शेयर बजारको गिरावटका कारण अत्तालिएका लगानीकर्ताको मनोबल उकास्न नियामकलाई 'एक्सन' मा उत्रिन अर्थमन्त्री वाग्लेको निर्देशन

Apr 02, 2026 06:10 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजारमा देखिएको गिरावटका कारण अत्तालिएका लगानीकर्ताको मनोबल उकास्न नियामक निकायहरूलाई 'एक्सन' मा उत्रिन निर्देशन दिएका छन्।

मंगलबार लगानीकर्ताका प्रतिनिधिहरूसँग गरेको बाचाअनुसार नै बुधबार बिहान अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल आयोजना गरेका हुन्।  छलफलमा अर्थमन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी 'वाचापत्र' नै पूँजी बजार सुधारको मुख्य दस्ताबेज भएको उल्लेख गर्दै सोही अनुसार योजना बनाएर अघि बढ्न धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएका छन्।

अर्थमन्त्री वाग्लेले पूँजी बजारमा के गर्ने भन्ने विषयमा कुनै अन्योलमा नपर्न नियामक निकायका प्रमुखहरूलाई आग्रह गरे। "हाम्रो घोषणापत्रमा पूँजी बजारका लागि के गर्ने भन्ने स्पष्ट मार्गचित्र छ। त्यसमा सबै कुरा लेखिएको छ," उनले भने, "त्यसलाई हेरेर नअलमलिई सोही अनुसारका योजनाहरू बनाउनुस् र कार्यान्वयनमा लैजानुस्।" उनले बजारलाई विश्व स्तरको सुविधा सम्पन्न बनाउने सरकारको लक्ष्य रहेको र सोही अनुरूप काम गर्नुपर्नेमा जोड दिए।

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले नासा सेक्युरिटिजले मंगलबारबाटै मार्जिन कारोबार सेवा सुरु गरेकोमा खुसी व्यक्त गरे। उनले अब सबै ब्रोकरमार्फत यस्तो सेवा सुरु गराउनका लागि उनीहरूलाई प्रोत्साहित र प्रेरित गर्न नेप्से र बोर्डलाई आग्रह गरे। सोही अवसरमा धितोपत्र बोर्डका अध्यक्ष सन्ताेषनारायण श्रेष्ठले लगानीकर्ताका लागि 'अफलाइन अर्डर' राख्न पाउने व्यवस्था तत्काल सुरु गर्न लागिएको जानकारी दिए। साथै, लगानीकर्ताहरूको लामो समयदेखिको माग रहेको 'इन्ट्रा-डे' कारोबार सुरु गर्नका लागि बोर्डले अध्ययन गरिरहेको समेत उनले बताए। 

छलफलमा अर्थ मन्त्रालयका उच्च अधिकारीहरू, धितोपत्र बोर्डका अध्यक्ष, नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चूडामणि चापागाईँ लगायतको उपस्थिति थियो। अर्थमन्त्रीले ५ वर्षे कार्यकालको योजना सुनाउँदै गर्दा अहिलेको संकट टार्न उनले दिएका निर्देशनहरू कति चाँडो कार्यान्वयनमा आउँछन् भन्नेमा लगानीकर्ताको नजर छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।