ती मध्ये सुवर्ण शमशेर राणा मात्रै त्यस्ता एक्ला अर्थमन्त्री हुन्, जो एउटै निर्वाचनमा तीन ठाउँबाट प्रतिस्पर्धा गरे र तिनै ठाउँबाट जिते ।
२०१५ सालमा भएको नेपालको पहिलो आम निर्वाचनमा राणा निर्वाचन क्षेत्र नम्बर ९१ गुल्मी, निर्वाचन क्षेत्र नम्बर ५२ बारा र निर्वाचन क्षेत्र नम्बर ५३ बारा, पर्सा (पूर्व) बाट उम्मेदवार भएका थिए र तिनै ठाउँबाट अत्यधिक मत सहित जितेका थिए ।
सुवर्णशमशेरले निर्वाचन जितेका क्षेत्र नम्बर ५२ बारा र निर्वाचन क्षेत्र ९१ गुल्मीबाट राजीनामा गरेपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा नेपाली कांग्रेसले ५२ बारा गुमाउनु परेको थियो । यहाँ नेपाल राष्ट्रिय गोर्खा परिषद्का मनमोहन मिश्र छ हजार १५० मतले विजयी हुँदा कांग्रेस उम्मेदवार परमहंस यादवले तीन हजार ८२६ ल्याएका थिए ।
निर्वाचन क्षेत्र ९१ गुल्मीमा भने कांग्रेसकै पुस्करनाथ खरेल विजयी भएका थिए । उनी ११ हजार २५६ मतसहित निर्वाचित हुँदा नेपाल कम्युनिस्ट पार्टीका खुपीराम उपाध्यायले तीन हजार २८ मत पाएका थिए ।
स्मरणरहोस् सुवर्ण सम्शेर राणा नेपालका २०औं प्रधानमन्त्री (मन्त्रिपरिषद्को अध्यक्ष) हुन् । उनी २०१५ मा करिब १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए । राणा परिवारमा जन्मेका यिनी राणा शासन विरूद्धको आन्दोलनमा व्यापक रूपमा लागेका थिए। यिनी नेपाली कांग्रेसको कोषाध्यक्ष र पछि पञ्चायतकालमा बी। पी। कोइराला नजरबन्दमा हुँदा कार्यवाहक सभापति बनेका थिए ।
२३ वर्षको उमेरमा स्नातकोत्तर गरेका सुवर्ण शमशेर राणा परिवारका प्रथम स्नातकोत्तर थिए । राजा महेन्द्र राजा नहुंदै राजदरबार भित्र गई उनलाई पढाउने काम पनि गरेका थिए । त्यहीकारण राजा महेन्द्रले जीवनभर नै सुवर्ण समशेरप्रति सदभाव राख्थे । उनी २०१५ को आम निर्वाचन पछि पनि सुवर्ण नै प्रधानमन्त्री बनुन भन्ने पक्षमा रहेको र त्यसको लागि विपीलाई समेत दवाव दिएको दावी कतिपय इतिहासकारहरुले गर्ने गर्छन् । यद्धपी सुवर्ण समशेर आफ्नो वास्तविक नेता नै विपी भएको भन्दै उनको पक्षमा सधै अडिग रहे ।

सुवर्ण शमशेर श्री ३ भीम शमशेरका नाति तथा हिरण्य शमशेरका छोरा हुन् । उनको जन्म टंगाल दरबार (हालको अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको भवन) मा भएको थियो । चन्द्र शमशेरले बनाएको ए.बि.सि. रोलक्रमअनुसार उनी सी क्लासमा पर्दथे ।
विसं १९९० चैत ०१ जुद्ध शमशेरले सि क्लासका राणाहरूलाई चार भन्ज्यांगबाट कटाउने कटु निर्णय लिए । उनीहरूलाई रोलक्रमबाट पनि झिकियो । त्यहीअनुसार सुवर्ण समशेरका पिता हिरण्यशमशेर काठमाडाैंबाट वीरगञ्ज धपाईए । संगै सुवर्ण समशेर पनि विरगन्ज पुगे । र, त्यहींबाट विपी कोइराला लगायतका नेताहरुसंगको सम्पर्कमा पुगे ।
२००६ चैत २७ गतेदेखि कलकत्तमा भएको नेपाली कांग्रेसको अधिवेशनबाट सुवर्ण समशेर कोषाध्यक्ष बनेका थिए ।
२००७ फागुन ७ गते राणा शासन ढलेर प्रजातन्त्रको घोषणासँगै गठन भएको राजा, राणा र कांग्रेको संयुक्त सरकारमा सुवर्ण शमशेर अर्थमन्त्री बने । मोहनशमशेरले राजीनामा दिएपछि बनेको मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा पनि उनी नै अर्थमन्त्री बने । २००८ माघ १९ गते अर्थमन्त्रीको हैसियतले सुवर्ण शमशेरले नै नेपालको पहिलो पटक बजेट रेडियो नेपालमार्फत देशबासीका सामु सार्वजनिक गरेका थिए ।
त्यतिबेलाको बजेटमा २००८ मा सरकारको सामान्य आम्दानी ३ करोड ५ लाख सोह्र हजार अनुमान गरिएको थियो । खर्च भने ५ करोड ६९ लाख १५ हजार हुने अनुमान गरिएको थियो । जनताको जीवनस्तर उठाउनु र जनताको सांस्कृतिक तथा सामाजिक जीवन उकास्नु बजेटको उद्देश्य थियो। सरकारले मिश्रित आर्थिक प्रणाली अपनाउने नीति लिएको थियो । निजी उद्योग र व्यापारलाई प्रोत्साहन गर्ने नीति पनि सरकारले तय गरेको थियो ।
उनको मृत्यु ६६ वर्षको उमेरमा २०३४ सालमा भएको थियो ।