नीतिगत सहजतासँगै चुनावी माहोलले सूचकलाई गति दिने अपेक्षामा रहेका लगानीकर्ता निराश देखिएका छन्। बजार बढ्ने अनुमान गरिएकै समयमा नेप्से सूचक २६ सयको वरपर अल्मलिएको छ भने २७ सयको बिन्दुमा टिक्नसमेत हम्मे–हम्मे परेको छ।
फागुन ५ गते सोमबारदेखि उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चार माध्यममार्फत निर्वाचन सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न थालेका छन्। विगतका चुनावहरूमा नेप्से सूचकसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढ्ने गरेको थियो। तर यसपटक चुनावी माहोलले दोस्रो बजारमा उल्लेखनीय प्रभाव पार्न सकेको छैन। चुनाव नजिकिँदै जाँदा पनि बजार नबढ्नुमा राजनीतिक, आर्थिक तथा मनोवैज्ञानिक कारणले भूमिका खेलेको लगानीकर्ताहरूको बुझाइ छ।
विगतलाई फर्केर हेर्दा चुनावी समयमा बजारमा उत्साह देखिने गरेको थियो। यसपटक पनि बजारले सकारात्मक गति लिनेमा नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे आशावादी छन्। उनका अनुसार बजार बढ्नुपर्ने आधारभूत (फन्डामेन्टल) कारणहरू झन् बलिया भएका छन्। बैंकको ब्याजदर घटेको छ, बजारमा तरलता पर्याप्त छ, नीतिगत सहजता आएको छ र ब्रोकरमार्फत मार्जिन सुविधा उपलब्ध भएकाले बजारमा थप ऊर्जा आउनुपर्ने उनको धारणा छ।

चुनावले लगानीकर्तामा राजनीतिक स्थिरताको आशा जगाउने र त्यसले बजारमा सकारात्मक मनोविज्ञान सिर्जना गर्ने अपेक्षा गरिन्छ। तर यसपटक निर्वाचनले स्पष्ट राजनीतिक धार नसमातेका कारण लगानीकर्तामा दुविधा देखिएको साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजङ्ग जी.सी. बताउँछन्। नयाँ–पुराना दलबीचको प्रतिस्पर्धाले स्पष्ट सत्ता समीकरण बन्ने संकेत नदेखिएकाले भविष्यको सरकारबारे अन्योल कायम रहेको उनको भनाइ छ। यही कारण लगानीकर्ताहरू “पर्ख र हेर” रणनीतिमा बसेका छन्। चुनावपछि बजार बढ्छ कि अस्थिरता झन् बढ्छ भन्ने दोधारले कारोबार सुस्त बनाएको छ।
यद्यपि बजार उकालो लाग्न पर्याप्त आधारहरू रहेको विश्लेषण गरिएको छ। बजारलाई टिकाउने मुख्य शक्ति तरलता हो, जुन हाल पर्याप्त छ। ब्याजदर घट्दो क्रममा छ। तर लगानीकर्ताको आत्मविश्वास कमजोर भएकाले बजार माथिल्लो विन्दुमा टिक्न सकेको छैन। जी.सी.का अनुसार लगानीकर्ताको मनोभावना कमजोर हुँदा चुनावी माहोलले मात्रै बजारलाई उकालो लैजान सक्दैन।
पहिले चुनावको समयमा बजार बढ्ने आम धारणा थियो। तर अहिले चुनावी माहोल र शेयर बजारबीचको परम्परागत सम्बन्ध कमजोर बन्दै गएको देखिन्छ। यसको मुख्य कारण राजनीतिक अस्थिरता र लगानीकर्ताको मनोविज्ञान नै हो। चुनाव मात्र बजार बढाउने एकमात्र आधार होइन भन्ने बुझाइ लगानीकर्तामा विकसित भएको छ। विगतमा चुनावको प्रतीक्षामा रहने बजार अहिले स्थिर सरकार र स्पष्ट नीतिगत दिशाको प्रतीक्षामा रहेको देखिन्छ।