सभाको मुख्य एजेण्डाको रूपमा रहेको हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरूका लागि १:१ को अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । सभाबाट पारित भएसँगै अब कम्पनीले हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिने प्रक्रिया अगाडि बढाउनेछ ।
युनियन हाइड्रोपावरले अब आफ्नो कार्यक्षेत्र विस्तार गर्दै आफूलाई 'होल्डिङ कम्पनी' मा परिणत गर्ने निर्णय गरेको छ। सभाले कम्पनीको नाम परिवर्तन गरी "युनियन हाइड्रोपावर होल्डिङ लिमिटेड" राख्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ। यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरिनेछ ।
कम्पनीले हकप्रद शेयरबाट संकलित रकम नयाँ आयोजनामा लगानी गर्ने योजना बनाएको छ। सभाले २३ मेगावाट क्षमताको 'आयू मयू खोला' जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पारित गरेको छ। हाल यो आयोजनाको निर्माण कार्य २५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। यो आयोजनाको प्रति मेगावाट लागत करिब १७ देखि साढे १७ करोड रुपैयाँ रहने जानकारी सभामा दिइएको छ।
सभामा दिइएको जानकारी अनुसार युनियन हाइड्रोपावर हाल पूर्ण रूपमा ऋणमुक्त (Zero Loan) कम्पनी बनेको छ। यसका साथै, कम्पनीले अब दोस्रो बजार (शेयर बजार) मा पनि लगानी गर्न पाउने गरी स्वीकृति प्राप्त गरेको छ। यसले कम्पनीको आम्दानीको स्रोतलाई विविधीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
विशेष साधारण सभामा उपस्थित सेयरधनीहरूले कम्पनीको वृद्धिका लागि ल्याइएका यी योजनाहरूलाई उत्साहजनक रूपमा लिँदै समर्थन जनाएका थिए ।