नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क (बिमा प्रतिविम्ब) अनुसार माघ मसान्तसम्म जीवन र निर्जीवन बिमा कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्।
समीक्षा अवधिमा जीवन बिमा कम्पनीहरूले १ लाख २३ हजार ९२ वटा दाबीबापत २४ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमकहरूले १ लाख २४ हजार ७१० वटा दाबीको २४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका थिए। गत वर्षको तुलनामा यस वर्ष दाबी भुक्तानी सङ्ख्या १.३१ प्रतिशतले घटेको भए पनि भुक्तानी रकम भने १.२१ प्रतिशतले वृद्धि भएको छ।
निर्जीवन बिमा कम्पनीहरूको दाबी भुक्तानीमा भने उल्लेख्य वृद्धि देखिएको छ। तथ्याङ्कअनुसार माघसम्म निर्जीवन बीमकहरूले ८३ हजार ८१९ वटा दाबीको १५ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गरेका छन्। गत वर्षको यही अवधिमा ११ अर्ब ९५ करोड ७७ लाख रुपैयाँ (७६ हजार ९३७ दाबी) मात्र भुक्तानी भएको थियो।
अघिल्लो वर्षको तुलनामा निर्जीवन बिमातर्फ दाबी सङ्ख्या ८.९४ प्रतिशत र भुक्तानी रकम ३२.३० प्रतिशतले बढेको छ। गत भदौमा भएको राजनीतिक आन्दोलन र असोजको विनाशकारी बाढी पहिरोका कारण भौतिक सम्पत्तिमा ठुलो क्षति पुगेपछि निर्जीवन बिमामा दाबी र भुक्तानी रकम दुवै बढेको प्राधिकरणले जनाएको छ।
बिमा कम्पनीहरूले ठुलो रकम भुक्तानी गरे पनि अझै ५५ अर्ब ६० करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी देखिएको छ। प्राधिकरणका अनुसार यो दायित्व १ लाख ७६ हजारभन्दा बढी दाबी फाइलहरूको हो।
बाँकी रहेको दाबीमध्ये जीवन बिमा कम्पनीहरूको ६० हजार ४५१ वटा दाबीबापत ५ अर्ब ४५ करोड १८ लाख रुपैयाँ रहेको छ। सबैभन्दा ठुलो दायित्व निर्जीवन बिमा कम्पनीहरूको भागमा छ। जसमा १ लाख १६ हजार ४२१ वटा दाबीबापत ५० अर्ब १४ करोड ९६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। विशेष गरी असोजको बाढी पहिरोपछिका ठुला दाबीहरूको मूल्याङ्कन प्रक्रिया जारी रहेकाले बाँकी दाबीको अंक ठुलो देखिएको हो।