नेप्सेमा सुचीकृत चार सिमेन्ट कम्पनीहरु, कुन सूचकमा कसको अवस्था कस्तो ?

Feb 17, 2026 01:27 PM MeroLagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सिमेन्ट कम्पनीहरूले सुधारिएको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म सार्वजनिक वित्तीय विवरणअनुसार एउटा सिमेन्ट कम्पनी बाहेक सबैको खुद नाफा बढेको छ ।

चार सूचीकृत सिमेन्ट कम्पनीमध्ये शिवम सिमेन्ट, सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयलको वित्तीय अवस्था तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । यी कम्पनीहरूको आम्दानी, सञ्चालन नाफा तथा नगद प्रवाह अघिल्ला अवधिको तुलनामा केही सबल बन्दै गएको छ । अघिल्लो १० प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी वृद्धि गरेको घोराही सिमेन्ट उद्योग लिमिटेड उच्च ऋणभार, कमजोर माग र लागत दबाबका कारण घाटामा गएको छ । पुँजी बजारमा यी कम्पनीहरूको शेयर मूल्य ४ देखि ८ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

नेपालमै रहेको चुनढुंगालाई कच्चा पदार्थको रुपमा प्रयोग गरिने हुँदा मूल्य अभिवृद्धि गर्न सकिने वस्तुको रुपमा यसलाई लिने गरिएको छ । विगतमा सरकारले निर्यातमा अनुदानमा दिएपछि सीमा जोडिएका भारतीय शहरहरुमा समेत नेपाली सिमेन्ट निर्यात भएको थियो। भारतीय सरकारले गुणस्तर चिन्ह नवीकरणलगायतका विभिन्न बहानामा कडाइए गरेपछि भने अहिले भारत निर्यात त्यति हुन सकेको छैन । नेपालमा पनि अस्थिर सरकारका बाबजुद पुँजीगत खर्च कमजोर रहँदा पूर्वाधार विकासमा ध्यान पुग्न सकेको छैन । यद्यपि नेप्सेमा सुचीकृत ४ कम्पनीमध्ये ३ वटा कम्पनीले खुद नाफामा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नाफामा सर्वोत्तम अघि, घोराही कम्पनी ऋणात्मक

नेप्सेमा सूचीकृत चार सिमेन्ट कम्पनी मध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा अघि देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको नाफा १२३ प्रतिशतले बढेर ५३ करोड ८३ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आवको पहिलो ६ महिनामा शिवम सिमेन्टले ३५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५२८.५२ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा सोनापुर ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी १२ करोड २० लाख रुपैयाँ नोक्सानीमा थियो।

घोेराही सिमेन्टको नाफा भने २६ करोड ४९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ गत वर्षको ६ महिनामा भने कम्पनीको घाटा ६६ करोड ७१ लाख रुपैयाँ थियो।

प्रतिशेयर आम्दानी कसको कति ?

चार सिमेन्ट कम्पनी मध्ये नाफामा अग्र स्थानमा रहेको सर्वोत्तम प्रतिशेयर आम्दानीमा समेत अगाडि रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २०.६१ रुपैयाँ रहेको छ । त्यस्तै शिवम सिमेन्टको प्रति शेयर आम्दानी १२.७७ रुपैयाँ रहँदा सोनापुर मिनरल्स एन्ड आयलको भने ३.०९ रुपैयाँ रहेको छ । यता घोराही सिमेन्टको प्रति शेयर आम्दानी भने १०.५४ रुपैयाँले ऋणात्मक रहेको छ । गत वर्ष घोराही र सोनापुर दुवैको प्रति शेयर आम्दानी ऋणात्मक थियो।

चुक्तापुँजी कसको कति ?

चार वटा सुचीकृत सिमेन्ट कम्पनीमो शिवम सिमेन्टको चुक्ता पुँजी सबैभन्दा धेरै छ । शिवमले गत आवमा साढे २ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी वृद्धि गरेर ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ पुर्याएको थियो ।

सर्वोत्तमले ५ प्रतिशत बोनस शेयर दिएर चुक्तापुँजी वृद्धि गरगी ५ अर्ब २२ करोड रुपैयाँ पुर्याएको हो।
त्यसैगरी घोराहीको चुक्ता पुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत वर्ष १० प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी वृद्धि गरेको हो । चार सिमेन्ट कम्पनीमध्ये सबैभन्दा कम चुक्ता पुँजी भने सोनापुरको ३ अर्ब ५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

जगेडा कोष

सिमेन्ट कम्पनीमध्ये सबैभन्दा धेरै जगेडा कोष सर्वोत्तम सिमेन्टको सबैभन्दा बढी ४ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ रहेको छ भने दोस्रोमा शिवम सिमेन्टको ४ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ छ । सबैभन्दा कम जगेडा कोष सोनापुर मिनरल्सको २ अर्ब ८१ करोड १० लाख रुपैयाँ रहेको छ ।

उत्पादन बिक्रीबाट हुने आम्दानी

उत्पादन बिक्रीबाट हुने आम्दानीमा भने सर्वाेत्तमको ४ अर्ब ८ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त आम्दानी गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.५२ प्रतिशतले बढी हो ।

त्यस्तै, शिवम सिमेन्टको ३ अर्ब ९ करोड, घोराहीको २ अर्ब ८ करोड र सोनापुरको १ अर्ब ६९ करोड रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी भएको छ । चालु आवको सिमेन्ट बिक्रीबाट सबैभन्दा धेरै आम्दानी वृद्धि दर भने सोनापुर मिनरल्सको रहेको छ । गत वर्षको पहिलो ६ महिनामा सोनापुरले ९१ करोड ५८ लाख रुपैयाँ मात्रै उत्पादन बिक्रीबाट कमाएको थियो ।

नेटवर्थ कस्को कति ?

प्रतिशेयर नेटवर्थमा सोनापुर अघि छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको नेटवर्थ १९१.४२ रुपैयाँ रहेको छ ।

यता, दोस्रो नम्बरमा रहेको सर्वोत्तम सिमेन्टको १८८.९२ रुपैयाँ, शिवमको १८०.३८ रुपैयाँ र घोराही सिमेन्टको १६६.५८ रुपैयाँ रहेको छ ।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।