इजरायल, अमेरिका र इरानबीच बढ्दो द्वन्द्वका कारण उत्पन्न असुरक्षा अवस्थालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीका अनुसार अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीमा जाने सबैका लागि श्रम स्वीकृति वितरण रोकिनेछ। हालसम्म वैदेशिक रोजगार विभागमार्फत कामदारलाई श्रम स्वीकृति प्रदान हुँदै आएको थियो।
इजरायल र अमेरिकाले इरानमाथि मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउँदै आएको छ। विशेषगरी युएई, कतार, ओमान र कुवेतजस्ता देशमा रहेका सैन्य बेसहरूमा आक्रमण भएपछि त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई लिएर चिन्ता बढेको छ।
सरकारले ती देशतर्फ उडान भर्न विमानस्थलमा पुगेका नेपालीलाई घर फर्किन आग्रह गरेको छ। सुरक्षा जोखिम बढेकाले सावधानी अपनाउन भनिएको छ।
यसैबीच, श्रम मन्त्रालयको कल सेन्टरलाई २४सै घण्टा सक्रिय राखिएको र परिस्थितिको विकासअनुसार आवश्यक परे नेपालीहरूको उद्धारका लागि पनि तयारी अवस्थामा रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।