एआईका कारण विश्वभर मेमोरी चिप्सको अभाव: स्मार्टफोनको मूल्य इतिहासकै महँगो हुने

Feb 28, 2026 05:23 PM merolagani



स्टेफनी याङ र वेन चाङ, सीएनएन

ताइपेई, ताइवान। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का कारण विश्वव्यापी रूपमा सिर्जना भएको मेमोरी चिप्सको अभावले स्मार्टफोन उद्योगमा ठुलो सङ्कट पैदा गरिदिएको छ। 

बोस्टनमा आधारित प्रविधि विश्लेषण फर्म, 'इन्टरनेशनल डाटा कर्पोरेसन' (आईडीसी) को प्रतिवेदनअनुसार मेमोरी कम्पोनेन्टहरूको बढ्दो अभावले स्मार्टफोनहरू पहिलेभन्दा धेरै महँगो हुनेछन्।

"हामीले अहिले देखिरहेको समस्या अस्थायी होइन, बरु यो मेमोरी आपूर्ति शृङ्खलामा उत्पन्न भएको एउटा सुनामी जस्तो झट्का हो," आईडीसीका मोबाइल उपकरण अनुसन्धान प्रमुख फ्रान्सिस्को जेरोनिमोले भने, "यसको असर सम्पूर्ण उपभोक्ता इलेकट्रोनिक्स उद्योगमा फैलिएको छ।"

औसत मूल्य ५२३ डलर पुग्ने

प्रतिवेदनले यो वर्ष स्मार्टफोनको औसत बिक्री मूल्य १४ प्रतिशतले बढेर अहिलेसम्मकै उच्च ५२३ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। अब फोन निर्माताहरूले १०० डलरभन्दा कम मूल्यका स्मार्टफोन बनाउन नसक्ने स्थिति सिर्जना भएको छ। आईडीसीले सन् २०२६ सम्ममा स्मार्टफोनको बिक्रीमा १२.९ प्रतिशतको रेकर्ड गिरावट आउने र बिक्री १.१२ अर्ब युनिटमा झर्ने भविष्यवाणी गरेको छ। जुन एक दशकयताकै न्यून स्तर हो।

यो सङ्कट मुख्यतया एआई प्रविधिको विकास र त्यसका लागि आवश्यक पर्ने ठूला 'डेटा सेन्टर' निर्माणका कारण उब्जिएको हो। एसियाका ठूला मेमोरी चिप निर्माताहरूले आफ्नो सम्पूर्ण ध्यान एआई उद्योगतर्फ केन्द्रित गरेपछि ल्यापटप, गेमिङ कन्सोल र स्मार्टफोनका लागि चिपको अभाव भएको हो। यसले साना फोन निर्माताहरूलाई बजारबाटै विस्थापित गराउन सक्ने जोखिम बढाएको छ भने एप्पल र सामसुङ जस्ता दिग्गज कम्पनीहरूले आफ्नो बजार हिस्सा अझै बढाउने अवसर पाउने देखिएको छ।

एआईका लागि मेमोरी अनिवार्य

विगतमा मेमोरी चिप्सलाई कम नाफा हुने साधारण व्यवसाय मानिन्थ्यो। तर, एआईको उदयले यसलाई सबैभन्दा महत्त्वपूर्ण वस्तु बनाइदिएको छ। एआई चिप निर्माणमा विश्वकै नेतृत्व गरिरहेको कम्पनी 'एनभिडिया' का प्रमुख कार्यकारी जेन्सेन हुआङले एआईको भविष्यका लागि मेमोरी अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्।

एआईलाई तीव्र गतिमा काम गर्न ठुलो भण्डारण क्षमता चाहिन्छ। विशेष गरी स्मार्टफोनमा प्रयोग हुने पुरानो 'डीर्याम' प्रविधिको सट्टा अहिले 'एचबीएम' अर्थात् 'हाई ब्यान्डविथ मेमोरी' को माग बढेको छ। 'काउन्टरपोइन्ट रिसर्च' का अनुसार यी दुवै प्रकारका चिपको मूल्य अघिल्लो त्रैमासिकको तुलनामा झण्डै दोब्बरले बढेको छ।

उत्पादन क्षमता बुकिङ भइसकेको चेतावनी

विश्वका शीर्ष तीन मेमोरी चिप्स आपूर्तिकर्ताहरू—'एसके हाइनिक्स', 'सामसुङ' र 'माइक्रोन'—को स्टक मूल्य यो वर्ष उच्च बिन्दुमा पुगेको छ। उनीहरूको उत्पादन क्षमता अहिले नै लगभग पूर्ण रूपमा बुकिङ भइसकेको छ। ताइवानका प्रतिस्पर्धी कम्पनीहरू 'नान्या टेक्नोलोजी', 'विनबन्ड इलेकट्रोनिक्स' र 'पावरचिप सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसन' (पीएसएमसी) ले उत्पादन बढाउने प्रतिबद्धता जनाए पनि अभाव तत्काल टर्ने देखिँदैन।

टेस्लाका प्रमुख कार्यकारी एलोन मस्कले पनि मेमोरी चिप्सको सीमित आपूर्ति भविष्यको विकासका लागि सबैभन्दा ठुलो चुनौती हुने चेतावनी दिएका छन्। उनले आपूर्ति सुनिश्चित गर्न कम्पनीहरूलाई आफ्नै चिप निर्माण सुविधाहरूमा लगानी गर्न सुझाव समेत दिएका छन्। विश्लेषकहरूका अनुसार मेमोरीको यो अभाव आगामी वर्षसम्मै कायम रहने देखिन्छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।