आईतवार नेपाल प्रेस काउन्सिलले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मौन अवधिमा निर्वाचन सामग्री र नगद एकैठाउँमा बरामद भए त्यस्ता उम्मेदवारको उम्मेदवारीनै खारेज हुने चेतावनी दिएका हुन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा नगद चलखेल भए आगामी ६ वर्षसम्म त्यस्ता उम्मेदवारहरुले निर्वाचनको कुनैपनि प्रक्रिया भाग लिन नपाउने व्यवस्था गरिएकोतर्फ पनि सचेत गराए । उनले नगद चलखेल गर्ने उम्मेदवार विजयी भएको घोषणा भएपनि उनीहरुको उम्मेदवारी खारेज हुने पनि स्पष्ट पारे ।
उनले भने, ‘मौन अवधि किन पेचिलो हुन्छ भने यो हाम्रो जस्तो मुलुकमा नगदको चलखेल अलि हुन्छ भनेर बोल्न नमिल्ने तर यो सबैले बुझ्ने भाषा हो । त्यसैले यी विषयलाई मैले कसरी सम्बोधन गरौँ भने केही केही ठाउँमा यस्ता उजुरी आएका छन् । बराबर पनि भएका छन । यदि रकम लेनदेन भयो, रकम बोकेर हिडियो । निर्वाचन सामग्री र रकमको झोला बोकेर गइयो भने त्यो बरामद भयो भने उहाँहरुले निर्वाचनमा विजयी भएपनि उहाँको उम्मेदवारी खारेज गर्छौं भनेको छौँ हामीले । र खारेजी मात्रै होइन, अर्को ६ वर्ष चुनिने प्रक्रियामा उहाँ सहभागी हुन पाउनु हुन्न । एउटा राजनीतिक प्रणालीलाई राजनीति गर्नबाट बञ्चित गरियो भने त्यो भन्दा ठूलो सजाय के होला । त्यसकारण निर्वाचन आयोग यस्ता विषयहरुमा शुन्य सहनशीलताको नीति अवलम्बन गरिरहेको छ ।’
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले निर्वाचन आचारसंहिताको परिपालनामा शुन्य सहनशीलताको नीति लिएको पनि बताए । उनले मौन अवधिमा पनि निर्वाचन आचारसंहिताको पालना गराउने काममा सञ्चार माध्यामहरुले महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।