आगामी असार मसान्तभित्र १५ कम्पनीको लकिङ पिरियड सकिँदै, बजारले धान्ला त सप्लाई ?

Mar 15, 2026 05:40 PM Merolagani



चालु आर्थिक वर्षको अन्त्यसम्म १५ वटा कम्पनीको लकिङ पिरियड सकिँदैछ । जेनजी आन्दोलनपछि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाईको सरकार बन्ने क्रममा रहेको बेला पछिल्लो समय शेयर बजार पनि उकालो लाग्ने क्रममा देखिएको छ ।

लकिङ सकिन लागेका कम्पनीमा अधिकांश हाइड्रोपावर कम्पनी संलग्न छन् । त्यसबाहेक सञ्चार, सिमेन्ट र होटलसम्बद्ध कम्पनीको पनि लकिङ अवधि खुला हुँदैछ। लकिङ खुल्दै गर्दा त्यसले बजारमा थप शेयरको आपूर्ति दिने हुँदा सकारात्मक हुँदै गरेको बजारमा नकारात्मक असर पर्न सक्ने आशंका गरिएको छ ।

निर्वाचन लगत्तैको कारोबार दिन ६ प्रतिशत बढेर बन्द भए पनि त्यसपछिको दुई कारोबार दिनमा भने नेप्से परिसूचक झन्डै ५० प्रतिशतले घट्यो । तेस्रो कारोबार दिनदेखि भने नेप्सेमा पुनः हरियो रंग देखिन थाले पनि पहिलो दिनको जस्तो तेजी देखिंदैन तर कारोबार रकममा भने निरन्तर जस्तै १० अर्ब रुपैयाँ भन्दा माथि कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकले लगानीकर्ताले माग गरे बमोजिम मार्जिन कर्जाको सीमा हटाउनेदेखि लिएर बैंक तथा वित्तीय संस्थाले शेयर खरिद गर्ने विषयमा समेत खुकुलो नीति लिँदा समेत उकालो लाग्न नसकेको बजारमा राजनीतिक अस्थिरतालाई लगानीकर्ताले बजार नबढ्नुको कारणको रुपमा विश्लेषण गर्ने गरेका थिए ।

अर्काथरी लगानीकर्ता भने पछिल्लो समय बजार नबढ्नुमा पर्याप्त तरलता, न्यून ब्याज दर, स्थिर सरकार बन्ने आशा भन्दा पनि बढ्दो शेयरको आपूर्तिलाई दोष दिने गरेका छन् । पछिल्लो केही दिनदेखि मध्यपूर्वमा व्याप्त तनावका कारण पनि केही लगानीकर्ता प्रभावित भए पनि सेबोनले शेयरको आपूर्ति बढाउन हरेक हप्ताजसो अनुमति दिने आईपीओ तथा हकप्रदलाई बजार बढ्नुको बाधकको रुपमा लिने गरेका छन् । त्यसैगरी बैंक तथा बीमा कम्पनी बाहेकका कम्पनीहरुले आईपीओ बाँडफाँट भएको ३ वर्षपछि संस्थापक शेयर पनि साधारण सरह कारोबार गर्न मिल्छ । साधारणतया कम्पनीले आईपीओको अनुमति पाउँदा जारी पुँजीको २० देखि ४९ प्रतिशतसम्म मात्रै अनुमति पाउने गर्दछ । बाँकी शेयर संस्थापकसँग हुन्छ । पछिल्लो समय यी संस्थापक शेयरको आपूर्तिले पनि बजार बढाउन नसकेको बताउने लगानीकर्ताको पनि कमी छैन ।

यही चैत्र महिना मात्रै ३ वटा हाइड्रोपावर कम्पनीको लकिङ अवधि सकिँदैछ । सबैभन्दा अगाडि सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको लकिङ अवधि सकिँदैछ । कम्पनीको मार्च २१ गते अर्थात चैत्र ७ गते लकिङ अवधि सकिन लागेको हो । सानिमा माइ हाइड्रोपावरको मुख्य लगानीमा स्थापना भएको यो कम्पनीमा ३० प्रतिशत सर्वसाधारण र ७० प्रतिशत संस्थापक लगानी रहेको छ ।

त्यसैगरी, सगरमाथा जलविदुत कम्पनीको चैत्र १६ गते लकिङ खुल्दैछ । यो कम्पनीमा ४० प्रतिशत सर्वसाधारण र ५१ प्रतिशत संस्थापक शेयरधनीको लगानी रहेको छ । त्यस्तै मकर जितुमायण सुरी हाइड्रोपावरको लकिङ पिरियड चैत्र २८ गते सकिँदैछ। यसमा पनि संस्थापकको ७० प्रतिशत लगानी छ ।

त्यसैगरी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, डोल्टी पावर कमपनी, मेन्छियम हाइड्रोपावर, माइखोला हाइड्रोपावर, इङवा हाइड्रोपावर, मोदी इनर्जी, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड र अप्पर स्याङगे हाइड्रोपावरको लकिङ खुल्दैछ ।

त्यस्तै, होटल क्षेत्र अन्तर्गत सिटी होटल, उत्पादनमूलक समूह अन्तर्गत घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेड तथा अन्य समूह अन्तगर्तत रहेको नेपाल रिपब्लिक मिडिया लिमिटेडको पनि लकिङ अवधि समाप्त हुँदैछ ।




समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।