सरकारमा हुने ढुल्मुले प्रवृतिले आम लगानीकर्ताहरु डराउने गरेका थिए । बजारमा आउन सक्ने पैसा पनि आएको थिएन । अब स्थायी सरकार बन्ने भएको छ । लगानीको वातावरण हुने अवस्था छ । कम्तीमा ५ वर्षको लागि स्थिरता हुने छ । छोटो अवधिमा नीतिगत परिवर्तन हुँदैन भनेर लगानीकर्ता ढुक्क भएको देख्न सकिन्छ ।
अर्कोतर्फ अहिले बजारमा तरलताले पनि साथ दिएको छ । अहिलेको परिस्थितीमा लगानीका दायराहरु खुम्चिएका छन् । नेपाल राष्ट्र बैंकले गर्ने सुधारात्मक कामहरु क्रमशः गर्दै आएको छ । नेपालको शेयर बजारमा अझै पनि बैंक तथा वित्तीय संस्थाहरुको नै बाहुल्यता रहेको छ । त्यसैले गर्दा राष्ट्र बैंकले लिने नीतिले बजारमा प्रत्यक्ष रुपमा प्रभाव पर्ने गरेको हो । अहिले राष्ट्र बैंक क्रमशः लचिलो भएको र तरलताको पूर्ण उपयोग गर्न सकिने अवस्था भएकोले लगानीकर्ताहरू दोस्रो बजार प्रति उत्साहित भएका छन् ।
लामो समयदेखि बजार २५ सय देखि ३ हजारको विन्दुमा साइडवेजमा चलेको थियो । अहिले ३ हजार वरपरको सप्लाई जोनमा छ । यो बृद्धि कत्तिको बलियो हो ?
अहिले नेप्सेमा आएको बृद्धिमा कुनै शंका उपशंका गर्नु पर्दैन । यो प्राकृतिक बृद्धि हो । दोस्रो बजारमा नयाँ कम्पनीहरु थपिने क्रम जारी छ । जसले गर्दा सूचक बृद्धि भएको देखिन्छ । यदि बजारमा कम्पनीहरु नथपिएको भए बजार २२-२३ सयकाे विन्दु तर्फ नै हुने थियो । बजारमा थप भएका कम्पनीहरुले सूचकमा ५–६ सय अंक बृद्धि हुन योगदान पुर्याएको छ ।
पछिल्लो बृद्धिले कारोबार रकम सहित सूचकमा समेत बृद्धि भएको छ । तर लगानीकर्ताले सूचक बढ्यो/घट्यो भन्दा पनि आफ्नो कस्ता कम्पनीमा लगानी रहेको छ भन्ने कुरामा बढी सचेत हुनुपर्छ । लगानीकर्ताले कम्पनी हेरेर लगानी गर्यो भने लगानी डुब्दैन। इन्डेक्स त भोलि २५ सयमा भएपनि राम्रा कम्पनी बढिरहेका हुन्छन् । नेप्से सूचक बढ्यो/घट्यो भनेर उत्साह हुने वा दुखी हुने भन्दा बजार र लगानी गर्दै गरेको कम्पनीको विषयमा राम्रोसँग अध्ययन गरेर लगानी गर्दा राम्रो हुन्छ । बजारले लामो समयदेखि परिक्षण गरेको छ । यो अहिलेको बजार प्रकृतिक रुपमा नै बढ्न सुरु गरेको छ । नेप्से निरन्तर बढ्छ । नयाँ उचाई बनाउँछ भन्ने हुँदैन । तर अहिलेको बढाई दीगो छ । बलियो आधार सहित बजार बढेको छ ।
मंगलबारको बजारलाई नै सन्दर्भ लिएर तपाईलाई प्रश्न गर्नुपर्दा अन्तिमको ५ मिनेट भित्रमा कुनै एक कम्पनी बढाएर सूचमा राम्रो वृद्धि देखियो । तर अधिकांश लगानीकर्ताको पोर्टफोलियो रातो छ । यसलाई हामी के भनेर बुझ्न सकिन्छ ?
बजारमा यस्तो हुन्छ । नेप्सेमा सूचीकृत भएका कतिपय थोरै पब्लिक शेयर भएका तर बजारको पूँजीकरण धेरै भएका कम्पनीले गर्दा सूचकमा भोलाटायल हुन्छ । यस्तो हुँदा लगानीकर्ताको पाेटफोलियाेको अवस्था र सूचकमा देखिएको उतारचढाव फरक हुन्छ । यस्तो बेलामा लगानीकर्ताहरुले सूचक घट्नु/बढ्नुमा के कस्तो कम्पनीहरु कसरी चलेका छन् भन्ने कुराको ख्याल गर्नु पर्छ ।
उदाहरणको लागी मंगलबारको बजारको नै कुरा गर्दा बजार पूँजीकरण धेरै भएका कम्पनीहरूले गर्दा बजार २३ अंकको वृद्धि भयो । तर धेरै लगानीकर्ताको पोर्टफोलियो रातो भयो होला । त्यसको बृद्धिले केही अर्थ दिँदैन । त्यसैले सूचकमा हुने रातो र हरियोको वास्ता गर्नु हुँदैन । कम्पनी कस्तो छान्ने भन्ने कुरा अध्ययन गर्नु पर्छ । अहिले दोस्रो बजारमा भएको सेक्टर अनुसार भन्नुपर्दा हाइड्रो कम्पनीहरुको औसत मूल्य ५ सय बढी होला । बैंकिङ र इन्स्योरेन्स बाहेक अरू सेक्टरका कम्पनीहरु हजार माथि नै छन्। त्यसैले इन्डेक्सले भन्दा कम्पनीले धेरै महत्त्व राख्छ ।
लगानीकर्ताले कम्पनी छनोटका सम्भावनाहरू कसरी पहिचान गर्ने ?
लगानीकर्ताहरुले बजारको अध्ययन गरेर लगानीको र नाफा हुने सम्भावनाहरु पहिचान आफ्नो आवश्यकता अनुसारको निर्धारण गर्नु पर्ने हुन्छ । बजारमा कोही छोटो अवधिको रणनीतिमा लगानी गरिएको हुन्छ । कुनै वर्षौं बजारमा राख्ने सोच सहित लगानी गरिएको हुन्छ । संस्थागत लगानीकर्ताले फरक सोच बनाएका हुन्छन् । यसमा सबैको लाभमा एकरुपता नहुन पनि सक्छ । तर सिधा रुपमा भन्नुपर्दा कम्पनीले दिने प्रतिफललाई हेर्नु पर्छ । हाम्रो बजारमा अहिले ट्रेडरहरू बढी हाबी छन् । त्यस्तो लगानी १० देखि १५ दिन वा महिना दिनको होल्डिङ हुन्छ। त्यसैले कम्पनी बलियो छान्नुपर्छ ।
नयाँ सरकार बन्दैछ । यसैमा उत्साहित भएर सूचक बढेको तर्कहरू आउने गरेको छ ।
नयाँ बन्ने सरकारलाई लगानीकर्ताले किन यसरी विश्वास गरे ?
सरकार प्रतिको विश्वास अरु क्षेत्रले भन्दा शेयर बजारले छिटो प्रतिकृया जनाएको हुन्छ । अहिले पनि लगानीकर्ताहरु उत्साहित भएका छन् । विगतका सरकारले भन्दा अब बन्ने सरकारले चुनावी अभियानमै पुँजी बजारलाई प्राथमिकतामा राखेर नागरिकसँग करार गरेको छ । रास्वपाले पूँजी बजारलाई विस्तार गर्ने, सुशासन ल्याउने र बजारमैत्री बनाउने प्रतिवद्धता गरेको छ। अहिले लगानीकर्ताको सेन्टिमेन्ट त्यसैको आधारमा हो । अब नीतिगत सुधार कसरी गर्छन्?, वर्षौँदेखि अड्किएका नियम कानुन कसरी संशोधन गर्छन्, त्यो हेर्न बाँकी छ । तर बलियो सरकार बन्ने भएको छ । यसले बजारमा सरकार ढल्ने/बन्ने हल्लाले प्रभावित हुँदैन । उनीहरुले लिने नीतिगत व्यवस्थाहरु स्थिर हुने छ र लगानीको वातावरण बन्ने छ भन्ने विश्वासमा लगानीकर्ताहरु उत्साहित भएका छन् ।
अब बन्ने सरकारले बजार सुधारका लागि पहिलो चरणमै गर्नुपर्ने कामहरू के के हुन् ?
अब बन्ने सरकारले पूँजी बजार विस्तारको लागि गर्नुपर्ने धेरै कुराहरु छन् । नयाँ सरकारले पहिलो चरणमा नै गर्नुपर्ने बजारको दायरा फराकिलो पार्नुपर्यो । अहिले नेपालको अर्थतन्त्र सुस्त छ । तत्काल आर्थिक क्षेत्रलाई चलायमान बनाउने पूँजी बजार राम्रो उपकरण हो। यसबाट सरकारले पनि राम्रो राजस्व पाउँछ । नेपालको बजारमा गैर आवसिय नेपाली (एनआरएन) ल्याउने कुरा योजनामा मात्रै सिमित छ ।
एनआरएनलाई बजारमा ल्याउनको लागि सहज वातावरण बनाउनु पर्छ । संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्यो। संस्थागत लगानीकर्ताहरुले बैंकमा ३ प्रतिशत ब्याज खाएर पैसा थुपारेका छन् । त्यो पैसा बजारमा लगाए त दुई–तीन गुणा कमाउन सकिन्छ । नेपाल धितोपत्र बोर्डले बजार सुधारका फाइलहरू चाङ लगाएर राखेको छ । ति फाइलहरुलाई खोल्नु पर्यो । बजारमा लगानी गर्न सहज वातावरण सिर्जना गर्नु पर्यो ।

पछिल्लो समय धितोपत्र बोर्ड सक्रिय भएको छ । बोर्डले अफलाइन अर्डर, इन्ट्राडे, म्युचुअल फण्डको लक खुला गर्ने कुरामा चासो दिएको छ । यसले बजारमा के प्रभाव पार्छ?
पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बजारमा डिमाण्ड एण्ड सप्लाईलाई सन्तुलनमा ल्याउने गरी कदम चाल्नु पर्ने हुन्छ । म्युचुअल फण्डको लकिङले सप्लाई बढाउँछ । बजारमा अत्याधिक सप्लाई आएपछि लगानीकर्ताहरुको अनुरोधमा नै फण्डहरुको शेयर लक गर्ने व्यवस्था गरिएको हो ।
यसमा इन्ट्राडे कारोबारको लागि प्राविधिक रुपमा कति तयार हुनु पर्ने हुन्छ । यस्तो प्रकारको कारोबारले पनि बजारमा सप्लाई बढाउने छ । बजारमा पूँजी बजारलाई जुवा घर जस्तो बनाउने जोखिम रहन्छ । त्यसको सम्बन्धमा नियामकहरुको तयारी कस्तो छ । इन्ट्राडे कारोबारको लागि अटोमेटेड सिस्टम र बैंक खातासँग लिंक हुनुपर्छ। हाम्रो बजार अझै त्यति परिपक्क भएको छैन। अहिले ब्रोकरको लिभरेजले बजार पोजेटिभ छ । तर क्यास–टु–क्यास कारोबारका लागि नयाँ लगानीकर्ता र बिग मनी आउनुपर्छ । अनि मात्रै इन्ट्राडे जस्तो कारोबार प्रभावकारी हुनेछ । अफलाइन अर्डरले बजारमा समय दिन नसक्नेहरुले आदेश गरेर आफ्नो काममा लाग्न सहज हुन्छ । बजारमा कुनै पनि कुरा हचुवाको भरमा होइन । त्यसलाई पूर्ण रुपमा तयारी गरेर लागु गरियो भने त्यसको सकारात्मक रुपमा भुमिका निर्वाह गर्ने छ ।
मार्जिन लेन्डिङका कुराहरू आएका छन् । निर्देशिका पनि बन्यो तर कार्यान्वयन भएको छैन। अब केही दिनमा लगानीकर्ताले त्यसको सुविधा पाउने गरी तयारी भएको सरोकारवालाहरुको भनाईछ । के यसले बजारलाई भाइब्रेट गराउला ?
मार्जिन लेन्डिङको सुविधा लगानीकर्ताहरुले वर्षौ देखि माग गर्दै आएको हो । ब्रोकरबाट नै कर्जाको सुविधा पाउने भएपछि बजार चलायमान हुने अनुमान गर्न सकिन्छ । मार्जिन लेन्डिङका लागि पैसा चाहियो। ब्रोकरको फण्डले सानो परिणाम धान्ला वा के हुन्छ भन्ने कुरा हेर्नै बाँकी छ । बजारमा हुने डिमान्ड साइडलाई सपोर्ट गर्न ५–६ खर्बको कोष आवश्यक छ । संस्थागत लगानीकर्ता जस्तोः सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषसँग खबौं पैसा छ । जुन बैंकमा ४–५ प्रतिशतमा ब्याजदरमा थन्किएको छ । त्यो पैसालाई एउटा विश्वसनीय निकायमार्फत बजारमा ल्याउनुपर्छ। १४ प्रतिशत ब्याजमा लोन लिएर लगानी गर्दा पनि मान्छे डुब्दैनन् यदि लगानीको राम्रो वातावरण भयो भने ।
मार्जिन लेन्डिङको सम्बन्धमा अहिले बनेको निर्देशिका अनुसार ठूला लगानीकर्ताले ब्रोकरबाट पाउने कर्जा पर्याप्त हुँदैन । त्यसै त्यसलाई सहज गराउनु पर्छ । बैंकबाट पनि सो प्रकृतिको कर्जा वितरण हुने र ब्रोकरले पनि गर्दा बैंकको सस्तो ब्याज तर्फ लगानीकर्ताहरु आकर्षित हुँदा प्रभावकारी हुँदैन कि भन्ने छ । त्यसमा सरोकारवालाहरुले समयमा नै सोच विचार गर्न जरुरी छ ।
बाँकी भिडियोमाः