वैदेशिक रोजगारी पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

Apr 21, 2026 01:33 PM Merolagani



वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने रौतहट बौधीमाई नगरपालिका-७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका-३२ बस्ने भोजपुर, भोजपुर नगरपालिका-७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी, भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने सप्तरी सुरूङ्गा नगरपालिका-५ घर भएका ५३ वर्षीय राम तुला मिया र ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भएकी ५५ वर्षीया सुनिता खत्री रहेका छन् ।

पक्राउ मध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, केदार बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २५ हजार रूपैयाँ तथा राम तुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले केदार बहादुरलाई काठमाडौं महानगरपालिका-१३ बाट सोमबार, मिथिलेशलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार तथा राम तुला र सुनितालाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बाट शनिबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।