कराँचीस्थित निजामती अस्पतालका एक वरिष्ठ चिकित्सकका अनुसार घटनापछि नौ जनाको शव अस्पतालमा ल्याइएको छ भने कम्तीमा ३२ जना घाइतेको उपचार भइरहेको छ। निजी उद्धार संस्था एदी फाउन्डेशनले पनि नौ जनाको मृत्यु र दर्जनौँ घाइते अस्पताल पुर्याइएको पुष्टि गरेको छ।
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको विरोधमा कराँची, लाहोर र इस्लामाबादमा इरान समर्थक सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए। प्रदर्शनकारीहरू कन्सुलेट परिसरभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गर्दा झडप चर्किएको जनाइएको छ। यद्यपि, घटनाबारे प्रहरीले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
यसैबीच, संयुक्त राष्ट्रसंघका एक अधिकारीले पाकिस्तान प्रशासित गिलगित–बलिस्तानको गिलगितमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालयमा आगजनी गरिएको जानकारी दिएका छन्।
प्रदर्शन व्यापक बनेपछि सम्बन्धित क्षेत्रमा कर्फ्यु लगाइएको प्रहरीले पुष्टि गरेको छ। शिया संगठनहरूले इस्लामाबादलगायत विभिन्न सहरमा विरोध प्रदर्शनको आह्वान गरेका थिए।