मंगलबार सूचक २,९६०.४० अंकमा उक्लिएसँगै लगानीकर्ताहरूमा एउटै प्रश्न छ, के यस पटक ३,१९८ को ऐतिहासिक रेकर्ड तोडिएला ? तथ्यांक र बजारको मनोविज्ञानलाई केलाउँदा, यस पटकको वृद्धि केवल अंककाे दौड मात्र होइन, बरु मुलुकमा आएको ठुलो राजनीतिक परिवर्तन प्रतिको भरोसा पनि हो।
२०७८ भदौ २ गते नेपालको शेयर बजारका लागि 'स्वर्ण अक्षर'ले लेखिएको दिन थियो। कोभिड-१९ को महामारीले मुलुक आक्रान्त भएको बेला,अन्य लगानीका क्षेत्र ठप्प हुँदा सारा पूँजी शेयर बजारमा केन्द्रित भयो। सोही दिन नेप्से सूचकले आफ्नो इतिहासकै सबैभन्दा उच्च बिन्दु ३,१९८.६० अंक छोएको थियो। तर, त्यो खुसी धेरै दिन टिक्न सकेन। सूचक तीव्र गतिमा घट्न थाल्यो। सोही वर्षको माघ ३ गते केही सुधार हुँदै सूचक २,९४७.३८ अंकसम्म उक्लियो। जुन त्यस बेलाको अन्तिम ठुलो प्रयास थियो। त्यसपछिका वर्षहरू लगानीकर्ताका लागि निकै कष्टकर रहे। २,९४७ को बिन्दु फेरि भेट्न बजारले ४ वर्ष २ महिना ७ दिन लामो प्रतीक्षा गर्नु पर्यो। अर्थात्, झण्डै ५० महिनापछि मात्रै नेप्से पुनः सोही बिन्दुको वरिपरि आइपुगेको छ।

३,१९८ को रेकर्ड पछ्याउने क्रममा नेप्सेले विगतमा दुई पटक ठूला प्रयासहरू गर्यो। तर दुवै पटक असफल भयो। २०८१ साउन ३१ गते सूचक ३,०००.८१ अंकसम्म पुग्यो। तर, त्यहाँ टिक्न सकेन र बजार पुनः 'करेक्सन' मा गयो। २०८२ साउन ३ गते दोस्रो पटक प्रयास गर्दै सूचक ३,००२.०७ अंकसम्म उक्लियो। यस पटक पनि पुरानो रेकर्ड तोड्न आवश्यक बल पुगेन र बजार फेरि ओरालो लाग्यो।
मंगलबारको कारोबार (२०८२ चैत १०) सम्म आइपुग्दा सूचक २,९६०.४० अंकमा छ। प्राविधिक रूपमा हेर्दा बजारले बारम्बार ३ हजारको बिन्दुमा ठक्कर खाएर फर्किरहेको छ। तर, यस पटकको 'भोल्युम' (कारोबार रकम) र बजारको प्रवृत्तिले पहिलेका असफलताहरूलाई बिर्साउने संकेत गरिरहेको छ।
यति बेला बजार बढ्नुको सबैभन्दा ठूलो कारण आर्थिक सूचकभन्दा पनि राजनीतिक परिणाम देखिएको छ। प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २७५ सिटमध्ये १८२ सिटसहित 'दुई तिहाइ' नजिकको बहुमत ल्याउनुले लगानीकर्तामा अभूतपूर्व उत्साह जगाएको छ।विशेष गरी, आउँदो १३ गते बालेन्द्र शाह (बालेन) मुलुकको नयाँ प्रधानमन्त्री बन्दै छन् भन्ने खबरले बजारमा 'सेन्टिमेन्ट' परिवर्तन गरिदिएको छ। युवा नेतृत्व, सुशासनको आशा र नीतिगत स्थिरताको अपेक्षाले गर्दा ठुला लगानीकर्ताहरू पनि बजारमा आक्रामक रूपमा प्रवेश गरेका छन्। शेयर बजारले सधैँ स्थिरता खोज्छ, र अहिलेको चुनावी नतिजाले ५ वर्षसम्म स्थिर सरकार चल्ने सुनिश्चितता दिएको छ। जसको प्रत्यक्ष प्रभाव नेप्सेमा देखिएको हो।
मंगलबारको अन्तिम सूचक २,९६०.४० अंक हो। इतिहासकै सर्वाधिक उच्च बिन्दु ३,१९८.६० अंक हो। अब ऐतिहासिक रेकर्ड तोड्न नेप्से अझै २३८.२० अंक बढ्नु पर्नेछ। प्रतिशतको हिसाबले हेर्दा अहिलेको बिन्दुबाट नेप्से थप ८ दशमलव शून्य ४ प्रतिशत (८.०४%) ले वृद्धि भएमा मात्र ३,१९८ को रेकर्ड तोडिनेछ। पछिल्लो समय दैनिक १ प्रतिशतदेखि २ प्रतिशतको हाराहारीमा बजार बढिरहेको ट्रेन्डलाई हेर्ने हो भने, यदि कुनै ठुलो नकारात्मक अवरोध आएन भने आगामी १० देखि १५ कारोबार दिनभित्रै नेप्सेले नयाँ रेकर्ड बनाउन सक्ने प्राविधिक सम्भावना देखिन्छ।
प्राविधिक चार्टलाई केलाउँदा केही महत्त्वपूर्ण संकेतहरू देखिन्छन्। चार्टमा नेप्सेले लामो समयदेखिको 'कन्सोलिडेसन' पछि एउटा बलियो यात्रा तय गरेको देखिन्छ। अघिल्ला साना डाँडाहरू (रेसिस्टेन्स लेभल ) लाई यसले पार गरिसकेको छ। मंगलबारको कारोबार रकम १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ भन्दा बढी छ। तीन करोड ५८ लाख भन्दा बढी कित्ता शेयर कारोबार हुनुले बजारमा 'लिक्विडिटी' (तरलता) प्रचुर मात्रामा रहेको देखाउँछ। जब कारोबार रकम बढेर सूचक बढ्छ। त्यसलाई 'दिगो वृद्धि' मानिन्छ। बजार पूँजीकरण ५० खर्ब १८ अर्ब रुपैयाँ नाघेको छ। यो नेपाली अर्थतन्त्रको आकार बराबरकै पूँजीकरण हुनुले बजार निकै परिपक्व भएको संकेत गर्दछ।आज १३६ कम्पनीको मूल्य बढेको छ भने ११७ को घटेको छ। यसले बजारमा अझै पनि छनोटपूर्ण लगानी भइरहेको देखाउँछ। जुन स्वास्थ्यकर बजारको लक्षण हो।
अहिलेको ट्रेन्डलाई 'बालेन इफेक्ट' सँग जोडेर हेर्दा बजारले रेकर्ड तोड्ने सम्भावना निकै बलियो छ। प्राविधिक चार्टमा देखिएको 'हायर हाई र हायर लो' को संरचनाले बजार अझै माथि जाने ठाउँ प्रशस्त रहेको देखाउँछ। यसअघि ३ हजार अंकमा पुगेर बजार रिजेक्ट हुनुमा बैंक ब्याजदर र नीतिगत अन्यौलता थियो। तर अहिले बैंकहरूमा अधिक तरलता छ र नयाँ आउने सरकारले निजी क्षेत्र र पूँजी बजारलाई प्राथमिकता दिने विश्वास छ। नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण (चैत १३) अगाडि नै बजारले ३ हजारको मनोवैज्ञानिक तहलाई बलियोसँग टेकेर अघि बढ्न खोजेको देखिन्छ।
नेपाली शेयर बजार इतिहासको एउटा महत्त्वपूर्ण अध्याय लेख्ने तरखरमा छ। कोभिडको बेला बढेको बजार 'भावना' मा बढेको थियो भने अहिलेको बजार 'स्थिरता र सुशासनको आशा' मा बढेको छ। ४ वर्ष २ महिनाको लामो पर्खाइ पछि बजारले पुनः ३ हजारको नजिक आएर आफ्नो शक्ति प्रदर्शन गरेको छ। मंगलबारको १४ अर्ब माथिको कारोबार र २,९६० को सूचकले देखाएको छ कि अबको गन्तव्य ३,१९८ नै हो। केवल ८ प्रतिशतको वृद्धिको दुरीमा रहेको ऐतिहासिक रेकर्डलाई 'नयाँ राजनीतिक नेतृत्व'ले ऊर्जा दिने निश्चित छ। यद्यपि, लगानीकर्ताहरूले १३ गते पछि बन्ने सरकारका आर्थिक नीतिहरूलाई भने चनाखो भएर हेर्नु पर्नेछ। यदि सरकारले पूँजी बजारमैत्री नीतिहरू ल्याएमा नेप्सेले ३,१९८ मात्र होइन, ३,५०० को नयाँ उचाइ चुम्ने सम्भावनालाई नकार्न सकिँदैन।