जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार निर्वाचन आयोग ले दिएको जिम्मेवारीअनुसार प्रत्यक्षतर्फका सबै मतपत्र सोमबार साँझसम्म छापिसकिएको हो।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ ४० दिनमै पूरा गरिएको छ। अब छापिएका मतपत्र प्याकेजिङ गरी आजदेखि सम्बन्धित प्रदेशहरूमा ढुवानी सुरु गरिएको केन्द्रले जनाएको छ। आगामी १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउने लक्ष्य राखिएको छ।
केन्द्रले दैनिक औसत १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र छापेर आयोगमार्फत विभिन्न स्थानमा पठाइसकिएको छ। समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ भइसकेको र ती पनि क्रमशः जिल्लामा पठाउने काम भइरहेको जनाइएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक सबै मतपत्र पुगिसकेको छ भने बाँकी प्रदेशमा समेत तोकिएको समयसीमाभित्रै वितरण सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ।