता ग्राहक तथा सरोकारवालाहरूको प्रमुख चासोको विषय बनेको अवस्थामा बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड सेवा तथा आन्तरिक प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा मापदण्ड लागू गरेको जनाएको छ।

यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले ग्राहकको विश्वास नै बैंकिङ सेवाको आधार हो। ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गर्नु ग्राहकको वित्तीय सूचनाको सुरक्षाप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रतिविम्ब रहेको बताए । उनले भने,'सुरक्षित र विश्वसनीय बैंकिङ वातावरण प्रदान गर्न हामी प्रविधि, जनशक्ति र प्रक्रियामा निरन्तर लगानी गर्दै जानेछौं।'

बैंकले नियमित जोखिम मूल्याङ्कन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम, पहिचान तथा व्यवस्थापन गर्दै आएको जनाएको छ।

सूचना सुरक्षालाई एकपटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया भएको उल्लेख गर्दै बैंकले आगामी दिनहरूमा पनि नियामकीय मापदण्ड तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार आफ्ना सुरक्षा संयन्त्रहरू थप सुदृढ गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।