गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक शेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

Apr 01, 2026 05:27 PM merolagani



स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक शेयर नेप्सेमा सूचीकृत गरिदिन माग गरेको छ ।

धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका अनुसार आईपीओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण शेयर एकैपटक नेप्सेमा सूचीकृत गर्नुपर्ने भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले साधारण शेयर मात्रै अभौतिकीकरण गरेर संस्थापक शेयरलाई गैरकानुनी रुपमा १४ महिनादेखि रोकिएकोले त्यसलाई यथाशिघ्र अभौतिकीकरण गरिदिन इप्पानले माग गरेको छ ।

इप्पानले बुधवार सिडिएससीलाई पत्राचार गर्दै सबै ऊर्जा कम्पनीको संस्थापक शेयर अभौतिकीकरण गरी नेप्सेमा सूचीकृत गरिदिन आग्रह गरेको हो ।

सिडिएससीले संस्थापक शेयर र साधारण शेयरका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय सेक्युरिटीज आइडेन्टिफिकेसन नम्बर (आइजीन) अनिवार्य हुनुपर्ने गैरकानुनी अडान लिएपछि ३ वटा सोलार ऊर्जा कम्पनीसहित २२ ऊर्जा कम्पनीहरुको २२ अर्ब १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको संस्थापक शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुन सकेको छैन ।

सिडिएससीको गैरकानुनी हठले झण्डै दुई दर्जन ऊर्जा उत्पादक कम्पनीका लगानीकर्ता मर्कामा परेका छन् । ती कम्पनीका लगानीकर्ताको सरकारप्रतिको विश्वास गुमेको ऊर्जा उद्यमीहरुले बताएका छन् । लगानीकर्ताहरुलाई थप परियोजनामा लगानी गर्नबाट पछि हट्नुपर्ने परिस्थिती सिर्जना गरेको पनि उनीहरुको गुनासो छ ।

ऊर्जा उत्पादक कम्पनीहरुले मौजुदा कानुनअनुसार ३ वर्षसम्म संस्थापक शेयर बिक्री गर्न नपाउने गरी लकइन गरिएको हुन्छ । ३ वर्षपछि कम्पनीले बैंकको ऋण चुक्ता गरेको अवस्थामा मात्रै संस्थापक शेयर बिक्री गर्न पाउँछन् । त्यति हुँदा पनि सिडिएससीले गैरकानुनी रुपमा दोहोरो आइजीनको कुरा निकालेर शेयर सूचीकृत नगर्नु लगानीकर्तामाथिको अन्याय भएको उद्यमीहरुको भनाई छ ।

दोहोरो आइजीन कायम गरेर मात्रै संस्थापक शेयर सूचीकृत गर्ने सिडिएससीको अडानपछि गैर आवासिय नेपाली संघ(एनआरएनए)ले यस्तो व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरेको थियो । जबर्जस्ती यस्तो व्यवस्था कार्यान्वयन गरेमा गैरआवासिय नेपालीबाट नेपालमा थप लगानी नआउने पनि संघले चेतावनी दिएको थियो । दोहोरो आइजीनले लगानीकर्ताको सम्पत्ति बन्धक हुने भन्दै यसले भोलिका दिनमा नेपालको लगानी वातावरण नै बिगार्न सक्नेतर्फ एनआरएनएले सिडिएससीको ध्यानाकर्षण गराएको थियो ।

इप्पानका अनुसार आर्थिक वर्ष (आव) २०८१/८२ मा ८ वटा ऊर्जा कम्पनीको ३ अर्ब ५२ करोड २६ लाख ५५ हजार २०० रुपैयाँ बराबरको ३ करोड ५२ लाख २६ हजार ५५२ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ । त्यसैगरी, आव २०८२/८३ मा १४ कम्पनीको १८ अर्ब ६० करोड १४ लाख ७२ हजार ६०० रुपैयाँ बराबरको १८ करोड ६० लाख १४ हजार ७२६ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेको छ । २२ कम्पनीको कुल २२ अर्ब १२ करोड ४१ लाख २७ हजार ८०० रुपैयाँ बराबरको २२ करोड १२ लाख ७१ हजार २७८ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।