पछिल्ला तीन चारदिन देखि दैनिक रुपमा काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लामा जाने यात्रुहरुको संख्या बढ्दै गइरहेको यातायात व्यवसायीहरुले बताएका छन् ।
काठमाडौंबाट बाहिरिनेहरुमध्ये अधिकांश मतदानमा सरिक हुन लागेका यात्रुहरु हुन् । निर्वाचनको माहोल देशभर चलिरहँदा राजनीतिक दलका उम्मेदवारहरु यतिबेला मतदाताको घरदैलोमा पुगेका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट बाहिरी जिल्लामा जाने यात्रुहरु क्रमशः बढ्दै जान थालेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

उनका अनुसार, निर्वाचनका लागि आफ्नो जिल्लामा पुग्ने यात्रु तथा मतदाताको संख्या बढ्दै जान थालेको छ । ‘तीन चार दिनदेखि काठमाडौं उपत्यका हुँदै विभिन्न जिल्लामा जाने यात्रुहरु बढ्न थालेका छन् । चुनावमा मतदान गर्न जानेहरुको संख्या बढी रहेको छ ।’
उनका अनुसार, काठमाडौंबाट विभिन्न जिल्ला पुग्ने र निर्वाचनमा भाग लिने गरी कतिपय यात्रुहरु गाउँ जाने गरेका छन् । अहिले उम्मेदवारहरुले मतदाताको घर घरमा गएका प्रचारप्रसार गरिरहेका छन् ।
सडक दुर्घटनाको डर, पुरिएनन् खाल्डा खुल्डी
निर्वाचनका बेला काठमाडौं उपत्यकाबाट मात्रै होइन्, देशको एक जिल्लाबाट अर्को जिल्लासम्म जोड्ने राष्ट्रिय राजमार्ग र सडकमार्गहरुको अवस्था जीर्ण छ । यसले निर्वाचनमा सहभागी हुन आफ्नो जिल्ला र गाउँ पुग्ने मतदाता समेतलाई सास्ती हुने देखिएको छ । मतदानका लागि गाउँ पुग्ने यात्रुको चाप बढेसँगै सडक दुर्घटनको जोखिम समेत उत्तिकै छ ।
ठूला राजमार्ग र सडकका खाल्डाखुल्डी पुरिएको छैन् । गाउँ गाउँमा जोन सडकको अवस्था उस्तै नाजुक छ । नागढुंगा देखि मुग्लिन सडक विस्तारको काम अहिलेसम्म सकिएको छैन् ।
मुग्लिन देखि बुटवल र मुग्लिन पोखरा जोड्ने महत्वपूर्ण सडकहरु मर्मत हुन सकेको छैन् । यात्रुको चापसँगै जीर्ण सडकमा यात्रा गर्दा सडक दुर्घटनाको जोखिम समेत हुँदै आएको छ ।
यातायात क्षेत्र थप चलायमान हुने
आम निर्वाचनका कारण नेपालको सार्वजनिक यातायातको क्षेत्र थप चलायमान हुने देखिएको छ । काठमाडौं उपत्यकाबाट मात्र होइन्, देशभरबाट नै मतदाताहरु आफ्नो निर्वाचन क्षेत्रमा पुग्नुपर्ने हुन्छ । त्यसका लागि सार्वजनिक सवारीको माग बढी हुने हुँदा समग्र यातायात क्षेत्र चलायमान हुने देखिएको छ ।
निर्वाचनका लागि लामो दूरीका सवारीहरु समेत खचाखच हुने, गाडीको टिकट नै नपाइने र गाडी रिजर्भ गरेर लैजाने गरिएको छ । यसले यातायात क्षेत्र थप चलायमान हुने व्यवसायीको अपेक्षा छ ।
सडक मर्मत र यात्रुको सुरक्षामा ध्यान दिन आग्रह
यातायात व्यवसायीहरुले भने निर्वाचनका लागि गाउँ जाने यात्रुहरुलाई सास्ती नदिन सरकारलाई आग्रह गरेका छन् । सडकका खाल्डाखुल्डी पुर्न र निर्वाचन अगाबै जीर्ण सडकको मर्मतसम्भार गरिनुपर्ने महासंघका वरिष्ठ उपाध्यक्ष सिटौला बताउँछन् ।
उनका अनुसार, अहिले कतिपय ठूला सडक राजमार्गको अवस्था जीर्ण छ । अधिकांश सडकमा खाल्डाखुल्डी पुरिएका छैनन् । देशभर निर्वाचनको माहोल बढेको र जिल्ला जिल्लामा जाने यात्रुहरुको सहज यात्रा र शुरक्षामा ध्यान दिने दायित्व सरकारको रहेको सिटौलाले बताए ।
‘निर्वाचनको माहोल देशैभर सुरु भइसक्यो । सडकका खाल्डाखुल्डी र मर्मतमा सरकारको ध्यान छैन् । यात्रुहरुलाई सहज रुपमा यात्रा गर्ने वातावरण सरकारले बनाइदिओस्,’ उनले भने, ‘आम मतदाताहरुले पनि जोखिमपूर्ण यात्रा नगर्न र होसियारीपूर्वक यात्रा गर्न हामी आग्रह गर्दछौं ।’