तर जब उनीहरू नजिकैको अर्को ठाउँमा जान बाहिर निस्किए, आकाशमा केही असामान्य दृश्य देखियो। केही क्षणमै एउटा ड्रोनको भग्नावशेष पाँचतारे फेयरमन्ट होटेलमा खस्यो। जबकि बेकर र उनका साथीहरू सडकको पारिपट्टि उभिरहेका थिए। "हामी सबै डरायौँ," उनी भन्छिन्, "त्यस्तो दृश्य देख्नु एकदमै अप्रत्याशित थियो।" एक वर्षअघि मात्र दुबई सरेकी बेलायती रियल स्टेट सल्लाहकार बेकर भन्छिन्, उनी दुबईलाई सधैँ यस क्षेत्रकै सबैभन्दा सुरक्षित ठाउँमध्ये एक मान्थिन्। तर इरान द्वन्द्वसँग जोडिएको दुई हप्ता लामो मिसाइल र ड्रोन आक्रमणका बाबजुद पनि उनी यो देश छोड्ने आफ्नो कुनै योजना नभएको बताउँछिन्। "बरु, परिस्थितिलाई जसरी सम्हालिएको छ। त्यसले मलाई झन् बढी सुरक्षित महसुस गराएको छ," उनी भन्छिन्।

दुबईमा बेकरजस्तै विभिन्न देशका लाखौँ आप्रवासीहरू बस्छन्। जसमा २ लाख ४० हजार बेलायती नागरिक पनि छन्। यहाँको कुल जनसङ्ख्यामा स्थानीय इमिराती नागरिकको हिस्सा १० प्रतिशत मात्र छ। दशकौँदेखि यस सहरले अशान्त मध्यपूर्वमा स्थिरता र सुरक्षाको छवि निर्माण गर्दै आएको छ। यहाँका गगनचुम्बी सिसाका भवनहरू, करमुक्त तलब र व्यक्तिगत सुरक्षाको ग्यारेन्टीले यसलाई मध्यपूर्वको फस्टाउँदो व्यापार र पर्यटन केन्द्र बन्न मद्दत गरेको छ। यो एउटा यस्तो गन्तव्य हो। जहाँ विश्वभरका मानिसहरू सुन्दर भविष्यको खोजीमा आउने गर्छन्। पछिल्ला वर्षहरूमा बढेका द्वन्द्वले यस क्षेत्रका धेरैजसो भागलाई प्रभावित पारे पनि दुबई भने धेरै हदसम्म अछुतो रहँदै आएको थियो। तर, अहिले त्यसको परीक्षण भइरहेको छ।
संयुक्त अरब इमिरेट्स (युएई) का अधिकारीहरूका अनुसार, इरानको आक्रमण सुरु भएदेखि युएईको वायु रक्षा प्रणालीले २८५ ब्यालेस्टिक क्षेप्यास्त्र, १५ क्रुज क्षेप्यास्त्र र १,५६७ वटा ड्रोनको सामना गरेको छ। अधिकारीहरूका अनुसार तीमध्ये ९० प्रतिशतभन्दा बढीलाई आकाशमै नष्ट गरिएको छ। यद्यपि, केही भग्नावशेषहरू प्रमुख आवासीय क्षेत्र र विमानस्थल वरपरलगायत दुबईका विभिन्न भागमा खसेका छन्। एउटा गगनचुम्बी आवासीय भवन, एउटा विलासी होटेल र विमानस्थलमा खसेका क्षेप्यास्त्रका टुक्राहरूका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
युएईका अधिकारीहरूका अनुसार हालसम्म देशभर ६ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।
बिबिसीले २० भन्दा बढी स्थानीय बासिन्दाहरूसँग कुरा गरेको थियो। जसमध्ये केही दशकौँदेखि दुबईमै बसोबास गरिरहेका छन् भने केही भर्खरै मात्र त्यहाँ पुगेका हुन्। धेरैजसोले पछिल्ला घटनाक्रमबाट आफूहरू स्तब्ध भएको बताए। तर, लगभग सबैले नै दुबई छोड्ने आफ्नो कुनै योजना नभएको स्पष्ट पारे। दुबईमै हुर्किएकी र हाल आफ्नै पारिवारिक व्यवसाय सम्हालिरहेकी भारतीय आप्रवासी इती भसिन भन्छिन्, "हामीले यस्तो घटना पहिलो पटक देखेका हौँ।" उनी थप्छिन्, "दुबई असाधारण रूपमा एउटा विशाल सहरमा परिणत भएको छ। तर हामीलाई यहाँका अधिकारीहरूप्रति पूर्ण विश्वास छ। यो मेरो घर हो र हामी यसको साथमा छौँ।" यद्यपि, केही बासिन्दाहरूका लागि भने विगत दुई हप्ता निकै चिन्ताजनक रह्यो। एडम कालो, उनकी श्रीमती र दुई साना छोराहरू सन् २०२४ मा बेलायतबाट दुबई सरेका थिए। यसको एउटा मुख्य कारण दुबईको शान्त र सुरक्षित छवि नै थियो। आक्रमणको सुरुवाती दिनहरूमा यो परिवार एउटै कोठामा सुत्ने गर्थ्यो किनभने सहरभरि विस्फोटका आवाजहरू गुन्जिरहेका थिए। बच्चाहरू झ्यालको छेउमा सुत्न डराउँथे। एडम भन्छन्, "अधिकारीहरूले हामीलाई सुरक्षित महसुस गराउन सक्दो प्रयास गरिरहेका छन्, तर पनि हामीलाई डर लागिरहेको छ। मुख्य चिन्ताको विषय भनेकै कतै यस्तै अवस्था सधैँका लागि सामान्य बन्ने त होइन भन्ने हो।"
एउटा सानो खाडी बन्दरगाहबाट विश्वव्यापी गन्तव्यमा परिणत भएको दुबईको मुख्य आधार भनेकै यसको 'कनेक्टिभिटी' हो। अन्तर्राष्ट्रिय यात्रुहरूका लागि विश्वकै सबैभन्दा व्यस्त मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थलले गत वर्ष करिब ९ करोड यात्रुलाई सेवा दिएको थियो। तर द्वन्द्व सुरु भएयता हजारौँ उडानहरू रद्द गरिएका छन्, जसका कारण यस क्षेत्रकै सबैभन्दा व्यस्त ट्रान्जिट हब लगभग ठप्प हुन पुग्यो। हालैका दिनहरूमा भने उडानहरू आंशिक रूपमा पुनः सुरु भएका छन्। एमिरेट्सले आफ्नो पूर्ण नेटवर्क पुनर्स्थापित गर्ने प्रयास स्वरूप उडान तालिकाहरू कटौती गरेको छ।पर्यटकहरूका लागि वर्षकै सबैभन्दा व्यस्त मानिने समयमा यो अवरोध सिर्जना भएको हो। गर्मी याम सुरु हुनुअघिको यो सिजनमा देखिएको प्रभाव अहिले प्रस्टै महसुस गर्न सकिन्छ। अहिले दुबई आउन नचाहनेहरूले उडान र होटेल बुकिङ धमाधम रद्द गरिरहेका छन्। केही विलासी होटेलहरूले त आफ्नो सामान्य मूल्यभन्दा निकै सस्तोमा कोठाहरू दिइरहेका छन्।
दुई दशकभन्दा बढी समयदेखि दुबईमा बस्दै आएका अस्ट्रेलियाली आप्रवासी एवं 'गेट्स हस्पिटालिटी' का संस्थापक डा. नैम मादद भन्छन्, "दुर्भाग्यवश, हामीले मे महिनासम्मका लागि बुकिङहरू रद्द भएको देखिरहेका छौँ।" उनी भन्छन्, "जब वर्षको पहिलो त्रैमासिक नै खराब हुन्छ, बाँकी समय घाटा पूर्ति गर्ने दौडधुपमै बित्छ।" धेरै पर्यटकहरू दुबईको विलासी जीवनशैलीबाट आकर्षित हुन्छन्। इन्फ्लुएन्सरहरूले पाँचतारे होटेल बाहिर पार्किङ गरिएका सुपरकार, रुफटप पुल (छतमा रहेको पौडी पोखरी) र निजी बिचहरूमा घाम तापिरहेका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गर्छन्। तर, त्यो चम्किलो तस्बिरको पछाडि अर्को यथार्थ पनि लुकेको छ।
दुबईको अर्को पाटो
यस सहरले दिने अवसरहरूसँगै केही विरोधाभास पनि जोडिएर आउँछन्। अनलाइनमा दुबईको चम्किलो छवि देखिन्छ। तर यहाँको अर्थतन्त्रलाई बलियो बनाउन दिनरात खटिने हजारौँ आप्रवासी कामदारहरू भने सामान्य ज्यालामा काम गर्छन् र सहरको बाहिरी भागमा 'सेयरिङ रुम'मा बस्छन्।युएईको श्रम शक्तिमा विदेशीहरूको वर्चस्व छ। सहरको द्रुत गतिमा बढिरहेको जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा दक्षिण एसियालीहरूको छ, जो प्रायः निर्माण, लजिस्टिक र डेलिभरी सेवाहरूमा काम गर्छन्। उनीहरूमध्ये धेरैको दैनिक जीवनमा भने यो युद्धले खासै ठुलो परिवर्तन ल्याएको छैन। पाकिस्तानी डेलिभरी चालक हमजा भन्छन्, युद्धको सुरुवाती दिनहरूमा धेरै मानिसहरू घरभित्रै बसेकाले डेलिभरी अर्डर झन् बढेको थियो। "विस्फोटको आवाज सुन्दा वा भग्नावशेष खसेको देख्दा डर त लाग्छ नै," उनी भन्छन्, "तर म काम गर्न छोड्न सक्दिनँ।" "मेरो परिवार मेरै कमाइमा निर्भर छ। डराएर घरमै बस्ने छुट मलाई छैन।"
मानवअधिकार समूहहरूले खाडी मुलुकमा कम तलबमा काम गर्ने श्रमिकहरूको जीवनस्तर, काम गर्ने वातावरण र रोजगारदाताको प्रायोजनसम्बन्धी नियम (काफाला प्रणाली) लगायतका विषयमा लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन्। हमजालगायत मैले कुरा गरेका धेरै बासिन्दाहरूले दुबईमै बस्न चाहेको बताए पनि, टिकट पाउन सफल भएका केही मानिसहरूले भने दुबई छोड्ने निर्णय गरेका छन्। नाम नबताउने सर्तमा एक एयरलाइन्स कर्मचारीले आफू यसै हप्ताको सुरुमा अस्ट्रेलियाको मेलबर्न फर्किएको बताइन्। "लगातार विस्फोटका आवाजहरू सुन्दा म साँच्चै नै आत्तिन थालेकी थिएँ," उनी भन्छिन्, "अहिलेका लागि त्यहाँबाट निस्किनु र परिस्थिति सामान्य भएपछि मात्र फर्कनु सुरक्षित लाग्यो।"
यद्यपि, उनी परिस्थिति सुध्रिएपछि फर्किने योजनामै छिन्। धेरै पश्चिमी देशहरूले आप्रवासन नीतिलाई कडाइ गरिरहेको र यसको प्रभावमाथि बहस चलिरहेको बेला दुबईले भने एउटा फरक मोडल प्रस्तुत गरिरहेको छ।
कोभिड महामारीपछि करोडपतिहरूको आगमनसँगै युएईले आफूलाई विश्वभरका प्रतिभा र धनाढ्यहरूलाई आकर्षित गर्ने चुम्बकका रूपमा स्थापित गरेको छ। विकासोन्मुख देशका महत्त्वाकाङ्क्षी पेसाकर्मीहरू—चाहे ती भारतीय इन्जिनियर हुन्, इजिप्टका डाक्टर हुन् वा फिलिपिनो नर्स—उनीहरूका लागि युरोप वा उत्तरी अमेरिकाको तुलनामा दुबईको भिसा पाउन निकै सजिलो छ। साथै, यहाँ पाइने पारिश्रमिक पनि आकर्षक हुन्छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र कानुन कार्यान्वयन गर्ने निकायहरूको अनुसन्धानले शङ्कास्पद सङ्गठित अपराधमा संलग्न व्यक्तिहरू कसरी दुबईमा आश्रय लिइरहेका छन् भन्ने कुरा यसअघि नै बाहिर ल्याइसकेका छन्। यद्यपि, हालैका वर्षहरूमा युएई र अन्य देशहरूबिच सुपुर्दगी सन्धिमा सहकार्य भने बढेको छ।
के दुबईको ब्रान्ड जोगिन सक्छ ?
अशान्त मध्यपूर्वमा एउटा सुरक्षित र शान्त गन्तव्य (ओएसिस) को छवि नै यस सहरको सबैभन्दा ठुलो आकर्षण हो। तर, के अब दुबईको यो ब्रान्ड सधैँका लागि खतरामा परेको हो त ? युएईको बारेमा विस्तृत अध्ययन गरेका मध्यपूर्वका राजनीतिक अर्थशास्त्र विज्ञ क्रिस्टोफर डेभिडसनका अनुसार, यी आक्रमणहरूले छोटो अवधिका लागि दुबईको आकर्षणलाई कम गर्न सक्छ। उनी भन्छन्, "तर यहाँका आधारभूत कुराहरू—पूर्वाधार, नियमन, मौसम र भौगोलिक अवस्था—अपरिवर्तित नै छन्।" "त्यसैले, दीर्घकालीन रूपमा यसको आकर्षण कायमै रहनेछ।" आक्रमणबारे दैनिक अपडेट दिने र सम्भावित खतराको पूर्व चेतावनी मोबाइल अलर्टमार्फत पठाउने सरकारी कार्यको स्थानीय बासिन्दा र व्यवसायीहरूले प्रशंसा गरेका छन्।
राष्ट्रपति शेख मोहम्मद बिन जायदले आफ्ना नागरिक र बासिन्दाको सुरक्षा राज्यले गर्ने आश्वासन दिएका छन्। साथै, युएईको सुरक्षामा खतरा पुर्याउन खोज्नेहरूका लागि यो कुनै "सजिलो सिकार" नभएको चेतावनी पनि उनले दिएका छन्। दुबईका उच्च अधिकारीहरू पनि सार्वजनिक कार्यक्रमहरूमा सहभागि भइरहेका छन्, जसले जनजीवन सामान्य बन्दै गएको सन्देश दिन्छ। यद्यपि, युएईमा सरकारको सार्वजनिक आलोचना गर्नुलाई असामान्य मानिन्छ। यहाँको कानुनले राज्य वा नेतृत्वको आलोचना गर्ने वा उनीहरूलाई कमजोर देखाउने किसिमका अभिव्यक्तिमाथि कडा प्रतिबन्ध लगाएको छ। अधिकारीहरूले द्वन्द्वसम्बन्धी अप्रमाणित भिडियोहरू अनलाइनमा सेयर गरेमा भारी जरिवाना वा जेल सजाय हुन सक्ने चेतावनी दिएका छन्। बिहीबार मात्रै, दुबईमा इरानी क्षेप्यास्त्रहरूको भिडियो खिचेको आरोपमा एक ६० वर्षीय बेलायती नागरिकमाथि मुद्दा चलाइएको थियो। केही दिन सुनसान रहेका सडकहरूमा फेरि ट्राफिक र मानिसहरूको चहलपहल सामान्य अवस्थामा फर्किन थालेको छ।
विश्लेषकहरूका अनुसार, दुबई र युएईमा यसको दीर्घकालीन प्रभाव अब यो द्वन्द्व कसरी अगाडि बढ्छ भन्ने कुरामा निर्भर गर्छ। "इरान कमजोर हुँदा युएईको आकर्षण झन् बढ्न सक्छ," डेभिडसन भन्छन्। तर यदि त्यहाँको शासन सत्ता यस्तै रहिरह्यो भने खाडीका छिमेकीहरूसँगको तनाव झन् बढ्न सक्ने एक लगानी बैंकरले बताए। उनी भन्छन्, "यो चिन्ताको विषय हो। यदि कुनै बैंक वा वित्तीय संस्था प्रभावित भए भने त्यसले समग्र व्यावसायिक मनोबललाई नै असर गर्न सक्छ।"
बुधवार एउटा इरानी बैंकमा आक्रमण भएपछि, इरानी सेनाले यस क्षेत्रमा रहेका अमेरिका र इजरायलसँग जोडिएका आर्थिक र बैंकिङ संस्थाहरूलाई लक्षित गर्ने धम्की दिएको थियो। त्यसपछि दुबईका धेरै वित्तीय कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई कार्यालय खाली गर्न निर्देशन दिएका थिए। अहिलेका लागि, दुबईका अधिकांश बासिन्दाहरू सतर्क तर आशावादी छन्। उनीहरू भन्छन्— दुबईले यसअघि पनि सङ्कटहरू पार गरिसकेको छ। सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटदेखि सन् २०२० को कोभिड महामारीसम्मका चुनौतीहरूलाई चिर्दै यो सहर झन् बलियो भएर उभिएको छ। "दुबई सधैँ छिट्टै पुरानै लयमा फर्किन्छ," मादद भन्छन्, "लचिलोपन (बाउन्स ब्याक गर्ने क्षमता) युएईको डीएनएभित्रै छ।"