नेप्सेको नयाँ नियमः लगानीकर्ताका लागि अवसर कि जोखिम?

Apr 18, 2026 05:47 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बजारलाई थप चलायमान, तरल र प्रभावकारी बनाउने उद्देश्यले केही महत्वपूर्ण नियमहरूमा परिवर्तन गर्ने भएको छ।

नयाँ व्यवस्था अनुसार, शेयर बजारको दैनिक मूल्य सीमा (प्राइस लिमिट) १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। त्यस्तै, अब प्रि–ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ भने यसअघि प्रचलनमा रहेको ४, ५ र ६ प्रतिशतको तीन तहको सर्किट ब्रेकर प्रणालीलाई हटाएर अब ५ र ८ प्रतिशतको दुई तहको प्रणाली लागू गरिदैछ।

कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेटका लागि स्थगित गरिनेछ। यदि ५ प्रतिशतको ब्रेकपछि पुनः खुलेको बजारमा सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको बाँकी समयका लागि सम्पूर्ण कारोबार पूर्ण रूपमा बन्द गरिनेछ।

प्राविधिक रूपमा हेर्दा यी परिवर्तनहरूले बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने र मूल्य निर्धारण प्रक्रियालाई छिटो छरितो बनाउने देखिए पनि, नेपाली बजारको वर्तमान धरातललाई नियाल्दा यसले अवसरसँगै गम्भीर जोखिम पनि निम्त्याउने देखिन्छ।

नेपाली शेयर बजारमा हाल विद्यमान मुख्य समस्याहरूलाई यसरी विश्लेषण गर्न सकिन्छ:

१. फितलो नियमन र संस्थागत बेथिति

नेपालमा नीति र नियम कागजमा राम्रा देखिए पनि तिनको कार्यान्वयन पक्ष निकै फितलो छ। बजारमा 'इनसाइडर ट्रेडिङ' (भित्री सूचनाका आधारमा कारोबार) र 'कर्नररिङ' (केही व्यक्तिले शेयर कब्जा गर्ने) गर्नेहरूलाई कारबाही गर्ने संयन्त्र अत्यन्तै सुस्त छ। यस्तो अवस्थामा १५ प्रतिशतको मूल्य सीमाले ठूला खेलाडीहरूलाई एकै दिनमा बजार १५ प्रतिशत माथि पुर्‍याएर सोझा लगानीकर्तालाई फसाउन (Trap) झनै सजिलो बनाइदिनेछ। नियम हुनु मात्र पर्याप्त होइन, त्यसलाई कडाइका साथ लागू गर्ने सामर्थ्य नियामक निकायसँग देखिँदैन।

२. प्रविधिमा विश्वासको संकट

लगानीकर्ताले प्रयोग गर्ने TMS (Trading Management System) मा बारम्बार देखिने प्राविधिक समस्या अर्को ठूलो टाउको दुखाइ हो। बजार तीव्र गतिमा चल्दा सिस्टम 'ह्याङ' हुने, अर्डर रिजेक्ट हुने वा डाटा गलत देखिने समस्याले लगानीकर्ताको ठूलो पूँजी जोखिममा पर्ने गरेको छ। अटोमेशन र स्मार्ट प्रणालीको अभावमा अझै पनि लगानीकर्ताले EDIS जस्ता झन्झटिलो प्रक्रिया र जरिवानाको मार खेपिरहनु परेको छ।

३. एकतर्फी बजार र सन्तुलनको अभाव

नेपालको बजार अझै पनि 'एकतर्फी' छ। विकसित बजारमा मूल्य अत्याधिक बढ्दा वा घट्दा सन्तुलन मिलाउन 'सर्ट सेलिङ' को व्यवस्था हुन्छ, जुन नेपालमा छैन। यसले गर्दा कमजोर कम्पनीको मूल्य पनि कृत्रिम रूपमा आकाशिन सक्छ र त्यसलाई नियन्त्रण गर्ने कुनै संयन्त्र हुँदैन। साथै, Same Day Settlement को अभावले गर्दा लगानीकर्ताको पूँजी परिचालनमा ढिलाइ हुने र तरलतामा समस्या आउने गरेको छ।

४. हल्लाको भरमा चल्ने 'अपरिपक्व' लगानी संस्कृति

हाम्रो बजारमा अझै पनि कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्ने संस्कार बसेको छैन। धेरैजसो लगानीकर्ताहरू फेसबुक ग्रुप, टेलिग्रामका टिप्स र युट्युबका अफवाहको भरमा लगानी गर्छन्। यस्तो 'सेन्टिमेन्ट' मा आधारित बजारमा १५ प्रतिशतको तीव्र उतारचढावले साना लगानीकर्तामा छिट्टै 'प्यानिक' सिर्जना गर्ने र उनीहरूको सम्पत्ति नाेक्सानी गर्ने जोखिम रहन्छ।

५. संस्थागत लगानीकर्ताको न्यून उपस्थिति

बजारलाई स्थिरता दिने म्युचुअल फण्ड, पेन्सन फण्ड र बीमा कम्पनीहरू जस्ता संस्थागत लगानीकर्ताको भूमिका नेप्सेमा निकै कमजोर छ। बजार पूर्ण रूपमा सर्वसाधारण (Retail) लगानीकर्ताको भावनामा मात्र चल्ने भएकाले यो 'इन्भेस्टमेन्ट मार्केट' भन्दा पनि 'स्पेकुलेशन मार्केट' (अनुमान र सट्टेबाजीको बजार) जस्तो बनेको छ।

अन्तत, नियम परिवर्तन आफैमा नराम्रो कुरा होइन, तर यो पर्याप्त पनि छैन। केवल मूल्य परिवर्तनको गति बढाएर मात्र बजार बलियो हुँदैन। एक सशक्त र सुरक्षित पूँजी बजारका लागि प्रविधिमा सुधार, पारदर्शी नियमन, छिटो सेटलमेन्ट प्रणाली र लगानीकर्तामा वित्तीय साक्षरता हुनु अनिवार्य छ। यदि बजारको आधारभूत संरचना कमजोर रहिरह्यो भने, बढाइएको यो गतिले सुधारभन्दा पनि चलखेल गर्नेहरूलाई मात्र बढी फाइदा पुर्‍याउन सक्छ। त्यसैले, संरचना कमजोर भएको अवस्थामा गतिको दौड लगाउनु दुर्घटना निम्त्याउनु सरह हुन सक्छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।