एआईमा फोकस गर्न मेटाबाट २० प्रतिशत कर्मचारी निकालिँदै

Mar 15, 2026 03:20 PM merolagani



न्युयोर्क/सान फ्रान्सिस्को, (रोयटर्स) 
मेटा कम्पनीले आफ्नो कुल कर्मचारीमध्ये २० प्रतिशत वा सोभन्दा बढीलाई हटाउने गरी व्यापक कटौतीको योजना बनाइरहेको छ। यस विषयमा जानकार तीनवटा स्रोतले रोयटर्सलाई यो जानकारी दिएका हुन्।

महँगो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा गरिएको ठूलो लगानीलाई सन्तुलनमा राख्न र एआईको सहयोगले कामदारको कार्यक्षमता बढेसँगै कम जनशक्तिबाटै काम लिन मेटाले यस्तो तयारी गरेको स्रोतको भनाइ छ। स्रोतकाअनुसार, कर्मचारी कटौतीको ठ्याक्कै मिति र कति संख्यामा निकाल्ने भन्ने अन्तिम टुंगो भने लागिसकेको छैन। दुई जना स्रोतका अनुसार मेटाका शीर्ष कार्यकारीहरूले हालै अन्य वरिष्ठ अधिकारीहरूलाई यस योजनाबारे संकेत गर्दै कुन-कुन ठाउँमा कटौती गर्ने भनेर खाका तयार पार्न निर्देशन दिएका छन्। यस विषयमा बोल्ने अधिकार नभएकाले ती स्रोतहरूले आफ्नो नाम खुलाउन चाहेनन्।

यस योजनाबारे सोधिएको प्रश्नको जवाफमा मेटाका प्रवक्ता एन्डी स्टोनले भने, "यो केवल सैद्धान्तिक परिदृश्यमा आधारित अनुमानित रिपोर्टिङ मात्र हो।" यदि मेटाले २० प्रतिशत नै कर्मचारी कटौती गर्ने निर्णय गरेमा, यो सन् २०२२ को अन्त्य र २०२३ को सुरुवातमा गरिएको पुनर्संरचनापछिकै सबैभन्दा ठूलो कटौती हुनेछ। त्यतिबेला कम्पनीले उक्त अवधिलाई "दक्षताको वर्ष" (इयर अफ एफिसियन्सी) नाम दिएको थियो। कम्पनीको पछिल्लो तथ्यांकअनुसार डिसेम्बर ३१ सम्म मेटामा करिब ७९,००० कर्मचारी कार्यरत थिए। कम्पनीले नोभेम्बर २०२२ मा ११ हजार कर्मचारी निकालेको थियो। जुन त्यतिबेलाको कुल जनशक्तिको करिब १३ प्रतिशत हुन आउँथ्यो। त्यसको करिब चार महिनापछि मेटाले थप १० हजार रोजगारी कटौती गर्ने घोषणा गरेको थियो।

जेनेरेटिभ एआईमा जुकरबर्गको ध्यान केन्द्रित

गत वर्षदेखि नै प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले मेटालाई जेनेरेटिभ एआईको क्षेत्रमा बलियो प्रतिस्पर्धी बनाउन जोड दिइरहेका छन्। उत्कृष्ट एआई अनुसन्धानकर्ताहरूलाई आफ्नो नयाँ 'सुपरइन्टेलिजेन्स' टोलीमा भित्र्याउन कम्पनीले ठूलो तलब र सुविधाको प्याकेज अफर गरेको छ। जसमध्ये केही प्याकेज करोडौं डलर बराबरका छन्।

कम्पनीले सन् २०२८ सम्ममा डेटा सेन्टरहरू निर्माण गर्न ६ खर्ब (६०० अर्ब) डलर लगानी गर्ने योजना बनाएको छ। यसै साताको सुरुमा मेटाले एआई एजेन्टहरूका लागि लक्षित गर्दै बनाइएको सामाजिक सञ्जाल प्लेटफर्म 'मोल्टबुक' खरिद गरेको छ। यसअघि रोयटर्सले जनाएअनुसार, चिनियाँ एआई स्टार्टअप 'मानुस' किन्न पनि मेटाले कम्तीमा २ अर्ब डलर खर्च गर्दैछ। एआईमा गरिएको लगानीले कार्यक्षमतामा ल्याएको सुधारतर्फ संकेत गर्दै जुकरबर्गले गत जनवरीमा भनेका थिए, "पहिले ठूला टोली चाहिने परियोजनाहरू अहिले एकजना प्रतिभाशाली व्यक्तिले नै पूरा गर्न सक्ने अवस्था मैले देख्न थालेको छु।"

मेटाको यो योजनाले यस वर्ष प्रमुख अमेरिकी कम्पनीहरू, विशेषगरी प्रविधि क्षेत्रमा देखिएको व्यापक रोजगारी कटौतीको प्रवृत्तिलाई प्रतिविम्बित गर्छ। कम्पनीका उच्च अधिकारीहरूले कर्मचारी कटौतीको मुख्य कारणमध्ये एआई प्रणालीमा हालै भएका सुधारहरूलाई औंल्याएका छन्।

गत जनवरीमा अमेजनले करिब १६ हजार कर्मचारी (कुल जनशक्तिको करिब १० प्रतिशत) कटौती गर्ने पुष्टि गरेको थियो। त्यस्तै, गत महिना फिनटेक कम्पनी 'ब्लक'ले आफ्ना करिब आधा कर्मचारी कटौती गर्‍यो। ब्लकका सीईओ ज्याक डोर्सीले यसको मुख्य कारणका रूपमा एआई उपकरणहरूलाई औंल्याएका थिए। जसले साना टोलीबाटै धेरै काम गर्न मद्दत गरिरहेको उनले बताएका थिए।

मेटाले गत वर्ष आफ्नो 'लामा ४'  मोडेलहरूमा शृंखलाबद्ध प्राविधिक समस्याहरू भोगेको थियो। प्रारम्भिक संस्करणहरूले परीक्षण (बेन्चमार्क) मा भ्रामक नतिजा देखाएको भन्दै कम्पनीको आलोचनासमेत भएको थियो। यसैकारण मेटाले यस गर्मीयाममा सार्वजनिक गर्ने तयारी गरेको उक्त मोडेलको सबैभन्दा ठूलो संस्करण 'बेहेमोथ' लाई रिलिज नगर्ने निर्णय गरेको थियो। यस्ता अवरोधहरूकै बीच मेटाले एआईमा थप लगानी बढाउने योजना बनाएको हो। कम्पनीको गुमेको प्रतिष्ठा पुनःस्थापित गर्न मेटाको 'सुपरइन्टेलिजेन्स' टोलीले यस वर्ष 'एभोकाडो' नामक नयाँ मोडेल निर्माणमा काम गरिरहेको छ। यद्यपि, प्राप्त जानकारीअनुसार उक्त मोडेलको प्रदर्शन पनि अपेक्षा गरिएभन्दा कमजोर नै रहेको छ।