राष्ट्रपतिद्वारा बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

Mar 27, 2026 10:33 AM Merolagani



राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम रहेकाे छ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह दिउँसो १२ः३४ बजेका लागि तय भएको छ। प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गर्ने तयारी छ।