सन् १९८८ फेब्रुअरी २२ (वि.सं. २०४४ फागुन १०) मा स्थापना भएको यस कम्पनीले झण्डै चार दशकदेखि नेपालीहरूको आर्थिक सुरक्षा र जोखिम व्यवस्थापनमा अविच्छिन्न सेवा पुर्याउँदै आएको छ। सुरुवातमा यसको नाम ‘नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड’ थियो, जसले जीवन र निर्जीवन दुवै बीमा व्यवसाय सञ्चालन गथ्र्यो। तर, बीमा ऐन २०४९ लागू भएपछि जीवन र निर्जीवन बीमा व्यवसाय छुट्टाछुट्टै हुनुपर्ने कानुनी व्यवस्थाका कारण यसलाई विशिष्टीकृत गरियो। फलस्वरुप, २०६२ माघ १९ गते निर्जीवन बीमा व्यवसायका लागि ‘एनएलजी इन्स्योरेन्स’ छुट्टै कम्पनीको रूपमा स्थापना भयो। रोचक पक्ष के छ भने, एनएलजी इन्स्योरेन्समा अहिले पनि नेशनल लाइफकै बहुमत शेयर स्वामित्व रहेको छ, जसले यसको वित्तीय पकड र व्यावसायिक विस्तारलाई पुष्टि गर्छ।
शेयर संरचना र पूँजीगत आधार
कम्पनीले पछिल्ला वर्षहरूमा आफ्नो पूँजीगत आधारलाई निकै सुदृढ बनाएको छ। हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ। यसको शेयर संरचनाले सरकारी र निजी क्षेत्रको सुन्दर मिश्रणलाई झल्काउँछः
नेपाली संस्थापकः ४५.४३ प्रतिशत
राष्ट्रिय वाणिज्य बैंक (सरकारी स्वामित्व) : ८.४६ प्रतिशत
विदेशी साझेदारः १.११ प्रतिशत
सर्वसाधारण शेयरधनीः ४५ प्रतिशत
कम्पनीको नेतृत्वमा सिंह परिवारको लामो अनुभव र ठूलो लगानी रहेको छ। हाल श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीको अध्यक्षको रूपमा सञ्चालक समितिको नेतृत्व गरिरहनुभएको छ भने पवनबहादुर पाण्डे अर्का प्रभावशाली संस्थापक सञ्चालक हुनुहुन्छ।
वित्तीय अवस्था र सबलता
नेशनल लाइफको वित्तीय अवस्थाले यसलाई नेपालका टप–टेन जीवन बीमा कम्पनीहरूको सूचीमा उभ्याएको छ। पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको स्थिति यस प्रकार छः
१. चुक्ता पूँजी: यसको चुक्ता पूँजी करिब ५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
२. कुल सम्पत्तिः १ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी।
३. जीवन बीमा कोषः करिब ८९ अर्ब रुपैयाँ, जुन उद्योगकै उच्च मध्येमा पर्छ।
४. खुद नाफाः पछिल्लो त्रैमासिक रिपोर्ट अनुसार करिब २८ करोड ६८ लाख रुपैयाँ।
५. प्रति शेयर नेटवर्थः करिब १२७.६४ रुपैयाँ।
शेयरधनीहरूका लागि कम्पनीले सधैं उदार लाभांश नीति अपनाउँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि पनि कम्पनीले ४ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेर आफ्नो मुनाफा वितरणको निरन्तरतालाई कायम राखेको छ।

पहुँच र बजार विस्तार
३६ वर्ष लामो अनुभव बोकेको यस कम्पनीको मुख्य कार्यालय काठमाडौंको लाजिम्पाटमा छ। कम्पनीले हिमालदेखि तराईसम्म र ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ। हाल देशभर ११५ भन्दा बढी शाखा तथा उप–शाखाहरू सञ्चालनमा छन्। १५ लाखभन्दा बढी बीमितहरूलाई सुरक्षा प्रदान गरिसकेको यस कम्पनीको मेरुदण्डका रूपमा हजारौँ तालिमप्राप्त बीमा अभिकर्ताहरू रहेका छन्। परम्परागत अभिकर्ता च्यानलसँगै कम्पनीले इसेवा, खल्ती जस्ता डिजिटल भुक्तानी र अनलाइन सेवामार्फत आधुनिक ग्राहकहरूलाई पनि समेटेको छ।
सञ्चालक समिति र कुशल व्यवस्थापन
कम्पनीको सफलताको पछाडि अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोलीको ठूलो हात छ। सञ्चालक समितिमा प्रेमा राज्य लक्ष्मी सिंहको अध्यक्षतामा इ. कुलदीप शरण सिंह, सरस्वती अधिकारी (रावा बैंक), पवन बहादुर पाण्डे, कुशल मल्ली र पूर्व अध्यक्ष भवानी राणा रहेका छन्।
व्यवस्थापनको नेतृत्व सुरेशप्रसाद खत्रीले गरिरहेका छन । सन् २०२१ मा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका खत्रीले २०२५ मा दोस्रो कार्यकालको जिम्मेवारी पाएका छन। तल्लो तहबाट पदोन्नति हुँदै सीईओसम्म पुगेका खत्रीसँग बीमा क्षेत्रको गहिरो प्राविधिक र व्यावहारिक अनुभव छ। उनलाई स्मृतिराज कँडेल (डीसीइओ), प्रज्वल सायमी (डीजीएम), सुस्मिता राणा (प्रमुख प्रबन्धक) र हिमाल कोइराला (अनुपालन अधिकृत)को टोलीले सहयोग गरिरहेको छ।

लगानी नीति
बीमितको रकमलाई सुरक्षित र लाभदायक बनाउन नेशनल लाइफले आफ्नो लगानी पोर्टफोलियोलाई व्यापक विविधीकरण गरेको छ। कम्पनीले केवल बैंक निक्षेपमा मात्र सीमित नभई निम्न क्षेत्रमा लगानी गरेको छः
इक्विटी र ऋणपत्रः शेयर बजार र संस्थागत डिबेन्चरमा लगानी।
अग्राधिकार शेयरः निश्चित प्रतिफल प्राप्त हुने क्षेत्र।
नयाँ क्षेत्रः प्राइभेट इक्विटी र भेन्चर क्यापिटल, जसले नयाँ र उदाउँदा व्यवसायलाई प्रोत्साहन गर्छ।
यो लगानी नीतिले जोखिम न्यूनीकरण गर्नुका साथै बीमितलाई भविष्यमा दिने बोनस दरलाई पनि सुरक्षित बनाउँछ।
दाबी भुक्तानीः विश्वासको आधार
बीमा व्यवसायमा दाबी भुक्तानी सबैभन्दा संवेदनशील पक्ष हो। नेशनल लाइफले यसलाई आफ्नो ‘विश्वसनीयताको कसी’ मानेको छ। मृत्यु वा परिपक्वताको दाबी प्राप्त हुनासाथ कम्पनीले नियामक निर्देशिका र बीमालेखका सर्तहरू बमोजिम कागजात प्रमाणीकरण गरी तत्काल भुक्तानी प्रक्रिया अगाडि बढाउँछ। कम्पनीले उच्च ‘दाबी भुक्तानी अनुपात’ कायम राख्दै ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेको छ। साथै, जालसाजी रोक्न सूक्ष्म छानबिन गरी वास्तविक बीमितको हित संरक्षण गर्ने गरिएको छ।
विविध बीमा योजनाहरू
ग्राहकको उमेर, आवश्यकता र आर्थिक क्षमता अनुसार नेशनल लाइफले विभिन्न प्रकारका ‘टेलर मेड’ (अनुकूलित) योजनाहरू ल्याएको छः
१. बचत र लगानीः सावधिक योजना, सञ्जीवनी अमृत र सावधिक अमृत।
२. बालबालिका र परिवारः बाल अमृत र दम्पती अमृत।
३. मनी–ब्याक योजनाः अमृतश्री एण्टी–इन्डाउमेन्ट, अमृत वर्षा र एन्टिसिपेटेड इन्डाउमेन्ट।
४. आजीवन सुरक्षाः जीवन अमृत र जीवनश्री सावधिक अमृत।
५. सस्तो र भरपर्दो (टर्म)ः म्यादी अमृत, सरल अमृत र लघु अमृत म्यादी बीमा।
६. विशेष योजनाः वैदेशिक रोजगारी बीमा, जसले विदेशमा रहेका नेपाली कामदारलाई सुरक्षा दिन्छ।
भविष्यको योजना र डिजिटल रूपान्तरण
कम्पनीले अबको यात्रालाई ‘डिजिटल फस्ट’ बनाउने रणनीति लिएको छ। अनलाइन प्लेटफर्म र स्वचालनमार्फत सेवालाई छिटो र छरितो बनाउने काम भइरहेको छ। कर्मचारीहरूको क्षमता अभिवृद्धि र उत्तराधिकार योजना (सक्सेसन प्लान) मार्फत संस्थालाई नयाँ पुस्ताको नेतृत्वका लागि तयार पारिँदैछ। तथ्याङ्कमा आधारित विश्लेषणको प्रयोग गरेर कम्पनीले बजारमा थप आक्रामक उपस्थिति जनाउने र ग्राहकको विश्वासलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ।
निष्कर्ष
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३६ वर्षको इतिहासमा नेपालको बीमा क्षेत्रको जग बसाल्ने काम गरेको छ। बलियो वित्तीय आधार, अनुभवी नेतृत्व, आधुनिक प्रविधि र ग्राहक–मैत्री सेवाका कारण यो कम्पनी भविष्यमा पनि नेपाली बीमा बजारको मुख्य खेलाडीका रूपमा रहिरहने देखिन्छ। यसले केवल बीमा मात्र गर्दैन, लाखौँ परिवारको सपना र भविष्यलाई सुरक्षित गर्ने जिम्मा पनि बोकेको छ।