भारतमा ग्यास अभावः बिहान ४ बजेदेखि लाइन, ९५० पर्ने ग्यास ३५ सयसम्म ब्ल्याकमा बिक्री हुँदै

Mar 15, 2026 02:39 PM merolagani



नयाँ दिल्ली:
अमेरिका-इजरायल र इरानबिचको तनावका कारण भारतमा एलपीजी  ग्यासको सङ्कट गहिरिएको छ। मध्य प्रदेश, उत्तर प्रदेश, पन्जाब-चण्डीगढ, हरियाणा र राजस्थानलगायतका राज्यहरूमा ग्यास सिलिन्डर लिनका लागि बिहानैदेखि एजेन्सी र गोदामहरूमा लामो लाइन लागे

एलपीजी सङ्कटका कारण ग्यास सिलिन्डरको कालोबजारी पनि तीव्र रूपमा बढेको छ। सामान्यतया ९५० भारतीय रुपैयाँ पर्ने घरायसी ग्यास सिलिन्डरलाई कालोबजारीमा ३५०० भारतीय रुपैयाँसम्म र २ हजार भारतीय रुपैयाँ पर्ने (व्यावसायिक) सिलिन्डरलाई ५ हजार भारतीय रुपैयाँसम्ममा बेचिँदै छ।

विभिन्न राज्यको अवस्था यस्तो छ:

  • उत्तर प्रदेश: कानपुरका एजेन्सीमा हङ्गामा भएको छ भने मैनपुरीमा ग्यासकै कारण सासु-बुहारीबीच विवाद भएको छ। लगातार छैटौँ दिन पनि ग्यास एजेन्सीबाहिर लामो लाइन छ। बुकिङ गरेर पनि मानिसहरूले समयमा सिलिन्डर पाइरहेका छैनन्। कानपुरमा बिहान ९ बजे 'आज ग्यास पाइँदैन' भन्ने सूचना देखेपछि मानिसहरूले हुलदङ्गा गरेका थिए। पछि प्रहरी पुगेर स्थिति शान्त पारेको थियो। यता मैनपुरीमा सासुले बुहारीलाई कम ग्यास प्रयोग गर्न भनेपछि विवाद हुँदा बुहारी १४ मार्चमा प्रहरी चौकी पुगेकी थिइन्।

  • राजस्थान: एलपीजीपछि अब सिएनजीका लागि पनि लाइन लाग्न थालेको छ। ग्यास अभावले मानिसहरूको घरमा चुलो बलेको छैन। सिएनजी र एलपीजी स्टेसनमा एक-एक किलोमिटर लामो लाइन छ। रातभर स्टेसनबाहिर बस्दा पनि पर्याप्त ग्यास पाइएको छैन।

  • बिहार: पटनामा बिहान ४ बजेदेखि नै लामो लाइन लागेको छ। दानापुर र बगहामा ग्यास आएर पनि वितरण नगरिएको भन्दै आक्रोशित मानिसहरूले सडक अवरुद्ध गरेका छन्।

  • पन्जाब-चण्डीगढ: ग्यासका लागि हाहाकार मच्चिएको छ। मानिसहरू बिहान साढे ४ बजेदेखि नै लाइनमा छन्। अमृतसरमा भाग दौडको स्थिति बन्यो भने जालन्धरमा पनि एजेन्सीबाहिर ठुलो भीड छ। चण्डीगढमा भने प्रहरीको कडा निगरानीमा सिलिन्डर वितरण भइरहेको छ।

  • मध्य प्रदेश: घरायसी सिलिन्डरका लागि मानिसहरू ८ घण्टादेखि लाइनमा छन्। बच्चादेखि वृद्धसम्म कडा घाममा घण्टौँसम्म उभिँदा पनि ग्यास पाउन सकेका छैनन्। ६ दिनदेखि ५० हजारभन्दा बढी होटेल र रेस्टुरेन्टले कमर्सियल सिलिन्डर पाएका छैनन्। जसका कारण उनीहरूले आफ्नो मेनु नै बदल्नुपरेको छ भने कयौँ सडक किनारका ठेला गाडाहरू बन्द भएका छन्।

  • हरियाणा: ग्यासको अभावकै बिच अचानक डिजेलको माग ह्वात्तै बढेको छ। उपभोक्ताहरूले आवश्यकताभन्दा बढी डिजेल भण्डारण गर्न थालेपछि प्रशासनले कडा कदम चालेको छ। पेट्रोल पम्प सञ्चालकहरूलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न र कसैलाई पनि आवश्यकताभन्दा बढी तेल वा सिएनजी नदिन निर्देशन दिइएको छ।

पिएनजी कनेक्सन भएकालाई एलपीजी सिलिन्डर नदिइने
यदि तपाईँको घरमा 'पाइप्ड नेचुरल ग्यास' (पिएनजी ) कनेक्सन छ भने अब तपाईँले आफ्नो एलपीजी सिलिन्डर बुझाउनुपर्नेछ। गहिरिँदो ग्यास सङ्कटका बिच पेट्रोलियम मन्त्रालयले आपूर्ति नियममा ठुलो परिवर्तन गरेको छ। नयाँ आदेशअनुसार, पिएनजी प्रयोगकर्ताले अब नयाँ एलपीजी कनेक्सन पाउने छैनन् र पुरानो सिलिन्डर रिफिल पनि हुनेछैन। सरकारले ९ दिनभित्र आपूर्तिसम्बन्धी ३ वटा नयाँ नियम जारी गरिसकेको छ।

घरायसी ग्यास आपूर्तिका ४ नयाँ नियम:
१. अब एउटै घरमा पिएनजी (पाइप ग्यास) र एलपीजी (सिलिन्डर) दुवै कनेक्सन राख्नु गैर कानुनी हुनेछ।
२. पिएनजी कनेक्सन सक्रिय भएकाहरूले अब एलपीजी सिलिन्डर रिफिल (बुकिङ) गर्न पाउने छैनन्।
३. दुवै सुविधा भएकाहरूले आफ्नो घरायसी एलपीजी कनेक्सन सम्बन्धित विभागलाई तुरुन्तै सरन्डर (फिर्ता) गर्नुपर्नेछ।
४. पिएनजी भएका उपभोक्ताले नयाँ घरायसी एलपीजी कनेक्सनका लागि आवेदन दिन सक्ने छैनन्।

एलपीजी सिलिन्डर बुकिङका नियम तीन पटक परिवर्तन:

  • ६ मार्च: घरायसी एलपीजी बुकिङको 'लक-इन पिरियड' २१ दिन बनाइयो।

  • ९ मार्च: माग बढेपछि सहरहरूमा लक-इन पिरियड बढाएर २५ दिन पुर्‍याइयो।

  • १२ मार्च: ग्रामीण क्षेत्रमा सिलिन्डर बुक गर्ने अन्तर ४५ दिन पुर्‍याइयो।

कनेक्सन नबुझाए कानुनी कारबाही हुन सक्ने
यी नयाँ नियमहरू तत्काल प्रभावबाट लागू भएका छन्। सरकारले पिएनजीको विकल्प भएकाहरूले सिलिन्डर छोडुन् भन्ने चाहेको छ ताकि अन्य विकल्प नभएकाहरूसम्म ग्यास पुग्न सकोस्। शनिवार जारी गरिएको सूचनाअनुसार, दुवै कनेक्सन भएकाहरूले तुरुन्तै नजिकैको एलपीजी डिस्ट्रीब्युटर (वितरक) वा कम्पनीको पोर्टलमा गएर कनेक्सन सरन्डर गर्नुपर्नेछ। सरन्डर गर्दा जरिवाना लाग्ने छैन तर नियम उल्लङ्घन गरेमा कानुनी कारबाही हुन सक्नेछ।

राहतको खबर: होर्मुजबाट निस्किए २ पानीजहाज, ९२ हजार टन ग्यास बोकेर भारत आउँदै
मध्यपूर्वमा जारी तनावका बिच भारतका लागि एउटा राहतको खबर छ। दुई भारतीय एलपीजी क्यारियर (मालवाहक जहाज), 'शिवालिक' र 'नन्दा देवी'ले होर्मुज जलडमरुमार्ग पार गरिसकेका छन्। बन्दरगाह तथा जलमार्ग मन्त्रालयका विशेष सचिव राजेश कुमार सिन्हाका अनुसार यी जहाजहरूले करिब ९२,७०० मेट्रिक टन एलपीजी ल्याइरहेका छन्। यी जहाजहरू १६ र १७ मार्चसम्ममा मुन्द्रा र कान्डला बन्दरगाह पुग्ने अपेक्षा गरिएको छ।

कमर्सियल एलपीजी सिलिन्डरको आपूर्ति सुरु
सरकारले ५ दिनपछि कमर्सियल एलपीजी सिलिन्डरमा लगाएको रोक हटाएको छ। पेट्रोलियम मन्त्रालयले शनिवार जनाएअनुसार देशका २९ राज्य र केन्द्र शासित प्रदेशहरूमा कमर्सियल सिलिन्डरको वितरण फेरि सुरु गरिएको छ। सरकारले गत मार्च ९ मा यसको आपूर्तिमा रोक लगाएको थियो।

इरानको अडान: भारतीय जहाजहरूलाई रोकिने छैन
भारतका लागि इरानका सर्वोच्च नेता अली खामेनीका प्रतिनिधि अब्दुल माजिद हकिम इलाहीले युद्धको बाबजुद पनि भारतीय जहाजहरूलाई होर्मुज मार्गबाट सुरक्षित आवतजावत गर्न दिइने आश्वासन दिएका छन्। उनले भने, "हामी भारतको ऊर्जा आवश्यकतालाई बुझ्छौँ। भारतका जनता ग्यास र पेट्रोलको अभाव झेलिरहेका छन् भन्ने हामीलाई थाहा छ, त्यसैले