सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आयोजना गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२’ सम्बन्धी छलफलमा बोल्दै अध्यक्ष अग्रवालले विगतमा बैंक, बीमा तथा वित्तीय संस्थाहरुको संस्थापक र सर्वसाधारण शेयरका लागि अलग–अलग आइजिन नम्बर दिने नीति नै अहिलेको समस्याको जड भएको बताए । अध्यक्ष अग्रवालकाअनुसार एउटै कम्पनीको शेयरमा दुईवटा मूल्य (ड्यूअल प्राइस) हुनुले बजारमा ‘स्पेकुलेसन’ (अनुमानित कारोबार)लाई बढावा दिएको छ ।
‘समान प्रतिफल दिने एउटै शेयरलाई नीतिगत हस्तक्षेपका माध्यमबाट एउटा वास्तविक र अर्को स्पेकुलेटिभ मूल्यमा लानु नै ठूलो गल्ती हो,’ उनले भने ।
उनकाअनुसार अलग–अलग आइजिनले बजारलाई विभाजित गर्छ र शेयरको तरलतामा कमी ल्याउँछ ।
सूचकांकमा विकृतिः नेप्से सूचकांक गणनामा एउटै कम्पनीको शेयर फरक–फरक आइजिनबाट गणना गर्दा वास्तविक बजार अवस्था प्रतिबिम्बित हुँदैन । यसले बजार नियमन र सुपरिवेक्षणलाई कमजोर बनाउँछ र अनुगमन कार्यलाई जटिल बनाउने उनको भनाइ छ । उनकाअनुसार यस्तो प्रणालीले नेपालको पुँजी बजार अपरिपक्व रहेको सन्देश दिने र विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने उनको तर्क छ ।
संस्थापक शेयरको तीन वर्षे ‘लकिन पिरियड’ ले पनि बजारमा शेयर आपूर्ति संकुचित पारेको अग्रवालले बताए । उनले २० प्रतिशतसम्मको सिलिङ राखेर बाँकी शेयर खुला गरिएमा आपूर्तिको सन्तुलन मिल्ने र मूल्यमा हुने अस्वाभाविक उतारचढाव न्युनिकरण हुने सुझाव दिए ।
‘भारतमा टाटा वा अम्बानी जस्ता ठूला लगानीकर्ताले एउटा परियोजना सफल भएपछि शेयर विक्री गरेर थप नयाँ उद्योगमा लगानी गर्छन्,’ उनले उदाहरण दिँदै भने, ‘नेपालमा पनि लगानीकर्तालाई आफ्नो लगानी असुल गरी थप परियोजनामा लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’
अध्यक्ष अग्रवालले नेपालका नियामक निकायहरु (सेबन, नेप्से, सिडिएससी) सुदृढ हुन नसक्दा बजारमा विकृति देखिएको टिप्पणी गरे ।
‘पुँजी बजार आर्थिक वृद्धिको मेरुदण्ड हो । यसलाई थप सुदृढ, पारदर्शी र प्रभावकारी बनाउनु नेपालको दिगो आर्थिक विकासको लागि अपरिहार्य छ । अब आगामी दिनमा वास्तविक मूल्यमा आधारित र कम्पनीको प्रतिफलको आधारमा मूल्य निर्धारण हुने स्वस्थ पुँजी बजारको विकास हुनुपर्छ ।’
उनले पुँजी बजार आर्थिक वृद्धिको मेरुदण्ड भएको बताउँदै यसलाई थप सुदृढ, पारदर्शी र प्रभावकारी बनाउनु नेपालको दिगो आर्थिक विकासको लागि अपरिहार्य रहेको बताए । अब आगामी दिनमा वास्तविक मूल्यमा आधारित र कम्पनीको प्रतिफलको आधारमा मूल्य निर्धारण हुने स्वस्थ पुँजी बजारको विकास हुनुपर्ने बताए ।