कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँबराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ८२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १६ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याई बाँकी रहेको ६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले चैत २२ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। सो आईपीओमा चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि २०८३ बैशाख ६ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता कुमारी क्यापिटल लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ६८ हजार ४७५ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नरहने भएकोले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।
मध्यम जोखिम जनाउने रेटिङ्ग
साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८२ असार ३ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ असार २२ गतेसम्म रहने छ।
कस्तो कम्पनी हो?
नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी सम्भाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने हेतुले कालिन्चोक हाइड्रोपावर प्राइभेट लिमिटेड २०७२ चैत २६ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७९ असार १ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडको रुपमा परिणत भई कालिन्चोक हाइड्रोपावर लिमिटेडको रुपमा २०७९ असार २१ देखि कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौँ नगरपालिका वडा नं. ३, रानीबारीमा रहेको छ भने कम्पनीको आयोजना स्थल (जलविद्युत केन्द्र) दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ मा अवस्थित रहेको छ।
यस कम्पनीले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरीद बिक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग २०७५ मंसिर ९ मा सम्झौता भएको थियो। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २९ वर्ष ५ महिना बाँकी रहेको छ।
सो आयोजनाको कुल लागत १ अर्ब २० करोड ७१ लाख ५८ हजार ४९९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३७ वर्ष रहेको छ। उक्त आयोजना हाल निर्माणाधीन अवस्थामा छ।

आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीले आफ्नो जारी पूँजी ५५ करोड रुपैयाँ पुर्याउन कम्पनीले आईपीओ जारी गरेको हो। त्यस्तै, निष्काशनबाट आएको रकम आयोजनाको उर्जा वृद्धि तथा निर्माणमा प्रयोग गर्न र कम्पनीको वित्तीय एवम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न कम्पनीले आईपीओ निष्काशन गरेको हो।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
कम्पनीले यस निष्काशनबाट प्राप्त हुने कुल १३ करोड ७५ लाख रुपैयाँमध्ये ५० लाख रुपैयाँ इलेक्ट्रोमेकानिकल सामाग्री खरिद गर्न, ३ करोड रुपैयाँ हाइड्रोमेकानिकल सामाग्री खरिद गर्न र ६० लाख रुपैयाँ कार्यालय सवारी खरिद गर्न प्रयोग गर्नेछ। त्यस्तै, १५ लाख रुपैयाँ नयाँ साइट कार्यालय क्यापका लागि र ९ करोड ५० लाख रुपैयाँ सिभिल कन्सट्रक्सनमा खर्च गर्नेछ।
वित्तीय अवस्था
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको २ करोड ७४ लाख ४१ हजार रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४६ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ६५ पैसा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित मुनाफा २ करोड १४ लाख ६ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७ पैसा रहेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले सञ्चित मुनाफा २ करोड ४३ लाख २३ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५३ पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ४२ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम (२७) (८) मा भएको व्यवस्था अनुसार कम्पनीमा १ जना स्वतन्त्र सञ्चालक सहित ७ जना सञ्चालक रहेको सञ्चालक समिति हुने व्यवस्था रहेको छ। जसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना रहनेछन् भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र १ जना स्वतन्त्र सञ्चालक रहनेछन्।
हाल कम्पनीमा ५ जना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा इन्दिरा पन्त रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा रामचन्द्र उप्रेती, भवानी पोखरेल र टंकलाल श्रेष्ठ रहेका छन् भने स्वतन्त्र सञ्चालकमा हरी प्रसाद तिवारी रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीको मूख्य भावी योजना हिउँदमा कम पानीको बहावबाट उत्पादन क्षमतामा हुन सक्ने कमीलाई ध्यानमा राखी राम्पा खोलाको पानी आयोजनाको हेडवर्कमा खसाली उत्पादन क्षमतालाई शतप्रतिशत उत्पादन गर्ने रहेको छ। त्यस्तै, अन्य उद्देश्यहरु नेपालको जलविद्युत विकासमा एक सफल कम्पनीका रुपमा स्थापित हुने, नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेका जलस्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र उत्पादित विद्युतलाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने र व्यवसायिक रुपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने रहेको छ।