दुई दिनमा नै शेयर बजारले घटेर सेन्चुरी मारेपछि अब के हुन्छ ?

Mar 30, 2026 05:17 PM Merolagani



सुवास निरौला 

शेयर बजार (नेप्से) मा पछिल्ला दुई कारोबार दिनदेखि सुरु भएको गिरावटको शृङ्खला सोमबार थप तीव्र बन्यो। मुलुकले नयाँ प्रधानमन्त्री र नयाँ सरकार पाएको खुसीयालीमा बजार बढ्ने अपेक्षा गरिए पनि लगानीकर्ताहरूले भने उल्टो प्रतिक्रिया दिए। 

आइतबारको भारी गिरावटपछि सोमबार पनि नेप्से परिसूचक ४७.७१ अंक (१.६५ प्रतिशत) ले घटेर २८३१.३९ विन्दुमा ओर्लियो। साताको पहिलो दिन आइतबार नेप्सेमा ७१.०६ अंकको पहिरो गएको थियो। सोमबार थप ४७.७१ अंकको गिरावट आएसँगै दुई कारोबार दिनमै बजारले ११८.७७ अंक गुमाएको छ। शेयर बजारको भाषामा यसलाई घटेर ‘सेन्चुरी’ मारेकाको रूपमा हेरिएको छ। नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र पूँजी बजारमैत्री कदम चालिने आसमा रहेका लगानीकर्ताहरू यति बेला एकाएक अत्तालिएका छन्।

सोमबार २ करोड ९४ लाख ९६ हजार २०३ कित्ता शेयर १ लाख ५० हजार ५२ पटक खरिद-बिक्री हुँदा कुल १२ अर्ब १० करोड ५९ लाख ८४ हजार १८३ रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा आएको यो पहिरोले लगानीकर्ताको अर्बौँ रुपैयाँ  स्वाहा पारिदिएको छ। आजको कारोबारमा केवल १७ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने २४८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ३ कम्पनीको मूल्य भने स्थिर रह्यो।

बजार यसरी एकाएक किन घट्यो भन्ने विषयमा शेयर बजारका अनुभवी लगानीकर्ता र सरोकारवाला निकायका प्रतिनिधिहरूको फरक-फरक तर गम्भीर विश्लेषण छ। अनुभवी लगानीकर्ता केशव कोइराला (काका) हालको गिरावटलाई बजारको स्वाभाविक ‘करेक्सन’ र ‘ओभर सप्लाई’ को परिणाम मान्छन्। उनी भन्छन्, "हामीले हेर्नुपर्छ, फागुनको दोस्रो हप्तातिर नेप्से परिसूचक २५९५ देखि २५९८ को विन्दुमा थियो। नयाँ सरकार आउने,स्थिर सरकार बन्ने र युवा नेतृत्वले आर्थिक बागडोर सम्हाल्ने आसमा बजार त्यहाँबाट करिब ३७५ अंकले बढेर ती हजारको नजिक पुग्यो। कुनै पनि बजार लगातार बढिरहन सक्दैन। त्यसैले यो गिरावट एउटा करेक्सन हो।"

कोइरालाका अनुसार बजारको वास्तविक समस्या भनेको शेयरको अत्याधिक आपूर्ति हो। "बजारमा शेयरको सप्लाई  यति धेरै छ कि त्यसलाई धान्न सक्ने माग सिर्जना हुनै सकेको छैन। सोही कारण बजार घटेको हो। तर बजार सधैँ घटिरहँदैन। करेक्सनपछि बजार फेरि ‘एकुमुलेसन’  प्रक्रियामा जान्छ र माथितिर लाग्छ। तर, यसका लागि राज्यले ठोस कदम चाल्नुपर्छ। उनले थपे, "सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने कुराले केही तरंग ल्याएको भए पनि बजारको विकासका लागि ओभर सप्लाई नियन्त्रण गर्ने र लगानीकर्ताको हित बुझ्ने नेतृत्व धितोपत्र बोर्डमा ल्याउनै पर्छ। अनि मात्रै बजार बढ्छ"

यता नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल भने लगानीकर्तामा देखिएको मनोवैज्ञानिक त्रास र नाफा सुरक्षित गर्ने प्रवृत्तिलाई बजार घट्नुको मुख्य कारण ठान्छन्। उनी भन्छन्, "बजार बढ्न थालेपछि लगानीकर्ताले नाफा बुक गर्न खोज्नु स्वाभाविक हो। तर,अहिले केही अन्य कारणहरूले लगानीकर्ताको मनोबल खस्किएको छ। राजनीतिमा देखिएको नयाँ तरंग, आन्दोलनका कुराहरू र सरकारले १५ दिनभित्र सम्पत्ति शुद्धीकरण सम्बन्धी छानबिन आयोग बनाउने भनेपछि केही ठुला लगानीकर्ता तर्सिएको जस्तो देखिन्छ।"

यद्यपि, ढकाल शेयर बजारमा ‘ब्ल्याक मनी’ आउँछ भन्ने कुरालाई पूर्णतः अस्वीकार गर्छन्। उनी दाबी गर्छन्, "हाम्रो पूँजी बजारमा केवल ‘ह्वाइट मनी’ (पारदर्शी पैसा) मात्र लगानी भएको छ। हामीले प्रत्येक शेयर खरिद-बिक्रीमा चेक र पेमेन्ट बैंकमार्फत गर्छौँ। राज्यलाई पूँजीगत लाभकर  तिरिरहेका छौँ। त्यसैले सम्पत्ति शुद्धीकरणको कुराले डराउनुपर्ने कुनै कारण छैन। लगानीकर्ताहरू नीतिगत स्पष्टताको पर्खाइमा हुँदा बजारमा यस्तो तरंग देखिएको हो।"

प्राविधिक चार्टलाई विश्लेषण गर्दा नेप्से परिसूचक ३००० को नजिक पुगेर ‘रेसिस्टेन्स’ (अवरोध) सामना गरेको देखिन्छ। चार्टमा देखिने लामा राता क्यान्डलहरूले बजारमा ‘बियरिस सेन्टिमेन्ट’ (घट्दो प्रवृत्ति) हाबी भएको संकेत गर्छन्। परिसूचक २८३१ को विन्दुमा आइपुग्दा यसले अब आफ्नो ‘सपोर्ट लेभल’ (टेवा विन्दु) खोजिरहेको देखिन्छ।

शेयर बजार यति बेला नीतिगत स्पष्टताको पर्खाइमा छ। अनुभवी लगानीकर्ताहरूले भनेझैँ बजारमा शेयरको आपूर्ति अत्यधिक हुनु र अर्कोतर्फ सम्पत्ति शुद्धीकरण जस्ता विषयले त्रास फैलाउनुले बजारलाई लय समात्न कठिन बनाइरहेको छ।

लगानीकर्ता कोइरालाले भनेझैँ, "अब राज्य बोल्नुपर्छ, नियामक बोल्नुपर्छ।"  करेक्सनपछिको बजार फेरि उकालो लाग्ने अपेक्षा गरिए पनि सरकारको आगामी आर्थिक नीति र नियामक निकायको सक्रियताले नै शेयर बजारको दिशा तय गर्नेछ। अहिलेको अवस्थामा लगानीकर्ताहरूले संयमित भएर बलियो वित्तीय अवस्था भएका कम्पनीहरूमा लगानी केन्द्रित गर्नु र हल्लाको पछाडि नलाग्नु नै बुद्धिमानी हुने विश्लेषण जानकारहरूको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।