मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली–उद्धारको लागि ‘पर्ख र हेर’को रणनीतिमा सरकार

Mar 01, 2026 05:32 PM Merolagani



परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाखभन्दा बढी नेपाली रहेका जनाएको छ । मन्त्रालयका सहसचिव एवं मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले करिव १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक मध्यपूर्वमा रहेको जानकारी दिए।

मन्त्रालयले आईतवार मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताए । मन्त्रालयले ती देशका लागि ट्राभल एड्भाइजरी जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ ।

साथै, सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरूसँग समन्वयका लागि ह्वाट्सएप समूह गठन गरिएको उनले जानकारी दिए। जहाँ स्थानीय गतिविधि र नेपालीहरूले भोगेका समस्याबारे नियमित अपडेट भइरहेको छ । खड्काले उद्धार तथा नागरिकको अवस्थाबारे तथ्यांक संकलन गर्न कन्सुलर सेवा विभाग मार्फत अनलाइन दर्ता प्लेटफर्म विकासको काम शुरु गरेको जानकारी दिए ।

दर्ता प्लेटफम सबै नियोगहरूको वेबसाइटमा उपलब्ध गराइनेछ । उनले आईतवार मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने गरी आकस्मिक उद्धार टोली गठन गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

सम्भावित युद्धको अवस्था, त्यसको अवधि, छिमेकी मुलुकहरूको कदम र सम्बन्धित देशहरूको तत्परताका आधारमा उद्धार रणनीति तय गरिने उनले जानकारी दिए । उनकाअनुसार इरानमा रहेका १० नेपालीमध्ये ४ जना स्वदेश फर्किसकेका छन् भने ६ जना अझै त्यहीं छन् ।

इजरायलमा करिव ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरेबियामा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरब इमिरेट्समा करिब ७ लाख, लेबनानमा १ हजार ४ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली नागरिक मध्यपूर्वमा रहेका छन् ।

उनले भने, ‘खासगरि यतिखेरको अवस्थामा परराष्ट्र मन्त्रालय र नेपाल सरकारको उच्च प्राथमिकतामा मध्य पूर्वमा रहेका नागरिकहरुको सुरक्षा रहेको छ । यसको लागी हामीले विभिन्न प्रक्रियाको थालनी गरेका छौँ । मध्यपूर्वको ईरानमा १० जना नेपाली थिए, त्यसमा ४ जना फर्किसकेका छन्, ६ जना हुनुहुन्छ । ईजरायलमा करिव ६ हजार ५ सय हुनुहुन्छ । इजिप्टमा ५ सय हुनहुन्छ, ईजिप्टमा प्रभाव छैन तर जोर्डन प्रभावित देखिन्छ । ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराईनमा २८ हजार, साउदी अरवमा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरव इमिरेटमा लगभग ७ लाख, लेभलानमा १ हजार ४ सय, इराकमा ३० हजार र साईप्रसमा १७ हजार गरि करिव १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक मध्येपूर्वमा रहेका छन् । सरकारले उनीहरुलाई सुरक्षित रहनको लागी ट्राभल एड्भजारी जारी गरेको छ । मन्त्रालय र सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरुको ह्वाट्सएप ग्रुप बनाएका छौँ । त्यहाँका गतिविधिहरु ग्रुपमा अपडेट गर्ने गरिएको छ । नेपालीहरुले भोगेको समस्याको पनि त्यहाँ अपडेट हुने गरेको छ । त्यसैगरि कन्सुलर सेवा विभागलाई नेपाली नागरिकको उद्धार गर्नको लागि र नेपालीहरुको अवस्थाको जानकारीको लागि रजिष्ट्रेसन प्लेटर्फम विकास गर्ने कामको थालनी भएको छ । यो भोलिसम्ममा तयार हुन्छ र सबै नेपाली नियोगहरुको वेवसाईटमा हामी त्यसलाई राख्नेछौँ । त्यसले नेपाली नागरिकलाई आफ्नो डाटा राख्न सजिलो हुन्छ । कन्सुलर सेवा विभागले एपको पनि विकास गरेको छ । संगै आज मुख्यसचिवज्युको नेतृत्वमा सम्पुर्ण सरोकारवालाहरुको उपस्थितिमा बैठक बसेको थियो । बैठकले परराष्ट्र मन्त्रालयको सचिवको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहनेगरि आकस्मिक उद्धार टिम गठन गर्ने निर्णय गरिएको छ । उद्धारको सन्दर्भमा युद्धको कस्तो अवस्था रहन्छ, लामो समय जाने अवस्थामा छिमेकी मुलुकहरुले लिने कदम, सम्बन्धितछ मुलुकहरुले देखाउने तत्परताको समयको अवस्थालाई हेरेर उद्धारको रणनीति लिनुपर्ने हुनसक्छ भन्ने मन्त्रालयको बुझाई छ । यो इमरजेन्सी टाकफोर्सको चाँही स्थायी संरचना नै बनाउन आवश्यक छ । किनभने ठुलो संख्यामा नेपालीहरु बाहिर हुनुहुन्छ, । उहाँहरुलाई कुनैपनि समय यो पर्न सक्छ । यसलाई नेपाल सरकारले नै निर्णय गरेर स्थायी पूर्ण अधिकारहितको संरचना बनाउन आवश्यक छ ।’

मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले हालसम्म प्राप्त सूचनाअनुसार मध्यपूर्वमा रहेका नेपालीहरू सुरक्षित रहेको बताए । उनकाअनुसार मध्यपुर्व क्षेत्रमा रहेका १० नेपाली नियोगहरूले स्थानीय सरकार र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रही मन्त्रालयलाई प्रतिवेदन पठाइरहेका छन् । ढकालले मध्यपूर्वमा रहेका नेपालीलाई नआत्तिन, सुरक्षित रहन, आफन्तसँग सम्पर्कमा रहिरहन तथा स्थानीय सरकार र दुतावासबाट जारी आधिकारिक सूचनाको पालना गर्न आग्रह गर्नुभएको छ । उनले नेपालमा रहेका आफन्तलाई पनि अनाश्यक सूचनाको पछि नलागी नियमित परिवारको सदस्यसंग सम्पर्कमा रहन आग्रह गरे।

उनले भने, ‘अहिलेसम्म प्राप्त सूचना र जानकारीअनुसार मध्यपूर्वमा रहेका नेपालीहरु सुरक्षित हुनुहुन्छ । मध्यपूर्वमा रहेका विभिन्न मुलुकका १० वटा नेपाली नियोगहरु त्यहाँ रहेका नेपाली समुदायहरुसंग निरन्तर सम्पर्कमा हुनुहुन्छ, उहाँहरुको अवस्था बुझिरहनु भएको छ र मन्त्रालयमा रिर्पोट गरिराख्नुभएको छ । हाम्रा नियोगहरु मध्येपुर्वमा रहेका विभिन्न मुलुकका सरकार र आधिकारिक निकायसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । मध्यपुर्वमा रहनुभएका नेपालीहरुलाई म निवेदन गर्न चाहन्छु, तपाईहरु नआत्तिनुहोला, आफूलाई सुरक्षित राख्नुहोला । आफन्तहरुसँग निरन्तर सम्पर्कमा रहनुहोला । स्थानिय सरकारहरुद्वारा जारी गरिएका अधिकारिक सूचनाहरु थाहा पाइराख्नुहोला । दुतावास र पराष्ट्रमन्त्रालयसँग निरन्तर सम्पर्कमा रहनुहोला ।’

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मध्यपूर्व क्षेत्रमा विकसित घटनालाई नेपाल सरकारले नजिकबाट नियालिरहेको बताए । उनले सबै पक्षहरुलाई अधिकतम संयमता अपनाउन, तनावलाई थप बढ्न नदिन र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नको लागि नेपाल सरकारले आग्रह गरेको बताए ।

नेपालले कुटनीतिक र वार्ताको माध्यमबाट विवाद समाधान गर्न, संयुक्त राष्ट्रसंघको वडापत्र र अन्तर्राष्ट्रिय कानूनका पालन गर्न र सबै राष्ट्रको सार्वभौम अधिकारको सम्मान गर्न पनि आह्वान गरेको छ ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।