वारेन बफेटको बिदाइ र बर्कशायर हाथवेको नयाँ युग

Mar 02, 2026 06:33 AM Merolagani



ओमाहा, नेब्रास्का (सिएनएन)

विश्व प्रसिद्ध लगानीकर्ता वारेन बफेटको ६ दशक लामो नेतृत्वपछि बर्कशायर हाथवेले आफ्नो नयाँ अध्यायको प्रतिवेदन सार्वजनिक गरेको छ। 

शनिवार सार्वजनिक गरिएको चौथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको सञ्चालन आम्दानी १०.२ अर्ब डलर पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.८ प्रतिशतले कम हो। मुख्यतया बिमा व्यवसायमा देखिएको कमजोरीका कारण आम्दानीमा यो गिरावट आएको हो।

सन् २०२४ को समग्र सञ्चालन आम्दानी ४४.५ अर्ब डलर रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले न्यून हो। ओमाहामा मुख्यालय रहेको यस बहुराष्ट्रिय समूहको खुद आम्दानी पनि अघिल्लो वर्षको १९.६९ अर्ब डलरबाट घटेर १९.२ अर्ब डलरमा खुम्चिएको छ।

बिमा व्यवसायमा दबाब
बर्कशायरले गत वर्ष बिमा अन्डरराइटिङबाट ७.२ अर्ब डलर आर्जन गरेको थियो, जुन २०२४ को तुलनामा १९.५ प्रतिशतले कम हो। कम्पनीको बिमा शाखा, विशेष गरी कार बिमा प्रदायक 'गेको' (Geico) ले पछिल्लो समय प्रिमियम दरमा गरेको भारी वृद्धिका कारण ग्राहकहरू टिकाइराख्न समस्या भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ।

नेतृत्व परिवर्तन र ग्रेग एबेलको पहिलो पत्र
यो प्रतिवेदन बर्कशायरका शेयर धनीहरूका लागि ऐतिहासिक रहेको छ। ९५ वर्षीय वारेन बफेट, जसलाई 'ओराकल अफ ओमाहा' (ओमाहाका भविष्यवक्ता) भनेर चिनिन्छ, उनले ६० वर्षमा पहिलो पटक वार्षिक पत्र लेखेनन्। मे २०२५ मा उनले पद त्याग गर्ने घोषणा गरेसँगै उनका उत्तराधिकारी ग्रेग एबेलले आधिकारिक रूपमा नेतृत्व सम्हालेका छन्।

आफ्नो पहिलो वार्षिक पत्रमार्फत एबेलले लगानीकर्ताहरूलाई आश्वस्त पार्दै बर्कशायर अझै पनि लगानीका लागि सुरक्षित र भरपर्दो गन्तव्य रहेको बताए। उनले लेखेका छन्, "बर्कशायरमा लगानी गर्नु लामो समयदेखि हाम्रा संस्थापकमाथिको विश्वास थियो, जुन अब बर्कशायरको पद्धतिमा निर्भर छ। हाम्रो मुख्य भूमिका यो विशाल पूँजीको सही संरक्षण (Stewardship) गर्नु हो। हामीले अङ्गालेको संस्कृति र मूल्यमान्यता नै हाम्रो सफलताको कारण हो।"

एबेलले यो पनि जानकारी दिए कि बफेटले कार्यकारी पद छोडे पनि उनी अझै हप्ताको पाँच दिन कार्यालयमा उपस्थित हुन्छन् र मुख्य मालिकको रूपमा सक्रिय रहन्छन्।

अनुशासित लगानी र नगदको भण्डार

कम्पनीको नगद मौज्दात भने अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। बर्कशायरसँग अहिले ३७३.१ अर्ब डलर बराबरको नगद र कोष मौज्दात छ। एबेलका अनुसार यति ठुलो नगद थुप्रिनुको अर्थ लगानीबाट पछि हटेको नभई कम्पनी सही अवसरका लागि 'धैर्य वान र अनुशासित' रहेको सङ्केत हो।

भविष्यको मार्गचित्र

सन् २००० देखि बर्कशायरमा आबद्ध एबेललाई स्वर्गीय चार्ली मुङ्गर र वारेन बफेटले कम्पनीको संस्कृति जोगाउन सक्ने सक्षम नेतृत्वको रूपमा विश्वास गरेका थिए। एबेलले आफ्नो पत्रमा कम्पनीले व्यावसायिक सफलता र असफलता दुवैको सामना गर्ने र गल्ती भएमा त्यसलाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

एबेलले आगामी मे २ मा हुने शेयर धनीहरूको वार्षिक साधारण सभा (जसलाई 'पूँजीवादीहरूका लागि वुडस्टक' भनिन्छ) को नेतृत्व गर्नेछन्। "आगामी वर्षहरूमा यस कम्पनी र हाम्रो साझेदारीलाई थप बलियो बनाउने जिम्मेवारी पाउँदा म सम्मानित छु," उनले पत्रको अन्त्यमा लेखेका छन्।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।